काठमाडौं, पुस ५ गते । पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रमुख सुनिता डंगोलले कैफियत देखिए जिम्मेवारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।
महानगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको थियो । कारबाही प्रक्रियाका लागि सम्वन्धित निकाय भन्दै सिफारिस गरिएको विज्ञप्तिमा भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको आरोप लगाएको छ ।
सो विषयमा प्रतिक्रिया दिदैँ उपप्रमुख डंगोलले निष्पक्ष छानविन होस् भन्नुभएको छ । ‘निष्पक्ष छानविन भएपछि दोषिलाई कारबाही हुनुपर्छ, त्यसमा दुईमत भएन’ उहाँले भन्नुभयो, ‘यदि कसैले त्यहाँ षडयन्त्र रचेको रहेछ भने त्यसको पनि छानविन हुनुपर्छ । त्यसमा क–कस्को संलग्नता छ त्यसको पनि निष्पक्षरुपमा छानविन हुनुपर्छ ।’
उहाँले त्यसमा एक जना व्यक्तिको मात्र सहभागिता होकि अरुको पनि छ भन्ने पत्ता लगाएर उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘यो संगठित भ्रष्टाचार होकि भन्ने पनि आशंकाहरु देखिए भने त्यसउपर पनि छानविन गरी कारबाही हुनुपर्छ’ उपप्रमुख डंगोलले भन्नुभयो, प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिएमा तुरुन्तै उहाँलाई कामपाको जिम्मेवारीबाट मुक्त गरिनु पर्दछ । यसमा अरु क–कस्को संलग्नता छ त्यो पनि निष्पक्ष छानविन गर्नुपर्छ । यदि यो विषयमा संगठित भ्रष्टाचार भएको रहेछ भने त्यसउपर पनि कारबाही हुनुपर्छ ।’