• २७ पुस २०८१, शनिबार

जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, भदौ २० गते । कैलालीमा यसवर्ष जापनिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–५ र ६ का नौ वर्षीय बालक र ६० वर्षीय पुरुषको ज्यान गएको हो । 

यसवर्ष हालसम्म छ जनामा इन्सेफ्लाइटिस पुष्टि भएको सो कार्यालयका रमा गिरीले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामध्ये तीन जना उपचार पश्चात् घर फर्की सकेका छन् । एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गौरीगङ्गा नगरपालिका–२ का ६५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको गिरीले जानकारी दिनुभयो ।  

गोदावरी नगरपालिकाको ४६ वर्षीया एक महिला, सोही पालिकाकै पाँच वर्षीय बालक र धनगढी उपमहानगरपालिकाका एक पाँच महिनाको बालक भने उपचारपछि निको भएर घर फर्केका छन् । 

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोग हो । मानिसबाट मानिसमा नसर्ने यो रोग लामखुट्टेले हाँस, घोडा, सुँगुर, बङ्गुर जस्ता पशुपन्क्षीलाई टोके पश्चात् मान्छेलाई टोक्दा लाग्ने गर्दछ । क्युलेक्स जातको लामखुट्टे विशेष गरेर हिलो भएको ठाउँ र खेतबारीमा बढी हुने गरेको जनाइएको छ । 

जापनिज इन्सेफ्लाइटिस लागेमा बेस्सरी टाउको दुख्ने, धेरै ज्वरो आउने, बान्ता हुने, बेहोस हुने, घाँटी कडा हुने, कम्पन हुने, मस्तिष्कमा असर भई पक्षाघात हुने जस्ता लक्षण देखा पर्दछ । रोग ज्यादै कडा भएमा बिरामीको मृत्युसमेत हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कैलालीमा गत आर्थिक वर्षमा दुई जनामा जापनिज इन्सेफ्लाइटिस रोगको सङ्क्रमण पुष्टि भएको थियो । जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ ।