• १६ भदौ २०८१, आइतबार

बिरेखोला झरना आकर्षक गन्तव्य

blog

बडीमालिका नगरपालिकामा रहेको बिरेखोला झरना । तस्बिर : रामबहादुर विक

मार्तडी समाचारदाता

मार्तडी, भदौ १६ गते  । बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको बिरेखोला झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक बन्दै गएको हो ।  

प्राकृतिक वरदानको नमुना बिरेखोला झरना प्राचीनकालदेखि नै यसरी बग्ने गरेको बताइएको छ । उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको झरना केही वर्षयता सामाजिक सञ्जालमा चर्चित छ । करिब तीन सय मिटर अग्लो बिरेखोला झरना हेर्न प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । एक दिनमा करिब दुई सय पर्यटक झरनामा रमाउन आउने गरेको वडाध्यक्ष कृष्ण खड्काले बताउनुभयो । 

उहाँका अनुसार झरनालाई पर्यटकीय गन्तव्य बनाउन बडीमालिका नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेर डिपिआरसमेत तयार पारिएको छ । पालिकाको बजेटले मात्र व्यवस्थापन गर्न नसकिने भएका कारण सङ्घ र प्रदेश सरकारसँग थप बजेटको पहल भइरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । 

बिरेखोला झरनालाई थप आकर्षक बनाउन पालिकाले थोरै संरचना बनाएको छ । उहाँले भन्नुभयो, “अहिले यहाँको झरनामा फोटो खिच्ने, भिडियो र टिकटक बनाउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।” 

झरना हेर्नका लागि बिदाबाहेकका दिनमा दैनिक सयको हाराहारीमा पर्यटक आउने गर्छन् । शुक्रबार र शनिबार भिड नै लाग्ने गरेको छ । झरनामा आउने पर्यटकको सङ्ख्या बढेसँगै झरनासम्म पुग्न सुरक्षित र व्यवस्थित बाटो निर्माण गरिएको छ । 

बिरेखोला झरना हेर्न जाने पर्यटकका लागि २० रुपियाँ शुल्क (टिकट) को व्यवस्था गरिएको छ । यसरी सङ्कलित रकम २५ प्रतिशत नगरपालिका, ४५ प्रतिशत त्यहाँ काम गर्ने कर्मचारी र ३० प्रतिशत रकम झरनाको व्यवस्थापनमा छुट्याउने गरिएको छ । 

झरनाको संरक्षण र प्रवर्धन गर्न नसकेमा ओझेलमा पर्न सक्ने यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । झरनानजिक पुग्नेहरू छङ छङ पानीको आवाज र त्यहाँ देखिने इन्द्रेणीमा घण्टौँसम्म रमाउने गर्छन् । अग्लो झरनामा लाग्ने इन्द्रेणीले घण्टौँ बितेको पत्तै नहुने अछामबाट आएका रामबहादुर बोगटीले बताउनुभयो ।