• १० पुस २०८१, बुधबार

हाम्रो सम्पदा

दाङको अम्बिकेश्वरी मन्दिर

blog

काठमाडौँ, भदौ २२ गते । घोराही उपमहानगरपालिका १८ मा अवस्थित प्रख्यात अम्बिकेश्वरी मन्दिर।  क्षत्र शैलीमा निर्मित यो देवीको मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रूपमा लिइन्छ। यो उत्तराभिमुख भएको दुई तले पित्तलको गजुर भएको यस मन्दिरको बिचमा करिब १ मिटर उचाइमा चौका रूपको अग्लो स्थानमा अम्बिकेश्वरीको प्रतीक स्वरूपको कानको आकारको गहिरो प्वाल रहेको छ।

त्यहीँ प्वाललाई नै दैवीको प्रतीक मानी भक्तजनहरू पूजा अर्चना गर्ने गर्दछन्। यो शक्तिपिठको उत्पत्तिको सन्दर्भमा स्कन्दपुराणको केदार खण्डको माघ महात्त्म्यमा वर्गित कथालाई भूल आधार मानिन्छ। पित दक्षप्रजापति द्वारा आफ्ना पति शिवको निन्दा सुन्न नसकी दक्षले सञ्चालन गरेको यज्ञ कुण्डमा हाम फाली सतीदेवीले देह त्याग गरिन। नारदद्वारा उक्त दुखद समाचार सुनी विक्षिप्त बनेका शिव उक्त स्थानमा गई सतीदेवीको मृत देह बोकी विश्व ब्राह्मण चहार्दै हिँडे।

लामो समयपछि देवताहरूको अनुरोधमा भगवान् श्री विष्णुले उक्त लासलाई सडने उपाय गरे। त्यसपछि विभिन्न स्थानमा सतीदेवीको शरीरबाट विभिन्न शरीरका अङ्गहरू टुक्रिएर खस्न थाले। सोही क्रममा पौर बन्ध भन्ने ठाउँमा पुग्दा उनको दाहिने कान पतन भयो। त्यही स्थलमा अम्बिकाको रूपमा देवी प्रकट भइन। ऐतिहासिक कालखण्डका अभिलेख प्रमाणहरू हेर्दा वि स १८६३ साल सम्म पुग्न सकिन्छ। मन्दिरमा रहेको पुराना घण्टहरू मध्ये सबै भन्दा जीर्ण र खण्डित अवस्थामा रहेको एउटा घण्टाको अभिलेखले उक्त घण्ट राजा रणभिम शाहले चढाएको पुष्टि गर्दछ। यी रणभिम शाह सल्यानी राजा श्री कृष्ण शाहका छोरा तथा नेपाल एकीकरण अभियानको प्रारम्भकर्ता गोरखाका राजा पृथ्वी नारायण शाहका ज्वाइँ थिए।

पृथ्वी नारायण शाहले आफ्नी छोरी विलास कुमारीको विवाह सल्यानका तत्कालीन युवराज रणभिम शाहसँग वि स १८२३ मा गरेका थिए। राजा रणभिम शाहले दाङ देउखुरी र छिल्लीको भूभाग उपभोग गर्न व्यवस्था मिलाएपछि रणभिम शाहले १८६३ मा अम्बिकेश्वरीको भक्तिपूर्वक पूजा गरी घण्ट चढाएको कुरा घण्टमा लेखिएको छ। त्यस्तै छाया क्षेत्र कि क्षत्रेश्वरी भगवतीको उत्पत्ति र ऐतिहासिकतामा पनि अम्बिकेश्वरी समान छ। तत्कालीन सल्यान राज्यमा अन्य प्रसिद्ध धार्मिक आस्थाका केन्द्रहरू थिए।

यस मन्दिरको सन्दर्भमा कुनै स्थानमा तत्कालीन अभिलिखित प्रमाण नपाइनु र अम्बिकेश्वरीमा मात्र पाइनुले यो प्रख्यात मन्दिर त्यस समयको सबै भन्दा प्रसिद्ध थियो र देवीको शक्तिमानी बढी जनविश्वास थियो भन्ने प्रस्ट हुन्छ।