• २६ पुस २०८१, शुक्रबार

प्युठानमा ४० हजार व्यक्तिलाई कोभिडविरुद्ध खोप लगाउँदै

blog

कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनबारे जानकारी गराउनुहुँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, भदौ २३ गते ।
जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य कार्यालय प्युठानले यही भदौ २६ गतेदेखि जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।

खोप अभियानका लागि ४० हजार २० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले बताउनुभयो । १२ वर्ष उमेरमाथिका व्यक्तिलाई खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो मात्रा सबैले लगाए

जिल्लामा २०७७ माघ १५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पहिलो मात्रा खोप सबैले पाएका छन् । दुई लाख आठ हजार ६८८ जनाले पहिलो मात्रा खोप लगाएका छन् । पाँच वर्ष उमेरमाथिका दुई लाख एक हजार २५२ जनसङ्ख्यामध्ये त्योभन्दा धेरैले खोप लगाएको निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

“भेरोसिल खोपलाई वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई मान्यता दिइएको थिएन,” उहाँले भन्नुभयो, “त्यसैले भेरोसिल लगाएका व्यक्तिले पुनः अरु खोप लगाउँदा पनि सङ्ख्या बढेको हो ।”

दोस्रो मात्रा खोप एक लाख ९८ हजार १३ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएका ९५ प्रतिशतले  दोस्रो मात्रा खोप लगाएका छन् । पहिलो बुस्टर एक लाख २९ हजार ८१२ जनाले लगाएका छन् । दोस्रो मात्रा लगाएकामध्ये ६६ प्रतिशतले मात्र बुस्टर लगाएको देखिन्छ । थप बुस्टर लगाउने ५७ हजार ४२१ जना छन् । पहिलो बुस्टर लगाएकामध्ये थप बुस्टर लगाउने ४४ प्रतिशत छन् ।

नयाँ खोप कार्ड
यो अभियानमा पहिलो खोपदेखि थप बुस्टर खोपसम्म लगाइने कार्यालयको योजना छ । कार्यालयले खोपसँगै यसपटक खोपकार्डको समेत व्यवस्था गरेको छ । यसअघिका खोप कार्डमा विवरण लेख्ने ठाउँ सकिएको हुँदा नयाँ खोप कार्डको व्यवस्था गरिएको कोल्डचेन अधिकृत कोशलराज वैद्यले जानकारी दिनुभयो ।