• १७ भदौ २०८१, सोमबार

सहमति नपाउँदा बनेन पुल

blog

महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि मन्त्रालय धाउदै पञ्चेश्वरका जनप्रतिनिधि तस्बिर: गोकर्ण दयाल ।

बैतडी समाचारदाता  

बैतडी, भदौ १७ गते ।   महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि स्थानीयवासी ११ पटक परराष्ट्र मन्त्रालय पुगेका छन् तर पनि सहमति प्राप्त हुन सकेको छैन । आठ वर्षअघि नै झोलुङ्गे पुलको विस्तृत अध्ययन प्रतिवेदन तयार भए पनि भारतको सहमतिका लागि पहल नहुँदा पञ्चेश्वरस्थित महाकाली नदीमा पुल बन्न नसकेको हो ।  

पञ्चेश्वर गाउँपालिका–१, रोलघाटस्थित महाकाली नदीमा पुल नहुँदा नेपाल–भारत दुई देशका नागरिक जोखिम मोलेर डुङ्गा तर्दै आइरहेका छन् । नदीमा डुङ्गा पल्टिँदा दर्जनौँले ज्यान गुमाइसकेका छन् । गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले हरेक निर्वाचनका बेला महाकाली नदीमाथि झोलुङ्गे पुल बनाउँछौँ भन्ने वाचा गरेर चुनाव जिते पनि मतदाताको माग पूरा गर्न नसकिएको बताउनुभयो । करिब डेढ करोड रुपियाँ लागतमा बन्ने भनिएको पुलको लम्बाइ १५५ मिटर लामो हुने छ । भारतको सहमति प्राप्त हुन सके गाउँपालिकाकै लगानीमा पुल बनाउन सकिने पालिका अध्यक्ष चन्दले बताउनुभयो । 

पुलका लागि वाम गठबन्धनको सरकारका पालामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थलगत निरीक्षण गरेर भारतको सहमतिका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो । त्यसयता पुल निर्माणको सहमतिका लागि स्थानीयवासी ११ पटक सङ्घीय मामिला र परराष्ट्र मन्त्रालय पुगिसकेका छन् । पुल निर्माणको सहमतिका लागि कुनै पहल नभएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पञ्चेश्वर बहुउद्देश्यीय परियोजना स्थलभन्दा पाँच सय मिटर तल पुल बनाउने स्टिमेट तयार गरेका छौँ ।”

पुलको दायाँ भाग भारततर्फ र बायाँ नेपालतर्फ बन्ने भएकाले भारतको सहमति आवश्यक परेको छ । स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा सबैले पुल बनाउने वाचा गरेर पञ्चेश्वरवासीसँग मत मागिसक्नुभएको छ । अब झोलुङ्गे पुल बनेन भने अर्को पटक कसैले पनि भोट माग्न सक्ने अवस्था नभएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी डुङ्गा र ट्युबका माध्यमबाट जोखिम मोलेर नदी तर्दै आइरहेका छन् । नेपाल–भारत वारिपारि रोटीबेटीको सम्बन्ध छ । योबाहेक देवीदेवताको पूजापाठ पनि संयुक्त रूपमा हुने गरेको छ । पञ्चेश्वरमा रहेको प्रसिद्ध देउताल र गणमेश्वर मन्दिरको दर्शनका लागि भारतबाट हजारौँ तीर्थयात्री डुङ्गा चढेर नेपाल आउने गर्छन् ।