• १३ साउन २०८१, आइतबार

मुसहर समुदायको गुनासो : जनप्रतिनिधि फर्किएर आएनन्

blog

सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीस्थित मुसहर बस्ती ।तस्बिर : जनार्जन खत्री

सर्लाही, वैशाख २७  गते ।“मुसहर समुदायमा स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि कुनै उत्साह छैन,” हरिपुर नगरपालिका–५, मजुर्बाका विष्णु माझीले भन्नुभयो । यसअघिका निर्वाचित जनप्रतिनिधिले मुसहर समुदायको उत्थानमा वास्ता नगरेपछि उहाँको चित्त दुखेको छ । जनप्रतिनिधिले तराईको पिछडिएको माझी मुसहर समुदायमाथि गरेको व्यवहारले धेरैको मन कुँडिएको माझीको भनाइ छ ।  

माझीले मुसहर बस्तीको समस्या ज्युँका त्युँ रहेको बताउनुभयो । “धेरै मुसहरको त घर छैन, घर भएकाको आँगन छैन, मुसहर बस्तीमा साँघुरा बाटा छन्”, माझीले भन्नुभयो, “पाँच वर्षअघि हामीले जिताएर पठाएका जनप्रतिनिधि फर्किएर आएनन्, त्यस्ता नेतालाई अब फेरि किन भोट हाल्नु?” जिल्लाका अधिकांश मुसहर बस्तीमा पुग्दा मुसहर समुदायको यस्तै गुनासो छ ।

बरहथवा नगरपालिका–८, टाँडीकी सीतादेवी माझीले जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा मुसहर समुदायले स्थानीय सरकार रहेको महसुस गर्न नपाएको गुनासो गर्नुभयो । 

आफ्नै गाउँ टाँडीमा धेरै मुसहर परिवार अहिले पनि घरबारविहीन भएर बस्नु परेको प्रति सीतादेवीले गुनासो गर्नुभयो । “यो बस्तीमा केहीको आफ्नो घर छैन, अरुको जग्गामा पाल टाँगेर बसेका छन्, उनीहरूको नागरिकतासमेत छैन्, बालबालिका जन्म दर्ताविहीन हुनुपरेको छ,” सीतादेवीले भन्नुभयो, “पाँच वर्षसम्म पनि जनप्रतिनिधि तिमीहरूलाई के–कस्तो छ ? भनेर सोध्न पनि आएनन्, हामी मुसहरलाई जनप्रतिनिधिले समेत मान्छे झैँ ठानेनन् ।”

हरिपुर नगरपालिका–५, लक्ष्मीपुरकोद्राह गाउँका अजय माझीले आफ्नो उमेर पुग्दा पनि नागरिकताबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो । “मेरो गाउँमा भारतबाट भर्खंरै आएकाले नागरिकता पाइसके, उनीहरूलाई मेयरसाब र वडाध्यक्षले नै अगुवाइ गरेर नागरिकता दिलाइदिनुभयो तर हामी पुस्तौँदेखि यहीँ बस्दा पनि नागरिकता पाएका छैनौँ,” माझीले भन्नुभयो ।

माझीका अनुसार मुसहर समुदायमा धेरै नागरिकताकै समस्या छ । बाबुआमाको नागरिकता नभएकै कारण जनप्रतिनिधि र वडा सचिवले जन्मदर्ता नबनाइदिएको मुसहर समुदायको गुनासो छ । आफूहरूले हालेको मतको सदुपयोग नभएको मात्रै नभई धेरैको नागरिकता नभएकै कारण मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउँदा मताधिकारबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो । नेपाल मुसहर सङ्घ सर्लाहीका अध्यक्ष रितुराज ऋषिले पुस्तौँदेखि बसोबास गर्दै आइरहेका मुसहरले नागरिकता नपाउँदा आफ्नो मताधिकारको प्रयोग गर्न नपाएको बताउनुभयो । 

ऋषिले धेरैजसो मुसहरको नागरिकता नभएकै कारण मत खसाल्न नपाउने अवस्था रहेको जानकारी दिनुभयो । “मेरो घर चन्द्रनगर गाउँपालिका–६ मा हो, यहाँ मुसहर समुदायको करिब आठ सय जनसङ्ख्या छ । त्यसमध्ये १५० जनाको मात्रै मतदाता नामावलीमा नाम छ,” ऋषिले भन्नुभयो, “जिल्लाको अन्य मुसहर बस्तीको अवस्था पनि यस्तै छ, मुसहर समुदायको यो अवस्थाका बारेमा कसैले चासो देखाएका छैनन् ।” 






Author

जनार्जन खत्री