सिराज खान
नेपालगन्ज, पुस ६ गते। ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जना सीमावासीको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरेको छ। शिविरमा १५२ महिला र १३६ जना पुरुषको उपचार गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय तथा मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल अस्पताल बाँकेको सहकार्यमा सीमाना नजिकको खडैचा पिप्रहवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
सो शिविरमा २८८ जनाको निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो।
सो शिविरमा मध्यपश्चिम क्षेत्रीय सशत्र प्रहरी बल अस्पताल बाँकेका चिकित्सक सशस्त्र प्रहरी निरीक्षक डा. विवेक पुन, हेल्थ असिस्टेन्ट सशस्त्र प्रहरी नायब निरीक्षक भरत थापा र डिल्लीबहादुर गिरी तथा डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, सिनियर अहेब प्रदिप शाह, अहेब मनोज कैराती र प्रदीप ओलीले बिरामीको चेकजाँच गर्नुभएको थियो।