• २७ पुस २०८१, शनिबार

डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

blog

अनिल पराजुली

हेटौँडा, भदौ २० गते । मकवानपुरमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । साउनदेखि भदौ १९ सम्म लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी २३९ जना र मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या १२३ पुगेको छ । 

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार डेढ महिनाको अवधिमा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो । जिल्लामा डेढ महिनामा ८१ महिला र ४२ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडा उपमहानगरपालिकामा ७२, मकवानपुरगढीमा १५, मनहरीमा १०, बकैयामा १२ जना र भीमफेदीमा ८ जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ । त्यस्तै बागमती, कैलाश, इन्द्रसरोवर, राक्सिराङ र अन्य जिल्लाका एक एक जना प्रभावित हुनुभएको छ । 

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ । माइट प्रायः  झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ।

त्यस्तै पुरुष ११३ र महिला १२६ सहित भदौ १९ सम्म मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या २३९ पुगेको हो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ ८४ पुरुष र ९७ महिला गरी १८१ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । 

मनहरी गाउँपालिकामा २१ जना, मकवानपुरगढी गाउँपालिकामा १४, बकैया गाउँपालिकामा ८, भीमफेदी गाउँपालिकामा ६ जना, कैलाशमा २, र बागमती गाउँपालिकामा एकजनामा डेङ्गु पुष्टि भएको हो । अन्य जिल्लाका ५ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ ।  जिल्लाको इन्द्रसरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या शून्य छ । गत आवमा जिल्लामा ८९१ जनामा डेंगु पुष्टि भएको थियो ।