• २७ पुस २०८१, शनिबार

अस्पताल सञ्चालनमा ढिलाइ

blog

बबई गाउँपालिका–३ हंसपुरमा निर्माण भएको आधारभूत अस्पतालको भवन । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, भदौ १८ गते । दाङको बबई गाउँपालिका–३ हंसपुरमा १५ शय्याको आधारभूत अस्पताल तयार भएको छ । जनतालाई पालिकामै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने गरी करिब १२ करोडको लागतमा गत आर्थिक वर्षमा भवन तयार भए पनि सञ्चालन हुन सकेको छैन । 

अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालन हुन सकेको छैन । अस्पताल सञ्चालन नहुँदा अस्पतालका लागि निर्माण भएको भवनबाट अहिले स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा अस्पतालको भवन तयार भए पनि आधारभूत अस्पताल सञ्चालन गर्न नसकेको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री बताउनुहुन्छ ।

अस्पताल सञ्चालनका लागि पालिकाले नै जनशक्ति व्यवस्थापन गर्नुपर्ने भए पनि पालिकाको खर्चले धान्न नसक्ने अवस्था रहेकाले सङ्घीय सरकारसँग सहयोग आवश्यक रहेको बबई गाउँपालिका अध्यक्ष खत्री बताउनुहुन्छ । गाउँपालिकामा निर्माण भएको अस्पताल सञ्चालनका लागि जनशक्तिको व्यवस्था गरिदिन माग गरे पनि त्यस अनुसारको जनशक्ति नहुँदा अस्पताल सञ्चालन गर्न नसकेको भन्दै गाउँपालिका अध्यक्ष खत्रीले भन्नुभयो, "पालिकाका जनतालाई आधारभूत स्वास्थ्य पुर्‍याउने उद्देश्य अनुसार अस्पतालको भवन निर्माण भएको छ तर जनशक्ति, आवश्यक उपकरण र औषधीको अभावमा अस्पताल सञ्चालन गर्न सकेका छैनौँ ।" 

पालिकामा आधारभूत अस्पताल सञ्चालन नहुँदा उपचारका लागि तुलसीपुर आउनुपर्ने स्थानीयलाई बाध्यता छ । गाउँमै विशेषसहितको अस्पताल सञ्चालन भए उपचारका लागि तुलसीपुर जानुपर्ने बाध्यता हट्ने हंसपुर निवासी सीता मगर बताउनुहुन्छ । सामान्य बिरामी हुँदा स्वास्थ्य चौकीमै उपचार हुने भए पनि ठुला चोटपटक, एक्स-रे लगायतका गर्नुपर्ने अवस्था आए तुलसीपुरै जानुपर्ने बाध्यता रहेको भन्दै मगरले पालिकामै अस्पताल सञ्चालन भए आफू जस्ता नागरिकका लागि सहजता हुने बताउनुहुन्छ । 

पालिकामा आधारभूत अस्पताल सञ्चालनको तयारी भए पनि विभिन्न प्राविधिक समस्याका सञ्चालनमा ढिलाइ भएको बबई गाउँपालिका स्वास्थ्य संयोजक हरिबहादुर खड्का बताउनुहुन्छ । भवन निर्माण गर्ने काम भइसकेकाले चाँडै नै आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको बताउनुहुन्छ । 

सङ्घीय सरकारको नियम अनुसार आधारभूत अस्पतालमा तीन जना विशेषज्ञ डाक्टरसहित ३० जना स्वास्थ्यकर्मीको दरबन्दी छ ।  आवश्यकता अनुसार स्थानीय तहले जनशक्ति र आवश्यक सामग्री व्यवस्थापन गर्नुपर्नेछ । आर्थिक स्रोत राम्रा भएका पालिकाले सञ्चालन गरे पनि कमजोर भएका स्थानीय तहलाई अस्पताल सञ्चालन गर्न सकस रहेको भन्दै गाउँपालिका अध्यक्ष खत्रीले भन्नुभयो, "जनतालाई पालिकामै स्वास्थ्य सेवा दिने गरी अस्पताल निर्माण गरेका हौ तर अहिले खर्च धान्न सक्ने अवस्था छैन । जसले गर्दा अस्पताल सञ्चालन गर्न ढिलाइ भइरहेको छ ।"