बेरोजगारी देशकै सबैभन्दा ठुलो समस्या भएको छ । स्वदेशमा रोजगारी पाउन नसकेपछि दिनकै दुई तीन हजार नेपाली युवा बिदेसिन बाध्य छन् । सरकारले ठुलो मात्रामा लगानी गरेर तत्कालै रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । सरकारको सीमित साधनस्रोत बाधक छन् । सीमित राजस्व साधारण खर्चमै ठिक्क हुने हुँदा पुँजीगत खर्चको आकार पनि व्यापक बनाउन सकिएको छैन । व्यापक लगानी गरेर रोजगारी सिर्जना गर्न सक्ने स्थिति नहुँदा अनेक विकल्पमा ध्यान जानु पर्छ । यो अवस्थामा रोजगारी सिर्जना गर्न उपलब्ध प्राकृतिक स्रोतसाधनलाई ससाना पुँजी, योजना, रणनीति, सिप, दक्षता र सिर्जनशीलता उपयोग गर्नुपर्ने हुन्छ । त्यसका निम्ति देशका सबै स्थानीय तहले पालिकामै रोजगारी तथा स्वरोजगारी सिर्जना गर्न सक्ने प्रभावकारी माध्यम पालिका पर्यटन बन्न सक्छ । पालिका पर्यटन प्रवर्धन रोजगारीको दिगो आयाम बन्न सक्छ ।
नेपाल प्राकृतिक सौन्दर्यले धनी मुलुक हो भन्ने कुरा धेरै पहिलेदेखि भन्दै आएका छौँ । देशका ७५३ वटै पालिकाभित्र अनेक प्राकृतिक सम्पदा छन् । जातजातिको मौलिक संस्कृति र संस्कारको सम्पन्नता त अझ धेरै छ । जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण नेपालको संस्कृतिले आन्तरिक तथा बाह्य पर्यटनलाई राम्ररी आकर्षित गर्न सक्छ । मूर्त तथा अमूर्त कला, संस्कृति, संस्कार, खानादेखि भौगोलिक र प्राकृतिक देनलाई रोजगारी तथा स्वरोजगारीसित जोड्दै जानुको विकल्प छैन । गाउँघर बिस्तारै खाली हुँदै छन् । हिजो कुनै पूर्वाधार नहुँदा मानिसको बसोबास थियो, अहिले शिक्षा, स्वास्थ्य, सडक आदिको पूर्वाधार पुगेर पनि मानिस बाहिर गइरहेका छन् । यो अवस्थालाई सङ्घ, प्रदेशसँगै पालिका तहले पनि गम्भीर रूपमा लिनुपर्ने अवस्था छ ।
पालिका पर्यटनको प्रसङ्गमा एउटा सानो स्थलगत अनुभवलाई जोडौँ । यो निजी अनुभवभन्दा पनि पत्रकारको सामूहिक अनुभव हो र यसको चर्चा गरौँ । काठमाडौँदेखि उत्तरपश्चिममा रहेको नुवाकोटका शिवपुरी गाउँपालिकामा भदौ २२ गते शनिबार राजधानीबाट एक सयभन्दा बढी सम्पादक तथा पत्रकार पदयात्रा कार्यक्रममा सहभागी थिए । जलवायु परिपवर्तनका प्रभाव न्यूनीकरणका निम्ति सचेतनामूलक त्यस पदयात्रा कार्यक्रम एक तवरले पालिका पर्यटन प्रवर्धनको सानो प्रयास जस्तै थियो । शिवपुरी गाउँपालिकामा रहेको लौके झरना हेर्न राजधानी काठमाडौँबाट दिनमै तीन चार हजारमा मानिस पुग्ने गरेको शनिबारकै चललपहलले पनि देखिन्थ्यो । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाका अनुसार गाउँपालिकाले यो झरना स्थानीय पर्यटनको आकर्षण हुन सक्छ भन्ने उद्देश्यले गत वर्ष झरनासम्म पुग्ने पहुँच पदयात्रा मार्ग निर्माण गरेपछि झरनाप्रति आकर्षण बढेको हो । अहिले त राजधानी काठमाडौँबाट विशेष गरी बिदाका दिन झरना हेर्न जानेको भिडै लाग्ने गरेको छ ।
गाउँपालिकाले यो झरनामा पदयात्रा मार्ग निर्माण गरेर स्थानीय पर्यटनको आयाम पहिचान गरेको त छ तर अझ धेरै पूर्वाधार र व्यवस्थापन आवश्यक छ । यस सन्दर्भमा कतिपय पत्रकारको भनाइ मननीय नै छ । स्वास्थ्य तथा वातावरणको क्षेत्रका अनुभवी पत्रकार लक्ष्मण अधिकारी स्थानीय उत्पादन र खानालाई पर्यटनसित जोड्नु पर्ने सुझाव दिनुहुन्छ । झरना हेर्न जानका निम्ति अलि वरैबाट राजधानी काठमाडौँ हुँदै पुगेका अनेक बजारिया खाना तथा पेय पदार्थ देखिन्थ्यो । स्थानीय दही, मोही, काक्रालगायतका फलफूल पदयात्री अधिकांशको चाहना भए पनि ती उत्पादन अति बिरलै र अति न्यून मात्र देखिन्थ्यो । गाउँका पर्यटकीय स्थलमा सहरिया र पत्रु खानाकै बजार विस्तार गरेर स्थानीय रोजगारी तथा स्वरोजगारी सिर्जना कठिन हुने सम्पादक तथा पत्रकारको सुझाव गहन थियो । सायद स्थानीय नेतृत्वले मनन गर्दै जाला ।
सम्पादक समाज नेपालले स्वस्थ्य जीवन : उत्तरदायी पत्रकारितालाई सार्थक बनाउँदै लैजाने लक्ष्यलाई सकार बनाउन लौके झरनाको अवलोकन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा छलफल आयोजना जुटाएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सम्पादक तथा पत्रकारले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा स्थानीय तहमै आएर गरिएको अवलोकन र अन्तर्क्रियाको प्रशंसा नै गर्नुभयो । अति महत्वपूर्ण रहेको आफूले महसुस गरेको पनि बताउनुभयो । उहाँले यो अभियानलाई बागमती प्रदेश सरकारले सकारात्मक लिएको मात्र भन्नुभएन यस्ता सिर्जनात्मक कार्यक्रममा सहयोग गर्दै जाने जनाउ दिनुभयो । तीन तहका सरकारलाई जलवायु परिवर्तनले जनजीवनमा पारेको असर जान्न बुझ्न र त्यसमा काम गर्न प्रदेश सरकारालाई प्रेरित गरेको पनि उहाँले स्पष्ट पार्नुभएको थियो । वास्तवमा त्यो कार्यक्रमले पालिका पर्यटन प्रवर्धनबाट स्थानीय तहमा थोरै भए पनि रोजगारी सिर्जना गर्न सकिने अनुभूति सम्बद्ध क्षेत्रलाई भएको देखिनु सकारात्मक पक्ष हो ।
देशका सबै पालिकामा शिवपुरीको लौके झरना तथा त्यसको शिरमा रहेको सुइरेचौर जस्ता अनेक पर्यटकीय स्थल लुकेर बसेका छन् । गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र निर्माण भएको सुइरेचौर पर्यटकीय दृष्टिले अनुपमस्थल हो भन्ने कुरा त्यहाँ पुग्ने जोसुकैले पनि मनन गर्न सक्छ । काठमाडौँको टोखामाथिको गुर्जे भन्ज्याङबाट आधा घण्टाकै पदयात्रामा पुग्न सुइरेचौरबाट सफा मौसममा उत्तरका मनोरम हिमाल शृङ्खला वारपार देख्न सकिन्छ । सुइरचौर नगरकोट जस्तै पर्यटकीय स्थल बन्न सक्छ । उपत्यका वरिपरिका यस्तै अनेकौँ पर्यटकीय स्थल विकसित गर्ने धेरै सम्भावना छन् । उपत्यका वरिपरि मात्र होइन, देशका सबै पालिकामा पर्यटकीय तथा सांस्कृतिक महत्वका स्थल छन् । अब तिनको प्रवर्धनमा स्थानीय सरकार नै अग्रसर हुनु पर्छ ।
यताका वर्षमा आन्तरिक पर्यटनको ठुलो सम्भावना बढ्दै गएको छ । शिवपुरीकै रमणीय लौके झरना तथा सुइरेचौर घुग्न काठमाडौँबाट जानेको मोटर साइकलको ताँती लागिरहेको देखियो । शिवपुरी जलाधार क्षेत्र भएकाले सडक पहुँच राम्रो बनाउन अनेक चुनौती रहेकोले आफ्ना चार पाङ्गे सवारीसाधन वरै राखेर पनि सुइरेचौरततर्फ मानिस पदयात्रामा रमाइरहेका देखिन्थ्यो । आन्तरिक पर्यटनलाई राम्रो बनाउन सकिने पूर्वाधार विकास गर्दा बिस्तारै कुनै पनि पर्यटकीय स्थलमा बाह्य पर्यटक पुग्न सक्छन् । त्यसका निम्ति प्रत्येक पालिकाले बिस्तारै पालिका स्तरमै पर्यटन प्रवर्धनलाई केन्द्रविन्दुमा राखेर नीति, योजना र कार्यक्रम अगाडि बढाउनु पर्छ ।
पालिकास्तरमा पर्यटन विकास गर्दा सकभर स्थानीय स्तरकै उत्पादनलाई प्राथमिकता दिनु आवश्यक छ । आयातित सरसमान र खाना गाउँमा लगेर पर्यटन प्रवर्धन हुन सक्दैन । त्यसका निम्ति हरेक गाउँपालिका तथा वडाले स्थानीय उत्पादन प्रवर्धन गर्न कोसेली घरका विकास गर्न प्रोत्साहित गर्नु पर्छ । कोसेली घरले पालिकामा पुग्ने पर्यटकलाई त्यहाँ उत्पादन भएका वस्तु कोसेलीका रूपमा लैजाने अवसर दिन्छ । कोसेली घरलाई स्थानीय कृषिसित जोड्न सकिन्छ । फलफूल तथा तरकारीसित कोसेली घरलाई जोड्न सकिन्छ । सकभर जैविक तवरले गरिने खेतीका उपज स्थानीय कोसेली घरका आकर्षण हुन सक्छन् ।
मुस्ताङ र जुम्लाको स्याउ, लहानको आँप, गोरखाको सुन्तला भने झैँ देशका हरेक पालिका कुनै न कुनै सिजनल फलफूल तथा तरकारीका केन्द्र बन्न सक्छन् । पालिकाले अब कृषिलाई पालिका पर्यटन प्रवर्धनसित जोड पहल गर्नु पर्छ । उर्बर जमिन बाँझो हुँदै गएका छन् । तिनलाई अब व्यावसायिक तवरले प्रयोग गर्ने नीति र योजना गाउँमै बनाउन सकिन्छ । करार तथा सहकारीका माध्यमले किसानको बाँझो जमिन अब एकत्रित गरेर व्यावसायिक प्रयोजनमा ल्याउन सकिन्छ । यसले कृषिलाई व्यावसायीकरण गरी स्थानीय तहमा व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ । कृषिलाई पर्यटनसित जोड्न सकिन्छ ।
स्थानीय कृषिलाई शैक्षिक क्रियाकलापको केन्द्रसमेत बनाउन सकिन्छ । विद्यार्थीलाई अध्ययन गर्दै सिक्दै गर्ने गरी विद्यालय पनि स्थानीय कृषिका साझेदारी बन्न सक्छन् । सहरबाट विद्यालय तथा उच्च शिक्षाका विद्यार्थीलाई स्थानीय कृषिसित आबद्ध गर्न सकिन्छ । कृषि अवलोकन, सहकार्यका अनेक व्रिmयाकलापले इन्टनसिप तथा रोजगारीका आयाम बनाउन सकिन्छ । कृषिप्रधान देश नेपाल अब त खाद्यान्न आयातबिना बाँच्नै नसकिने अवस्थामा पुगेको छ । आयात प्रतिस्थापन गर्न सक्ने गरी स्थानीय कृषिलाई पर्यटन र शैक्षिक गतिविधिसँगै व्यावसायिक कृषिसित जोड्नै पर्ने समय आएको छ ।
देशका धेरै पालिकाले घरबास अर्थात् होम स्टेलाई प्रवर्धन गरिरहेका छन् । स्याङ्जाको सिरुबारीबाट सुरु भएको यो अभियान देशका झन्डै सय पालिकासम्म पुगे पनि हिजोआज घरबास पनि सुस्ताउँदै गएको कतिपय भुक्तभोगीको भनाइ छ । पालिका पर्यटन प्रवर्धनमा घरबास अति महìवपूर्ण छ । गाउँमा मात्र होइन, काठमाडौँ तथा ललितपुर जस्ता देशका मुख्य सहर तथा महानगरपालिकाले पनि घरबास व्यवस्थालाई प्रवर्धन गर्न सक्छ । ललितपुरमा त घरबास व्यवस्था विस्तार हुँदै पनि गएको छ । ठुला सहरका धेरै घर खाली हुँदै छन् । सहरमा ठुलठुला होटल, लज आदि भए पनि तिनमा सबैको पहुँच पुग्न सक्दैन । स्वदेश तथा विदेशी जनस्तरमा अझ सामुदायिक तवरले विकसित गरिएका घरबास मन पराउँछन् । उनीहरूको आयले समेत धान्छ । सबै जसो सहरी क्षेत्रमा घरबास सम्भावना छ । राजधानी काम परेर आइरहेन स्वदेशी पनि यस्तो सेवाबाट लाभान्वित हुन सक्छन् । विश्वका धेरै मुलुकमा यस्तो घरबासले स्थानीय पर्यटन प्रवर्धनमा योगदान गरिरहेको हुन्छ ।
पालिका पर्यटन प्रवर्धन अनेक तवरले गर्न सकिन्छ । त्यसका निम्ति कोसेली घरको विकास राम्रो अवधारणा हो । कोसेली घर कृषि उपजका साथै स्थानीय उद्यमसित जोड्ने अब्बल माध्यम हुन सक्छ । स्थानीय उत्पादन, घरेलु तवर बनेका सरसमान कोसेली घर चलाउने माध्यम बन्न सक्छन् । बाहिरबाट जाने मानिसले स्थानीय कृषि उपज मात्र होइन, हस्तकलालगायतका सरसमान पनि खुबै मन पराउँछन् । पाल्पाको करुवा, रम्जटारको राडी, हेलम्बुका गलैँचा, भोजपुरको खुकुरी आदि कुनै बेला चर्चित थिए । यस्ता अनेक उद्यम गाउँमा पुनस्र्थापना गर्न पालिकाको ठुलो भूमिका हुन्छ । पालिका पर्यटन प्रवर्धनबाटै स्थानीय रोजगारी सिर्जना सम्भव हुन्छ । पालिका पर्यटन प्रवर्धनमा पालिका नेतृत्वसँगै सङ्घ र प्रदेशको भूमिका सहयोगी हुनु पर्छ । निर्जन बन्दै गएको गाउँ तथा बाँझो बन्दै गएका उर्बर कृषि भूमिलाई उपयोग गर्ने सिर्जनात्मक कार्य पालिका पर्यटन प्रवर्धन हुन सक्छ ।