• २० असोज २०८१, आइतबार

मानसिक तनावले राजीनामा बुझाएँ : पत्रकार महासङ्घ अध्यक्ष पोखरेल

blog

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल । फाइल तस्बिर

काठमाडौँ, भदौ २४ गते । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनु भएको हो । 

मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उहाँले बताउनुभएको छ । महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ । 

उहाँले राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको  झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ।  

उहाँले पत्रमा उल्लेख गर्नुभएको छ, “सिङ्गो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन ।” 

सरोकारवाला पक्षले समेत सदस्यसूची  आफूलाई देखाएर मात्र अघिबढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको उहाँले उल्लेख गर्नुभएको छ । 


यस्तो अवस्थाबाट आफूमा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ नभएको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ । यी सबै अवस्था आउनुमा आफ्नो  कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मावारी बहन गर्नुभएको छ । 

आगामी दिनमा महासंको हुने गतिविधिलाई आवश्यकता अनुसार साथ समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ।