• ११ पुस २०८१, बिहिबार

बिपी विचारको आयाम

blog

राजनीतिक कालखण्डमा अनेक उतारचढाव भोग्दै आएको मुलुकको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसले स्थापनाको ७७ औँ वर्ष पूरा गरिसकेको छ । हुकुमी जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापनाको मूल उद्देश्यसाथ स्थापित कांग्रेसको ऐतिहासिक पृष्ठभूमि नियाल्दा ‘फुटेर होइन, जुटेर मात्र उद्देश्य अनुरूपको लक्ष्य हासिल गर्न सकिन्छ’ भन्ने पुष्टि भएको छ । २००३ साल कात्तिक १५ गते मित्रराष्ट्र भारतको ऐतिहासिक सहर बनारसमा गरिएको एक भेलाले ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना गरेको थियो । यही जगमा उभिएर ‘नेपाली राष्ट्रिय कांग्रेस’ हुँदै ‘नेपाली कांग्रेस’ स्थापना भएको इतिहास साक्षी छ । २००३ साल माघ १२ गते कलकत्तामा भएको प्रजातन्त्रवादीहरूको एक भेलाले ‘नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना गरेको थियो । राणा शासनविरुद्ध जेहाद छेड्दै आएको यो पार्टी र २००५ साल साउन १ गते स्थापना भएको ‘नेपाल प्रजातन्त्र कांग्रेस’ बिच २००६ साल कात्तिक २७ गते एकीकरण भई ‘नेपाली कांग्रेस’ स्थापना भएको विदित हुन्छ । २००७ सालमा राणा शासन अन्त्य गर्न सफल यो पार्टीको जग भनेको बिपी विचार नै हो ।  

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) को अथक योगदानको जगमा  प्रजातान्त्रिक मूल्यमान्यतामा अडिग रहेर जनचाहना अनुरूप अघि बढेको पार्टीले प्रजातन्त्र स्थापना, पुनस्र्थापना, राजतन्त्र अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनासम्मका अनेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएको छ ।  विसं १९७१ भदौ २४ गते मित्रराष्ट्र भारतको बनारसमा जन्मिएका बिपीको १११ औँ जन्मजयन्ती मनाउने क्रममा सोमबार आयोजित विभिन्न कार्यक्रममा उहाँद्वारा प्रतिपादित सिद्धान्त, विचार, आदर्शपूर्ण जीवन, साङ्गठनिक कुशलता एवं साहित्यिक योगदानलगायतमा पार्टीका नेता, राजनीतिक विश्लेषक एवं समालोचकहरूले विहङ्गम दृष्टिकोण प्रस्तुत गरेका छन् । पिताजी कृष्णप्रसाद कोइराला तत्कालीन राणा शासनको विरोध गरेका कारण निवार्सित जीवन बिताउन बाध्य भएको अवस्थामा भारतीय भूमिमै हुर्किएर भारतको स्वतन्त्रता सङ्ग्राममा समेत सहभागी हुनुभएका कोइरालाको राजनीतिक चेतना युगप्रभावी देखिन्छ ।

बिपीको जीवन सङ्घर्षै सङ्घर्षमा बित्यो ।  जहानियाँ राणा शासनको विरुद्धमा सफलता मिल्यो । प्रजातन्त्र स्थापनापछि संस्थागत बनाउने प्रयासमै प्रजातन्त्रको हत्या भयो । त्यसपछि उहाँ पञ्चायती व्यवस्थाविरुद्ध लडिरहनुभयो । विसं २००७ मा गृहमन्त्री भएर आठ महिना र २०१५ सालमा सम्पन्न निर्वाचनमा कांग्रेसले संसद्मा दुई तिहाइ सिट प्राप्त गरेपछि १८ महिना मुलुकको प्रधानमन्त्रीका रूपमा रहनुभयो । एउटै नेता पाँच/छ पटकसम्म पनि मुलुकको प्रधानमन्त्री भइसकेको सन्दर्भबाट हेर्दा बिपीले सरकारको नेतृत्व गरेको समय नगण्य हो । विषम परिस्थितिमा पनि उहाँले प्रारम्भ गर्नुभएका विकास निर्माण, भूमिसुधार योजना, अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्बन्ध विस्तार, ऐन कानुनहरूको निर्माण, प्रजातान्त्रिक समाजवाद अनुसारको विकास मोडेलको जग बसाउने जस्ता  आयामिक कार्य गरेकै कारण उहाँको भौतिक अवसानको ४२ वर्षपछि पनि उहाँको सिद्धान्त, विचार र आदर्शको अनुसरण हुँदै आएको छ । बिपीले विकासका ठुला संरचनाभन्दा पनि मुलुकको आवश्यकता, साधन र स्रोतको  जनचाहना अनुरूपको प्रयोगलाई जोड दिनुभएको देखिन्छ ।

नेपालको राजनीतिक इतिहासमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियार गर्ने पनि बिपी नै हुनुहुन्छ । जननिर्वाचित सरकारलाई अपदस्थ गरेर प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का सदस्यहरूलाई आठ वर्षसम्म सुन्दरीजलको कठोर कारावासमा राखियो । यद्यपि यही कारावास जीवन नै उहाँको साहित्यिक जीवनको उर्वर पाटो बनेर नेपाली साहित्यका नक्षत्र बन्न उहाँ सफल हुनुभयो । राजनीति र साहित्य जस्ता भिन्न दुई बाटोमा हिँडेर दुवैमा उत्तिकै चर्चित उहाँको अर्को जोडा वैश्विक परिवेशमै पाउन कठिन छ । कारावासबाट छुटेपछि पनि उहाँलाई निर्वासनमा जान बाध्य पारियो । आठ वर्ष लामो निर्वासन जीवनपछि राष्ट्रिय एकता तथा मेलमिलापको सन्देशसहित विसं २०३३ मा स्वदेश फर्किंदा उहाँलाई पुनः जेलमा हालियो । 

बिपीविरुद्ध अनेकौँ मुद्दा चलाएर मृत्युदण्डको माग गरिरहेको अवस्थामा पनि ज्यानको बाजी थापेर स्वदेश फर्किनुलाई विश्व राजनीतिमै एक साहसिक कदम मानिएको छ । बिपीको यसै साहसिक कदमको पृष्ठभूमिमा २०३६ सालको राष्ट्रिय जनमतसङ्ग्रह र २०४६ सालको परिवर्तनलाई जोडेर हेर्नुपर्ने हुन्छ । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनका क्रममा लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थासम्म आइपुगेको छ । यसको विकल्पमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न सकिँदैन । संविधान सभाबाट जारी संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गरेर बिपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा एकजुट हुन वाञ्छनीय छ ।