• ७ मंसिर २०८१, शुक्रबार

बालबालिकामा हुने क्यान्सर

blog

अति विकसित मुलुकमा बालबालिकामा लाग्ने क्यान्सरमध्ये करिब ८० प्रतिशतको सफलतापूर्वक उपचार सम्भव हुन्छ । अत्याधुनिक औषधोपचार र प्रभावित व्यक्तिको उच्चस्तरीय स्याहारसुसारका कारण पनि यो सम्भव भएको भन्न सकिन्छ तर विडम्बना संसारभरिका क्यान्सर ग्रसित बालबालिकामध्ये केवल १० प्रतिशत मात्र ती देशमा छन् । अर्थात् बहुसङ्ख्यक यस्ता बिरामी विकासोन्मुख वा विकासशील देशमा छन् । 

सबै प्रकारका क्यान्सरबाट प्रताडित व्यक्ति (बालबालिका र वयस्क) मध्ये केवल एक प्रतिशत मात्र बालबालिका छन् । त्यसो भएर पनि बालबालिकामा लाग्ने क्यान्सरको समस्यालाई ठूलो बोझका रूपमा लिने गरिएको छैन । १४ वर्षसम्मकालाई बालबालिकाको उमेर समूहमा राखिन्छ तर निदान विधि, उपचार विधि एवं स्याहारसुसारको सहजताले गर्दा कहिलेकाहीँ १५ देखि १९ वर्षसम्मका किशोरलाई पनि यसै समूहमा राखी उपचार गरिन्छ ।

बालबालिकामा लाग्ने क्यान्सरका लक्षणको हकमा कुन अङ्गमा क्यान्सर लागेको छ सोही अनुसार लक्षण देखा पर्छन् । बालबालिकामा धेरैजसो लाग्ने क्यान्सरमा रक्तक्यान्सर ल्युकेमिया (३२ प्रतिशत), केन्द्रीय स्नायु प्रणालीको ट्युमर (१८ प्रतिशत), हज्किन्स डिजिज (११ प्रतिशत), ननहज्किन्स लिम्फोमा (चार प्रतिशत), न्युरोब्लास्टोमा (छ प्रतिशत) विल्म्स ट्युमर (पाँच प्रतिशत), मांसपेशी एवं अस्थिपञ्जरको क्यान्सर (समान तीन प्रतिशत) एवं आँखाको क्यान्सर (तीन प्रतिशत) हुन् । 

रक्तक्यान्सर  

बालबालिकामा अधिकतर हुने क्यान्सर हो यो । त्यसमध्ये पनि एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) खालको रक्तक्यान्सर एकदेखि १० वर्ष उमेर समूहका तथा बढीजसो केटा, गोरा जातिमा लाग्ने गर्दछ । बालबालिकामा रक्तक्यान्सर लाग्दा जिउ दुख्ने, अमन हुने, हल्का ज्वरो आउने, पहेँलो फुस्रो देखिने, ठाउँ ठाउँमा रगतका टाटा देखापर्ने, हड्डीमा पीडा हुने, अस्वाभिविक रूपमा तौल घट्ने हुन्छ । शारीरिक जाँचको क्रममा लिम्फनोड बढेको, कलेजो एवं फियो सुन्निएको देखिन्छ । रक्तक्यान्सर लागेको शङ्कास्पद अवस्थामा रगतको पूर्ण जाँचबाट यसको निदान गर्न सकिन्छ ।

केन्द्रीय स्नायु प्रणालीको ट्युमर 

यो बालबालिकामा लाग्ने दोस्रो प्रमुख क्यान्सर हो । मस्तिष्क एवं स्नायु प्रणालीमा क्यान्सर हुँदा झट्का लाग्ने, कम्पन छुट्ने, हातगोडाको चाल अनियन्त्रित हुने, हिँडडुलमा समस्या हुने हुन्छ । मस्तिष्कभित्र पलाएको क्यान्सरका कारण मस्तिष्कको मुख्य भाग (ब्रेन स्टेम) मा दबाब बढ्न गयो भने क्रेनियल नर्भ भनिने विशेष प्रकारका स्नायुमा असर पर्न जाँदा दृष्टि, श्रवण, स्पर्श, स्वादलगायतका छ थरीका इन्द्रीय गुणमा बाधा पुग्न जान्छ ।

हज्किन्स डिजिज 

हज्किन्स डिजिज नामक क्यान्सर, यसलाई हज्किन्स लिम्फोमा पनि भनिन्छ, मानव शरीरको लिम्फोटिक प्रणालीको क्यान्सर हो । यस क्यान्सरलाई क्लासिकल (जुन ९५ प्रतिशत) र नोडुलर गरी बाँडिन्छ । हज्किन्स लिम्फोमा बालबालिका उमेरमा सुरु भई किशोरावस्थामा उच्चमा पुग्ने गर्छ । शरीरको कुन भागको लिम्फ प्रणाली प्रभावित भएको छ सोही अनुसारका लक्षण देखा पर्छ । जस्तै घाँटीमा पीडारहित गिर्खा आउने, मध्य छातीमा दबाबका कारण निरन्तर खोकी लाग्ने, फियो बढ्ने, कसै कसैमा काखी वा काछको लिम्फनोड बढ्ने, लागछोड ज्वरो आउने, राति लुगा पूरै भिजिने गरी ज्वरो आउने, अमन हुने, १० प्रतिशतभन्दा बढी तौल घट्ने, थकाइ लाग्ने, चिलाउने हुन्छ । शङ्का लागेमा सम्बन्धित ठाउँको बायोप्सी लिई यो क्यान्सर निदान गर्न सकिन्छ ।

ननहज्किन्स लिम्फोमा

यसमा विशेषतः रगतको श्वेत रक्तकोषहरू अनियन्त्रित तवरमा वृद्धि हुन्छन् । यस क्यान्सरका विभिन्न उपसमूह छन् । त्यसमध्ये बिटा सेल लिम्फोमा र फोलिकुलर लिम्फोमा चाहिँ बढीजसो हुने गर्छ । उमेर भएका बालबालिकामा लाग्ने यस क्यान्सरमा यदि पेट प्रभावित भएमा पेट दुख्ने, उल्टी आउने, पखाला लाग्ने, पेटमा डल्लो आउने, आन्द्राभित्र आन्द्रा छिर्ने हुन्छ । छातीको मध्यभाग प्रभावित भएमा सास फेर्न निकै सकस हुने, मुख्य धमनी (सुपेरियर भेनाकाभा) नामक अवरोध भए सोही अनुसारका लक्षण देखा पर्ने गर्दछ । 

यदि घाँटी र टाउको प्रभावित भए त्यहाँ डल्लो आउने, क्रेनियल स्नायु प्रभावित भएर प्रभावित भाग लाटो हुने, नाक बन्द हुने, दृष्टि तथा श्रवणमा समस्या आउने गर्छ ।

न्युरोब्लास्टोमा 

मस्तिष्कबाहिर हुने ठोस प्रकारको यो ट्युमर प्रायः बालबालिकालाई लाग्दछ । ट्युमर भएको ठाउँको काममा बाधा पुग्ने, अमन हुने, पेट दुख्ने, उल्टी आउने, पेट फुल्ने हुने हुन्छ ।

विल्म्स ट्युमर (मिर्गौलाको क्यान्सर)

यो पेटमा डल्लोको रूपमा प्रस्तुत हुन्छ । यसमा पेट दुख्ने, पिसाब रातो हुने, रक्तचाप बढ्ने, ज्वरो आउने हुन्छ ।

मांसपेशी एवं अस्थिपञ्जरको क्यान्सर 

प्रायः डल्लोको रूपमा आउने यस क्यान्सरमा हातखुट्टा दुख्ने, चोटबिना पनि हातखुट्टा चलाउन गाह्रो हुने, कहिलेकाहीँ हड्डी भाँचिने, पीडाकै कारण राति निद्राबाट ब्युँझिने हुन्छ । 

आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) बालबालिकामा आँखाको क्यान्सर लाग्दा अँध्यारो कोठामा आँखाको कालो भागमा सेतो टीका देखिने, आँखा असामान्य तवरमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हुँदै जाने, आँखा खोबिल्टो भन्दा बाहिरतिर आउने, आँखा डेढो हुँदै जाने, आँखा सुक्दै जाने हुन्छ ।

कारक तत्व

बालबालिकामा लाग्ने कतिपय क्यान्सरको कारण ठ्याक्कै थाहा नभए पनि वंशाणुगत समस्या क्यान्सरसँग सम्बन्धित हुन्छन् । क्यान्सर प्रभावित बालबालिकाको पढाइ लेखाइमा समस्या एवं सिप सिक्ने कलामा पनि समस्या आइपर्छ । अझ वंशाणुगत वा जोखिमपूर्ण वातावरणीय तत्वको सम्मिश्रण भयो भने जोखिम झन् बढ्छ ।

वातावरणीय तत्व अन्तर्गत विकिरणको सामीप्यता भएको वा पहिले केमोथेरापी पाएको छ भने जोखिम बढ्छ । यसका अतिरिक्त  बालबालिकाको उमेर, लिङ्ग, जातीयता र वर्गले पनि भूमिका खेल्छ । सानो उमेरमा प्रति १० लाखमा २४० बालबालिकालाई प्रतिवर्ष क्यान्सर लाग्ने सम्भावना हुन्छ भने यो दर पाँचदेखि नौ वर्षमा १२८ हुन्छ । त्यसै गरी बालकमा हल्का बढी हुन्छ । 

निदान एवं उपचार 

बालबालिकामा लाग्ने क्यान्सरको निदानका लागि प्रभावित अङ्ग अनुसार रगत पिसाब जाँच, अल्ट्रासाउन्ड, बायोप्सी, छाती, पेट तथा हड्डीको एक्सरेको आवश्यकता हुन्छ । बालबालिकामा लाग्ने जुनसुकै क्यान्सर भए पनि उपचारको हकमा बहुविधागत विज्ञहरू (विशेषज्ञ चिकित्सक, नर्स, सामाजिक कार्यकर्ता, थेरापिस्ट) बीच समन्वय आवश्यक रहन्छ ।

क्यान्सरको प्रकार र गम्भीरता अनुसार उपचार भिन्न भिन्न तवरले गरिन्छ । साधारणतः शल्यक्रियाबाट प्रभावित भाग निकाल्ने, केमोथेरापी दिने, रेडियोथेरापी गर्ने, इम्युनोथेरापी दिने जस्ता विकल्प हुन्छन् । उपचार विकल्प बढ्दै छन् । त्यसैले पनि पाँच वर्ष बाँच्ने सम्भावना ८५ प्रतिशतसम्म भएको छ तर पनि क्यान्सरको प्रकार, क्यान्सर सुरु हुँदा प्रभावितको उमेर, क्यान्सर प्रभावित भाग, क्यान्सरको चरण एवं वंशाणुगत तत्वको उपस्थितिमा यो भर पर्दछ । 

के हो लिम्फाटिक प्रणाली 

मानिसलगायत स्तनधारी प्राणीमा रक्तसञ्चार प्रणाली जस्तै शरीरभरि नै श्वेत तरल पदार्थ प्रवाह हुने अर्को च्यानल (प्रणाली) छ । जसले शरीरका विभिन्न भागको रक्तसञ्चार प्रणालीबाट चुहिएर आएको लिम्फ (श्वेत तरल पदार्थ, सेतो रगत) लाई सङ्कलित गरी मुटुमा जोडिएको ठूलो शिरामार्फत फेरि रक्तसञ्चार प्रणालीमै फर्काइदिन्छ । खासमा लिम्फाटिक प्रणालीको मुख्य काम शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित भए पनि यस प्रणालीले शरीरभरिको तरल पदार्थ सन्तुलनमा राख्न तथा खानामा रहेको चिल्लो पदार्थलाई पाचन प्रणालीमार्फत सोसेर यसको खपत गराउन पनि मद्दत गर्दछ ।

लिम्फाटिक प्रणाली मातहतमा टन्सिल, थायमस, फियो, हड्डीभित्रको रगतमासी, लिम्फ नलीहरू र लिम्फनोड पर्दछन् । लिम्फनोड भनेको चाहिँ मुख्य मुख्य जक्सनमा अवस्थित गिर्खा जस्तो वस्तु हो । यसले सम्बन्धित क्षेत्रबाट सङ्कलित लिम्फलाई फिल्टर गर्ने तथा त्यस्तो सङ्कलित लिम्फमा शरीरका लागि हानिकारक वस्तु वा किटाणु छ भन्ने छुट्याउने र त्यहीँ नष्ट पार्ने गर्दछ । 

उदाहरणका लागि दायाँ वा बायाँ हात, पाखुराबाट सङ्कलित लिम्फ काखीमा रहेको लिम्फनोडमा सङ्कलित गर्ने तथा त्यहाँ सफा पारेर मुटु (रक्तसञ्चार प्रणाली) तर्फ पठाउँछ । त्यसो भएर यदि हात, पाखुरामा पिलो वा कुनै सङ्क्रमण भएको छ भने सोही भागको लिम्फनोडमा किटाणु एवं विकार आइपुग्ने र त्यहाँ किटाणुलाई नष्ट गर्ने प्रक्रियामा उक्त लिम्फनोड नै सुन्निने हुन्छ । हात, पाखुराको जस्तै टाउको क्षेत्रको घाँटीमा, गोडातिरको काछमा, दाँत वा मुखभित्रको बङ्गारामुनि, कानको कान अगाडि, आन्द्रा एवं शरीरको आन्तरिक अङ्गहरू नजिकै ठाउँ ठाउँमा यस्ता लिम्फनोडहरू अवस्थित हुन्छन् । 

सङ्क्रामक वस्तु जस्तै क्यान्सर लागेका व्यक्तिको सम्बन्धित अङ्गसँगैको लिम्फनोडले क्यान्सरका कोषहरू पनि छान्ने, रोक्ने हुनाले गम्भीर प्रकारका क्यान्सर कति फैलिसक्यो भन्ने विश्लेषण गर्ने क्रममा नजिकैको लिम्फनोडमा क्यान्सरका कोषको उपस्थितिलाई आधार मानिन्छ । हात्तीपाइले रोगमा सङ्क्रामक रोगाणु एवं यसका अवयवले यस्तै लिम्फनोड (विशेषतः काछको) मा निकै अवरोध पु¥याउनाले लिम्फ प्रवाहमा समस्या आएर खुट्टा हात्तीको जस्तै सुन्निन थाल्छ । 

–युवामञ्च   

  

Author

प्राडा सुमनराज ताम्राकार