• २६ पुस २०८१, शुक्रबार

व्यवसायीलाई खाद्य स्वच्छता सचेतना

blog

तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ २४ गते । रुपन्देहीका व्यवसायीका लागि बुटवलमा खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ । करिब १ सय जना व्यवसायीलाई समेटेर खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना तथा रुपन्देही मिष्टान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घको सहआयोजनामा भएको सचेतनामूलक कार्यक्रममा बोल्ने वक्ताहरूले उपभोक्तामैत्री व्यवसाय चलाउनुपर्ने बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले अनुगमनका क्रममा धेरै स्थानमा क्षमा गर्न नसकिने गरी व्यवसाय चलाइएको पाइएको बताउनुभयो ।

उहाँले व्यवसायी उपभोक्ताको हित विपरीत जान नहुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले व्यवसाय चलाउँदा नीति नियममा रहेर इमान्दारिता पूर्वक चलाउन आग्रह गर्नुभयो । उहाँले पहिले दर्ता गरेर व्यवसाय चलाउन र मापदण्ड पुरा गर्ने आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिका अनुगमन महाशाखा प्रमुख ठगिश्वर पोखरेलले नगरले कसैलाई दुख दिने नभई उपभोक्ताको हितमा काम गर्ने बताउनुभयो । 

सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्च बुटवल अध्यक्ष समुद्र जिसिले बुटवलका पछिल्ला अनुगमनले धेरै सुधार गरेको र उपभोक्ता पनि सचेत भएको बताउनुभयो ।

कार्यक्रममा खाद्य निरीक्षक प्रशिक्षक टिका निरौला, ज्योत्सना अधिकारी महासङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पोखरेल, रुपन्देही मिष्टान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घका अध्यक्ष कमल पोखरेल,वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा,सचिव केशव कडेंल ,होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका पर्यटन उपाध्यक्ष रोमकान्त पाण्डे, होटल व्यवसायी थमन भण्डारी लगायतले बोल्दै अनुगमनका नाममा व्यवसायी तर्साउने नहुने तर सचेत बनाएर सच्चिन मौका दिनुपर्ने बताउनुभयो ।