• ६ पुस २०८१, शनिबार

बुटवल मेलामा ६ व्यूटिसियनलाई सम्मान

blog

सम्मानित बुटवलका ब्यूटिसियनहरु ।

छविलाल पाण्डे 

बुटवल, पुस ५ गते । बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटी फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाडौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटी फेयर’ गरिएको हो । 

व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताउनुभयो । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाइ राख्नुभयो । 

कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, कलावती उपाध्याय र बिना श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । 

सम्मान ग्रहण गर्दै जेनी श्रेष्ठले यो सम्मानले आफूहरुलाई ठूलो हौसला र आत्मसम्मान मिलेको बताउँदै संघप्रति आभार व्यक्त गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले महिला उद्यमशिलताको विकासका लागि व्यूटिफेयरको आयोजना गरिएको बताउनुभयो । 

उहाँले अहिले मेलाभित्रको मेलाको रुपमा आयोजना गरिए पनि आगामी वर्षमा यसलाई विशिष्टिकृत मेलाको रुपमा अगाडि बढाउनेगरी योजना बनाएको जानकारी गराउनुभयो । 

कार्यक्रममा मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारी, व्यूटिफेयरकी संयोजक रेनु श्रेष्ठ, सम्मानित जेनी श्रेष्ठ, नेपाल व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष अनिता केसी, तिलोत्तमाकी अध्यक्ष अञ्जना केसीलगायतले भनाइ राख्नुभएको थियो ।