• २७ पुस २०८१, शनिबार

पिपरा अस्पतालमा १२ वर्षपछि अप्रेसन सेवा

blog

अस्पतालमा पहिलो पटक अप्रेसनमार्फत प्रसूति गरिँदै । तस्बिर : पिपरा अस्पताल

जानु पाण्डे

कपिलवस्तु भदौ २० गते । कपिलवस्तुको पिपरा अस्पतालमा पहिलो पटक अप्रेसन सेवा सञ्चालन भएको छ । २०६९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएपछि मेजर अप्रेसन सेवा सञ्चालनमा ल्याइएको हो । 

अस्पतालमा बुधवार कपिलवस्तु नगरपालिका–२ का एक महिलाको अप्रेसनमार्फत प्रसूति गरी सेवा सुचारु गरिएको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । 

करिब डेढ वर्षको तयारीपछि सेवा सञ्चालन गरिएको छ । भवन मर्मत र औषधी उपकरण खरिद गरी अप्रेसन थिएटर निर्माणमा करिब ६५ लाख खर्च भएको नगर प्रमुख अर्यालले बताउनुभयो । 

पहिलो अप्रेसनमा अस्पतालका मेसु डा. सरस्वती भट्टराई, मेडिकल अफिसर डा. गणेश क्षेत्री, एनेस्थेसिया सहायक राधा कोइराला, नर्स रविना हिराचन र कल्पना पौडेल खटिनु भएको थियो । 

अस्पतालले अप्रेसनमार्फत एपेन्डिसाइटिस, हर्निया, हाइड्रोशील, लगायतको उपचार हुने र भ्यासेक्टोमी समेत गरिने डा. क्षेत्रीले बताउनुभयो । अस्पतालमा साउनको अन्तिम सातादेखि पोस्टमार्टम सेवा शुभारम्भ गरिएको थियो ।