• १६ असार २०८१, आइतबार

एनपीजीए गल्फ टुरमा भुवन र सुवासको अग्रता

blog

एनपीजीए टुर च्याम्पियनसिप गल्फको दोस्रो दिन सट प्रहार गर्दै भुवन नगरकोटी । तस्बिर सौजन्य : एनपीजीए

काठमाडौँ, वैशाख २७ गते । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको दोस्रो दिन प्रो भुवन नगरकोटी र एमेच्योर गल्फर सुवास तामाङले संयुक्त अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा जारी प्रतियोगितामा मङ्गलबार घरेलु प्रो भुवनले आठ अन्डर ६४ खेल्नुभयो ।

पहिलो दिन चार अन्डर ६८ खेल्नुभएका भुवनको कुल १२ अन्डर एक सय ३२ स्कोर छ । समान स्कोर बनाउनुभएका सुवासले बुधबार चार अन्डर ६८ खेल्नुभयो । उहाँ पहिलो दिन आठ अन्डर ६४ खेलेर एक्लै शीर्षस्थानमा हुनुहुन्थ्यो । 

यसैगरी दोस्रो दिन पाँच अन्डर ६७ खेल्नुभएका रमेश अधिकारी दोस्रो स्थानमा हुनुहुन्छ । ३६ होलको समाप्तिसँगै उहाँको कुल सात अन्डर एक सय ३७ स्कोर छ । रमेशसँगै एमेच्योर सद्भाव आचार्यको पनि कूल सात अन्डर एक सय ३७ स्कोर छ । तेस्रो स्थानमा रहन सफल रवि खड्का र शुक्रबहादुर राईको ६ अन्डर एक सय ३८ स्कोर छ । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगितमा ३६ होलको समाप्तिसँगै कूल नौ ओभर एक सय ५३ खेल्ने ६ एमेच्योरसहित २७ खेलाडी थप ३६ होलको फाइनल चरणमा प्रवेश गरेका छन् । 

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको चार दिने प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणमा पुग्ने सबै प्रो नगद पुरस्कारको हकदार बन्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने एसोसिएसनले जनाएको छ ।