• १७ भदौ २०८१, सोमबार

बाँधले जोगियो लालबोझी

blog

तस्बिर: गोरखापत्र

धनगढी समाचारदाता

धनगढी, भदौ १७ गते । कान्द्रा नदीबाट बर्सेनि कटान र डुबान समस्या झेल्दै आएको लालबोझीको बाढी प्रभावित क्षेत्र यस वर्ष ठुलो क्षति हुनबाट जोगिएको छ । 

तटबन्धसहितको बाँध बनेपछि कैलालीको भजनी नगरपालिका–५ मा रहेको लालबोझीले यस वर्ष कटान समस्या भोग्नु नपरेको हो । सो क्षेत्रमा हुलाकी राजमार्गसमेत कटान भएपछि सङ्घीय सरकारको लगानीमा सडक डिभिजन कार्यालयमार्फत तटबन्धसहितको बाँध बनिरहेको छ ।

बाँध निर्माणको काम अझै पूरा नभए पनि यस वर्ष लालबोझीको बड्का पुरुवावासीले भने ठुलो राहत महसुस गरेका छन् । यो वर्ष अहिलेसम्म उनीहरूले विगतका वर्ष जस्तो कटान र डुबान समस्या भोग्नु परेको छैन । तटबन्ध र बाँधका कारण लालबोझीको बड्का पुरुवा सुरक्षित भएको स्थानीय खोजराम चौधरीले बताउनुभयो । 

उहाँका अनुसार तटबन्धले कटान नियन्त्रण गरेको छ भने बाँधले यस वर्ष कान्द्राको बाढी बस्तीमा पस्नबाट रोकेको छ । चौधरीले भन्नुभयो,  “तटबन्धसहितको अग्लो बाँधका कारण बड्का पुरुवा जोगिएको छ ।”

बस्तीनजिकबाटै बग्ने कान्द्रा नदीले विगतमा लालबोझीलाई धेरै दुःख दिएको थियो । नदी कटानका कारण कैयौँ परिवारको यसअघि नै उठिबास भइसकेको छ । बाढी आएपछि नदीको धार बस्तीमा सोझिने गरेको थियो तर यस वर्ष तटबन्धसहितको बाँधले लालबोझीको बड्का पुरुवावासीको अनुहारमा खुसी ल्याएको छ । अत्यधिक कटान हुने क्षेत्रमा कटान नियन्त्रण भएको छ भने कान्द्रा नदीको बहाव पनि बस्तीतर्फ जानबाट रोकिएको छ । 

बाँध बनाइएको क्षेत्र यस वर्ष बाढी विपत्बाट जोगिएको वडाध्यक्ष केशवबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “कटान नियन्त्रण भएको छ भने ड्यामका कारण कान्द्राको धार बस्तीतर्फ जान पाएको छैन ।”

सङ्घीय सरकारको १३ करोड ७८ लाख रुपियाँ लगानीमा तटबन्धसहित बाँध बनिरहेको जनाइएको छ । बाँध बनिरहेको क्षेत्रमा कटान नियन्त्रण र कान्द्राको धार जान रोकिए पनि लालबोझीकै छुट्की पुरुवाको कटान र डुबान समस्या भने नरोकिएको जनाइएको छ । 

भदौ पहिलो साताको बाढीमा छुट्की पुरुवाका सबै घर डुबानमा परेको स्थानीयवासी खोजराम चौधरीले बताउनुभयो । उहाँले डुबान र कटान रोक्नका लागि छुट्की पुरुवा क्षेत्रमा पनि तटबन्धसहितको बाँध निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूरै लालबोझी जोगाउने हो भने छुट्की पुरुवातर्फ पनि तटबन्धसहितको ड्याम बनाउन आवश्यक छ ।”