• ६ पुस २०८१, शनिबार

ध्यान दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ५ गते । विश्व ध्यान दिवसको पूर्वसन्ध्यामा शुक्रबार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । डिसेम्बर २१ अर्थात पुस ६ गते पर्ने विश्व ध्यान दिवसको पूर्व सन्ध्यामा माइतीघरमा १००८ दीप प्रज्ज्वलन गरिएको हो । 

हाल माइतीघर मण्डलालाई आन्दोलन, अनसन, धर्नाजस्ता गतिविधिहरू गर्ने थलोको रुपमा लिइएको अवस्थालाई परिवर्तन गर्दै ध्यान र शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको छ । 

ध्यानले मानिसमा आन्तरिक शान्ति ल्याउने हुँदा विश्व ध्यान दिवसको स्वागत गर्दै गरिएको दीप प्रज्ज्वलनमा श्रद्धेय भानु गुरुदेव, जीवन विज्ञानकी अध्यक्ष एवम् गुरुमा देवी शर्माका साथै पदाधिकारी, प्रशिक्षक र ३०० बढी साधकसाधिकाको उपस्थिति थियो । 

संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै ध्यान दिवस मनाउन सुरु गरिएको छ । विश्व ध्यान दिवसकै अवसरमा शुक्रबार जीवन विज्ञान युवा शक्ति वृत्तले देशका विभिन्न कलेजहरूमा २ हजार ५०० बढी विद्यार्थीलाई ध्यान गराएको छ । 

जीवन विज्ञानका युवा प्रशिक्षकहरूले काठमाडौंका १५ र सुनसरीका ३ वटा कलेजका दुई हजार ५०० बढी विद्यार्थीलाई ध्यान गराएका हुन् । नेपाल सरकार र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको स्वजागरण ध्यान विधि प्रशिक्षकहरूले विद्यार्थीलाई सिकाएका थिए । 

पहिलो विश्व ध्यान दिवसका अवसरमा शनिबार नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गर्दैछ । सरकारका विभिन्न निकाय, आध्यात्मिक र सामाजिक संघ संस्थाहरूले समेत विश्व ध्यान दिवसका अवसरमा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।