• २७ पुस २०८१, शनिबार

समयमै पारिश्रमिक दिने सहमति पछि काममा फर्किएर मजदुर

blog

समयमै पारिश्रमिकको माग गर्दै आन्दोलन गरेका मजदुरहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ २२ गते ।
 म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका मजदुरहरू काममा फर्किएका छन् । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसाेसिएट्सले समयमै पारिश्रमिक नदिएको भन्दै मजदुरहरूले शुक्रबार आन्दोलन गरेका थिए । मजदुरको आन्दोलनका कारण अडिट नम्बर १, २ र ३ मा निर्माण कार्य प्रभावित भएको थियो ।

निर्माण कम्पनी र मजदुरहरू बिच सहमति भएपछि निर्माण कार्य सुचारु भएको कम्पनीले जनाएको छ । शुक्रबार साँझ मजदुर र निर्माण कम्पनीका प्रतिनिधिहरूबिच भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि साँझबाट निर्माण कार्य सुचारु भएको आयोजनाको सिभिल ठेकेदार कम्पनी जेपी एसाेसिएट्सका प्रशासन विभागका वरिष्ठ व्यवस्थापक राम सिंहले बताउनुभयो ।

उहाँका अनुसार हरेक महिनाको तबल अर्को महिनाको १५ तरिकमा दिने गरिएकोमा यस पटक एक महिनाको तलब भुक्तानी गर्न ढिलाइ भएकाले मजदुरहरूले आन्दोलन गरेको उहाँको भनाइ थियो ।

शुक्रबार जुलाई महिनाको तलब भुक्तानी गरिएको र अगष्ट महिनाको आगामी २० तारिक भित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरेर मजदुरहरू काममा फर्किएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एक महिनाको तलब दिन मात्रै ढिलाइ भएको हो, त्यो समस्या समाधान भइसकेको छ, मजदुरहरू पनि सबै काममा फर्किएका छन् । हामीले मजदुरलाई समयमै पारिश्रमिक दिने कुरामा प्रतिबद्ध छौँ ।’’

जेपी एशोसिएट्सले यस आयोजनमा नेपाली र भारतीय गरी करिब साढे ७ सय पचास मजदुर परिचालन गरेको जनाएको छ । आगामी १ वर्षभित्र आयोजनाको निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कम्पनीले स्रोत, सधान र जनशक्ति परिचालन गरेको जनाएको छ ।

राहुघाट जलविद्युतको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको छ भने इलेक्ट्रिकतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले ठेक्का लिएको छ । यस आयोजनाको ६ हजार दुई सय ७० मिटर लामो मुख्य सुरुङ गत साउनमा छिचोलिएको थियो ।

भारतीय आयात–निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसाेसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो । अहिले सुरुङलाई कङ्क्रिट गर्नुको साथै बाँध र विद्युत गृहको पूर्वाधार निर्माणको काम भइरहेको छ ।