• ९ जेठ २०८१, बुधबार

डोटीको विकासका लागि सधैं तयार छु : अध्यक्ष प्रचण्ड

blog

दिपायलमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : गोरखापत्र

केशवचन्द्र महरा 

दिपायल, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दुई खाले छुट्टा–छुट्टै गठबन्धन रहेको बताउनु भयो । सोमबार दिपायलमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशमा लोकतान्त्रिक र प्रतिगामी राजावादीहरुको छुट्टा–छुट्टै गठबन्धन रहेको बताउँदै पाँच दलीय लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन अनुरोध गर्नुभयो ।

संविधान रक्षाका निम्ति पाँच दलीय लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध गर्नुभयो । ‘देशमा एकातर्फ लोकतान्त्रिक गठबन्धन र अर्कोतर्फ प्रतिगामी खालको राजावादीहरुको गठबन्धन छ’, प्रचण्डले भन्नुभयो, ‘संविधान, संघीयता तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका निम्ति पाँच दलीय लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु होला ।’’

सम्बोधनका क्रममा प्रचण्डले डोटीको विकासका लागि आफू जुनसुकैबेला तयार रहेको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘खुटिया–दिपायल दु्रत राजमार्ग, पश्चिम सेती परियोजना, एकीकृत खप्तड पर्यटन विकासका लागि म सदैब सकारात्मक रहेको र हाम्रै नेतृत्वमा यी कामहरु गर्नेछौं ।’’ 

उहाँले भन्नुभयो, ‘‘हामीलाई जिताउनुहोस्, तपाईहरु माँझ फेरि केही योजना लिएर आउने छौँ ।’’ उहाँले पाँच दलीय संयुक्त लोकतान्त्रिक गठबन्धनलाई विजय गराए आफु पुनः बधाई दिन डोटी आउने र त्यो बेलासँगै विकासे योजना ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेता हर्कबहादुर सिंह, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कर्णाली प्रदेशका पवर्ब मुख्यमन्त्री महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका पूर्ब सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीलगायत नेताहरुको सहभागिता थियो । डोटीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धन गरेर स्थानीय निर्वाचन लड्दैछ भने नेपाली कांग्रेस, नेकपा एमाले एक्ला–एक्लै चुनावमा होमिएका छन् ।