• २६ पुस २०८१, शुक्रबार

संरक्षण पर्खंदै लुमरेङकोट

blog

पर्वत, भदौ २६ गते । दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो । 

नेपाल एकीकरणपूर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिने लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालका रूपमा प्रयोग हुने सामग्री छन् । ती ऐतिहासिक तथा पुरातात्त्विक सामग्री संरक्षण अभावमा हराउने खतरा बढेको छ । भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबिसेकालमा शक्तिशाली मानिन्थ्यो । यहाँ अहिले मन्दिर र सत्तल रहेको छ । सत्तलको एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल छन् । यी सामग्री रङरोगन गरिएकाले तिनको ऐतिहासिकता भने हराएको छ ।

कुनै कुनै हतियारमा सन् १७३४ एडी लेखेको समेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताउनुभयो । पुरातात्त्विक महत्त्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीयस्तरबाट संरक्षणको प्रयास थालिएको उहाँको भनाइ छ । तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी थिए । उनका छोरा चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन नसकेको इतिहास छ । पैँयुकोटे राजाले जासुसी गरेर चन्द्र सिंहका छोरा विहादीको फाँटमा रोपाइँ गर्न गएको मौकामा लुमरेङकोटमा आक्रमण गरेका थिए । 

आक्रमणमा परेर चन्द्रसिंहको कोटमै मृत्यु भएको थियो भने एक छोराको बिच भागमा र अर्का एक जनाको रोपाइँ गर्ने स्थानमा मृत्यु भएको इतिहास भएको थापाले जानकारी दिनुभयो । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाईं जातिको घरमा अझै भेटिन्छन् । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैयुँकोटमा सरेको थियो । 

पर्वतको बिहादी, पैयुँ गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढा टाढाका दृश्य हेर्न सकिन्छ । यहाँ वनभोज खान विभिन्न ठाउँबाट मानिस आउने गर्छन् । गत वर्ष यहाँबाट प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताउनुभयो । वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउन गाउँपालिकाले प्रयास गरिरहेको उहाँले बताउनुभयो । यहाँ रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सामग्री संरक्षण गर्न पालिकाले काम गरिरहेको जनाएको छ । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।