• २६ पुस २०८१, शुक्रबार

जातीय भेदभाव र छुवाछुत मुक्त ‘बलुवा’ गाउँ

blog

यादवराज पुरी
रौतहट, भदौ २५ गते । 
केही वर्ष अघिसम्म दलित र गैरदलित भनी फरक व्यवहार देखिएको रौतहटको एक गाउँ हाल जातीय भेदभाव तथा छुवाछुत मुक्त छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–१० मा रहेको बलुवा गाउँका नागरिकमा पछिल्लो समयमा देखिएको चेतनाको विकासको कारण सिङ्गो गाउँ नै भेदभावरहित बनेको हो ।

केही वर्ष अघिसम्म जातीय भेदभाव र छुवाछुतको व्यवहार जताततै देखिएको उक्त गाउँमा पछिल्ला वर्ष त्यसको अंश पनि कतै पनि देखिएको छैन । मुख्यरुपमा थारु समुदायको बसोबास रहेको उक्त गाउँमा दलित समुदायका चमार र अन्य जातिको पनि बसोबास छ । हाल उनीहरू बिचको जातीय सद्भाव जिल्लामै नमुना र उदाहरणीय रहेको गाउँका ज्येष्ठ नागरिक अनुरोध चौधरीले बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानमा दलितमाथि अनेकौँ छुवाछुतका घटना भएको देख्न तथा सुन्नमा आए पनि उक्त गाउँका दलित तथा गैरदलितबिचको सामाजिक सद्भाव, समानता र सम्मानजनक व्यवहारले गाउँ नै सभ्य बनेको छ । सामाजिक संस्कार रीतिरिवाज एवम् परम्पराजस्ता विभिन्न क्रियाकलापमा एकले अर्कालाई निम्तो नै गर्ने गरेको पाइएको छ ।

छुवाछुत उन्मुलन गर्न कानुनले दण्डनीय व्यवस्था गरेको भए पनि बेलाबेलामा छुवाछुत घटनाको समाचारले गाउँलाई नै दुःखी बनाउने गरेको दलित अगुवा नन्दलाल राम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अन्यत्र जे भए पनि बलुवा गाउँमा दलित वा उपल्लो जातिमा विवाह, व्रतबन्ध, पूजाआजालगायतका माङ्गलिक कार्य हुँदा निम्तो नै आदानप्रदान हुने गरेको छ ।”

गाउँमा गैर दलित थारु समुदायका मानिसको घरमा रहेको पानीको धारा प्रयोग गर्न दलितलाई कुनै रोकतोक छैन । निर्धक्क भई घर भित्र बाहिर गर्न पाएका छन् । उक्त गाउँमा दलित समुदायको ७५ घरधुरी रहेको छ । गाउँमा दलित र गैर दलित गरी २५० घरधुरी छ ।

थारु समुदायका सम्पन्न वर्गले समेत दलितलाई समान व्यवहार गर्ने गरेको पाउँदा दलित हर्षित छन् । यहाँका दलित र गैरदलित महिलाले सामूहिक बचत, ऋण, तरकारी खेती, गर्नुका साथै सामाजिकता काममा सहभागी हुन्छन् ।

दलित र गैरदलित समुदायका नागरिकका सामाजिक सद्भाव देख्दा बलुवा गाउँ पुग्ने जो कोही पनि अचम्मित हुन्छन् । मुलुकका सबै उपल्लो जातिका मानिसले यहाँको जस्तै सबै जाति, वर्ग र समुदाय समान हुन् भनी व्यवहार गरेमा समाज विकासमा दलितले पनि ठुलो योगदान पुर्‍याउने गाउँकी दलित महिला अगुवा सावित्रीदेवीले बताउनुभयो । पछिल्लो दशक यता वडामा बालक्लव र किशोरी शिक्षाको प्रभावले गाउँ छुवाछुतरहित र सद्भावको भावनाले सजिएको वडा अध्यक्ष टङ्केश्वर चौधरी बताउनुहुन्छ ।