मुलुकका सत्तारूढ र ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई सहमति सरकार निर्माणको एउटा आधार बनाएका छन् । संविधान संशोधनको विषयलाई अगाडि बढाउने निर्णय एमालेले गरिसकेको छ । कांग्रेसले पनि महामन्त्री विश्वप्रकाश शर्माको बहिर्गमनको नीतिलाई संविधान संशोधनको विषय बनाउने निर्णय गरेर संविधान संशोधनको प्रक्रियामा जाने सङ्केत दिइसकेको छ । पार्टी बैठकलाई समापन गर्दै सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधन गर्नुपर्ने कारण र परिस्थितिको व्याख्या गर्नुभएको छ । संविधान संशोधनका बहस यो वा त्यो प्रकारबाट सुरु हुन थालेका छन् । संशोधनको आवश्यकताकै पक्ष र विपक्षमा पनि मत अभिव्यक्त हुन थालेका छन् ।
यहाँ चर्चा गर्न खोजिएको समग्र संविधान संशोधनका विषय नभएर कांग्रेसको महासमिति बैठकमा प्रवेश पाएको तर कांग्रेसको केन्द्रीय समिति बैठकमा खासै चर्चा नभएको नेपाललाई हिन्दु राज्य बनाउने प्रस्ताव हो । भोलि यो संविधान संशोधनको विषय बनेर आउने सम्भावना भएकाले मात्र यसको चर्चा गर्न खोजिएको हो । केन्द्रीय समितिमा बोल्दै गर्दा यो विषय एकाध सदस्यको रुचिको विषयभन्दा बढी महत्व यसले पाएन । जतिबेला बैठक समापन हुँदै थियो, केन्द्रीय सदस्य शङ्कर भण्डारीले यस विषयमा पार्टीले ठोस निर्णय गर्नुपर्ने माग गर्नुभयो । उहाँको तर्क थियो : यो विषय महासमितिको बैठकको बहुमतले पारित गरिसकेको छ ।
उहाँले यसलाई पारित नगरिए बैठकका निर्णय सर्वसम्मत हुन नदिने र असहमति (नोट अफ डिसेन्ट) लेख्ने सम्मको चुनौती दिनु भयो । मानौँ कांग्रेसले तीन साता लगाएर टुङ्ग्याएको बैठकका अरू सबै निर्णय गौण हुन् र सबैभन्दा महत्वपूर्ण निर्णय चाहिँ यो नै हुनु पर्छ ।
सदस्य भण्डारीको यो प्रस्तावमा वाद प्रतिवादको अवस्था पनि नआएको होइन । यो विषयलाई महासमितिमा प्रवेश नै दिइनु हुन्नथ्यो भन्नेदेखि बहुमतले पारित भयो भन्ने आधार के हो भनेर पनि प्रतिवाद भएको थियो । अधिकांश सदस्य यो विषयमा निरपेक्ष रहन चाहन्थे । एकथरीलाई लाग्दै थियो, आफ्नै गुटको साथीले उठाएको विषयमा किन प्रतिवाद गरिरहने ? अर्को पक्ष संस्थापन भनिने पक्षको दोहोरीलाई रमिता झैँ हेरिरहेको थियो । धर्मको बारेमा कांग्रेसको आधिकारिक धारणा के हो र हुनु पर्छ भन्नेबारे सबै अनभिज्ञ झैँ देखिन्थे । बैठक यो विषयमा कुनै निर्णय नगरी सकियो । पार्टीका सबै निर्णय सर्वसम्मत भएको जानकारी प्रेस विज्ञप्तिमार्फत आयो ।
हिन्दु धर्मका विषयमा बोल्नु, मूलतः हिन्दु भावनाविपरीत हुने गरी बोल्नु अनाहक विवादको भुमरीमा पर्नु हो भन्ने कतिपय कांग्रेसीलाई लाग्ने गर्छ । यसको कारण कांग्रेसका कतिपय मतदाता हिन्दु राज्यका पक्षमा छन् भन्ने पनि उनीहरूको बुझाइ छ । हरेक धर्मका मतदाता कमबेसी हरेक पार्टीका छन् । यस अर्थमा मत घट्ने त्रासले पनि धर्मका बारे नबोल्नु नै धेरैले हितकर सम्झने गरेका छन् । धर्मका विषयमा कांग्रेस आफ्नो स्थापना कालदेखि नै प्रस्ट छ । अरू कतिपय राजनीतिक दल धर्मलाई मौसम अनुसारको व्यापार गर्ने दाउमा देखिन्छन् । कुनै पनि धर्मको विपक्षमा बोल्न संविधानले रोक लगाएको छ । यसले सामाजिक सद्भाव खल्बल्याउन सक्छ भन्ने उदाहरण मुलुकले बेहोरिसकेको छ । कुनै नागरिकलाई जस्तो कुनै राजनीतिक दललाई कुनै धर्मका पक्षमा बोल्नसमेत कठिन हुने गरेको छ ।
के हिन्दु राज्यको वकालत गर्ने कांग्रेसजनले तीनतारे कांग्रेसको कल्पना गरेका हुन् ? बिपी कोइरालाको १११ औँ जन्म जयन्तीका सन्दर्भमा कांग्रेस प्रस्ट हुन जरुरी छ । बिपी कोइरालाले प्रस्ट भन्नुभएको छ : राज्यको कुनै धर्म हुनु हुँदैन । हरेक व्यक्तिलाई आफ्नो धर्म रोज्ने अधिकार हुन्छ । बिपीको यो भनाइले राज्य सापेक्ष वा निरपेक्ष धर्मको पक्ष लिएको छैन । कांग्रेसको झन्डाको आदर्श जस्तै धार्मिक स्वतन्त्रताको पक्षमा उहाँले व्याख्या गर्नुभएको छ । धार्मिक स्वतन्त्रताले कुनै पनि नागरिकलाई आफूले रुचाएको धर्म मान्न कुनै रोकतोक लगाउँदैन । धार्मिक स्वतन्त्रताले कुनै धर्मको अवमूल्यन वा अपमान गर्दैन । अहिले हिन्दु राज्यका पक्षमा आफूलाई उभ्याउने कुनै पनि कांग्रेसजनले धर्म सापेक्षता वा निरपेक्षता होइन, संविधानमा धार्मिक स्वतन्त्रताको पक्षमा बहस सुरु गर्यो भने त्यो पार्टीको आधिकारिक मान्यता अनुरूप हुन्छ । अन्यथा उसले तीन तारे कांग्रेसको वकालत गरेको ठहर्छ ।
कांग्रेसले आफ्नो झन्डामा रहेको चार ताराको व्याख्या गर्दा एउटा तारा धार्मिक स्वतन्त्रता हो भन्दै आएको छ । अरू तीन ताराका अर्थ राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र निर्भयपूर्वक बाँच्ने स्वतन्त्रता हुन् । कांग्रेसमा बहसको विषय बनाउन खोजिएको हिन्दु राज्यको प्रस्ताव जुन कुनै फोरममा बहसको विषय हुन सक्ला तर आधिकारिक निर्णयका लागि महाधिवेशनबाहेक अन्यत्र छलफल हुन सक्दैन । पार्टीको नाम, झन्डा, सिद्धान्त र आदर्श पार्टीका अपरिवर्तनीय दस्ताबेज हुन् । र पनि, समय, काल परिस्थितिले पार्टी दस्ताबेजमा समसामयिक सुधार वा परिवर्तन गर्नुपर्ने भयो भने महाधिवेशन नै चाहिन्छ । महासमिति वा केन्द्रीय समितिले निर्णय गर्न सक्दैन । केन्द्रीय समिति वा पार्टीका महाधिवेशन प्रतिनिधिले मात्र यो प्रस्ताव बैठकमा लैजाने हक राख्छ । केन्द्रीय समितिले प्रस्ताव नगरेका खण्डमा केन्द्रीय सदस्यले प्रस्ताव लैजानु अघि केन्द्रीय समिति बैठकमा लिखित असहमति जनाउनु पर्छ ।
नेपालको पछिल्लो जनगणना अनुसार पनि ८१ प्रतिशतभन्दा बढी नागरिक हिन्दु धर्म मान्छन् । त्यसपछिको ठुलो सङ्ख्या बौद्ध धर्मावलम्बीको छ । हिन्दु र बौद्ध धर्ममा कतिपय रीतिरिवाज र संस्कृति भिन्न रहे पनि कतिपयले एक अर्काका पर्व आपसमा मनाउने गरेका छन् र उनीहरूको एक अर्काप्रतिको सहिष्णुता अपरम्पार छ । कुनै समयमा नेपालमा यी दुई धर्मका अनुयायी ९७ प्रतिशत थिए । समयक्रममा यो सङ्ख्याको घटबढ भए पनि अहिले पनि यी दुई धर्म पहिलो र दोस्रो स्थानमा नै छन् ।
२०२८ को जनगणनामा किराँतले आफूलाई किराँत धर्मावलम्बी लेखाएका थिएनन् । पञ्चायतकालीन हिन्दु राज्यको जगजगीमा उनीहरूले आफूलाई सम्भवतः हिन्दु नै लेखाएका थिए । आज उनीहरू तीन प्रतिशतभन्दा माथि देखिन्छन् । यो धार्मिक स्वतन्त्रताको प्रभाव हो । मुलुकलाई धर्म निरपेक्ष घोषणा नगर्दै उनीहरूले आफ्नो धार्मिक पहिचान उजागर गरेका थिए । २०५८ को जनगणनामा नै उनीहरूको स्पष्ट पहिचान देखिएको थियो र अहिले भन्दा धेरै थिए । पहिलो जनगणनामा झन्डै ८९ प्रतिशत रहेका हिन्दु पञ्चायतकालीन हिन्दु राज्यको अन्त्यतिर आइपुग्दा बढेको थिएन, घटेकै थियो । किराँत धर्म जनाउनेहरू यसै जनगणनामा देखिएका थिए । बरु २०२८ सालको जनगणनामा क्रिश्चियन धर्मावलम्बीले आफूलाई दर्ता गराइसकेका थिए । पछिल्लो समयमा क्रिश्चियन बढेका छन् तर हिन्दु धर्ममाथिको अतिक्रमण उनीहरूका कारण भएको मान्नु हुँदैन । पछिल्लो समय जैन र वहाइ धर्मावलम्बी देखा परेका छन् । शिख र यहुदीको सङ्ख्या नगण्य भए पनि देखिन थालेको छ । यो देशमा मुस्लिम धर्म मान्नेहरू पहिलो जनगणनादेखि नै छन् र त्यसबेलादेखि आज पर्यन्त उनीहरू तेस्रो स्थानमा नै छन् । उनीहरूको सङ्ख्या हरेक जनगणनामा निरन्तर बढ्दो क्रममा छ । यसरी सङ्ख्यामा धेर वा थोर जे भए पनि नेपाल बहुधर्मावलम्बीको देश हो ।
धर्मका नाममा संविधानमा जे लेखिए वा नलेखिए पनि नेपालमा धार्मिक सहिष्णुता छ र नै सयौँ फूलको फूलबारीका रूपमा परिचित हुँदै आएको छ । आधुनिक नेपालको निर्माण नहुँदैदेखि यो भूभागमा हिन्दुहरूको बसोबास हुँदै आएको छ । बुद्धको जन्मभूमि नेपालमा बौद्ध धर्मावलम्बी उही कालदेखि रहँदै आएका हुन् । एघारौँ शताब्दीमा नै मुसलमान आएको इतिहासमा उल्लेख छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले त्यसै चार जात छत्तीस वर्णको फूलबारी भनेका होइनन् । राष्ट्रिय गानका रूपमा स्वीकार गरिँदै गर्दा ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ लाई त्यसै लिइएको होइन । धर्मका नामको राजनीतिले कस्ता त्रासदी निम्त्याउँछन्, यसका लागि विश्व इतिहास पर्याप्त छन् । त्यसैले धर्मलाई राजनीतिको विषय होइन, व्यक्तिको स्वतन्त्रताको विषय बनाऔँ । बिपी कोइरालाले स्थापना गर्नुभएको कांग्रेसको यो मान्यतालाई उहाँ आफैँले प्रस्ट शब्दमा भन्नुभएको छ । यसमा थप बहसको अर्थ छैन ।