मुलुकको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक स्थापित गरेको छ । वातावरण प्रदूषण गराएर कसैले क्षति पुर्याएमा पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकसमेत संविधानमा छ । संवैधानिक हकको व्यवस्था हुँदाहुँदै पनि मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने काम भने हुँदै आएका छन् । जनसङ्ख्याको तीव्र वृद्धि, सहरीकरण, तीन तहका सरकारको भिन्न शासकीय शैली तथा समन्वय अभावलगायतले खास गरी फोहोरमैला व्यवस्थापन कार्य जटिल बन्दै छ । अधिकांशको चाहना स्वच्छ र सफा वातावरणमा बस्ने हुँदाहुँदै पनि आफू भने कुनै किसिमको दायित्व निर्वाह गर्न नचाहने प्रवृत्तिका कारण फोहोर व्यवस्थापन सकसपूर्ण बन्दै गएको छ । खास गरी सहर बजारमा घना जनसङ्ख्या हुनाले फोहोरमैला पनि स्वाभाविक रूपमा बढी जम्मा हुने र व्यवस्थापन गर्न सकस पर्ने गरेको देखिन्छ । त्यसो त फोहोरमैला व्यवस्थापनमा केही स्थानीय तह अब्बल देखिएका पनि छन् । यस्तैमध्येमा धनकुटा नगरपालिकाले फोहोरमैलाको सफल व्यवस्थापन गरेर चर्चा पाउनुका साथै नमुना अवलोकन केन्द्र बनेको छ ।
काठमाडौँ उपत्यका मात्र नभएर मुलुकका नगरउन्मुख सहरहरूमा उत्पादन हुने फोहोर व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै छ । ल्यान्डफिल साइट निर्माण गर्न स्थानीयले अवरोध गर्ने, पहुँचमार्ग निर्माण गर्न नदिने तथा बनाइएका ल्यान्डफिल साइटलाई पनि व्यवस्थित गर्न नसक्दा वातावरण नै दुर्गन्धित बन्ने गरेका छन् । फोहोरमैला व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहमा आइसकेपछि पनि यस्ता समस्या रहिरहेकै छन् । फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्धित, किरा र झिँगाले घेरिएको जानै नसकिने ठाउँका रूपमा कल्पना गरिन्छ तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र भने पर्यटक घुम्न जाने थलोका रूपमा विकसित हुनु उदाहरणीय पक्ष बनेको छ । धनकुटाको सल्लेरी वनको बिचमा नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्र स्थापना गरेको र फोहोरमाथि नै आकर्षक बगैँचा बनाउन सफल भएको हो । बर्सैभरि मौसम अनुसारका फूल फुल्ने मात्र होइन, स्थानीय जातका फलसमेत लगाइएको छ । फोहोर व्यवस्थापनको यस किसिमको सफल कार्य अवलोकन गर्न मुलुकका विभिन्न स्थानबाट बर्सेनि सयौँ व्यक्ति तथा समूह पुग्ने गरेका फोहोर व्यवस्थापन केन्द्रका कर्मचारीको भनाइले पुष्टि हुन्छ ।
धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन सानो प्रयासले मात्र नमुनायोग्य बनेको भने होइन । केन्द्रका कर्मचारी फोहोर सङ्कलन गर्न प्रत्येक बिहान टोल टोलमा पुग्ने गरेका छन् । फोहोरमैला व्यवस्थापन केन्द्रमा जम्मा गरेर फोहोरलाई छुट्याउने काम हुन्छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि २२ जना कर्मचारी र आवश्यक सवारीसाधनको व्यवस्थापन गरेको देखिन्छ । नगरपालिकाको वातावरण शाखाका अनुसार विसं २०६६ देखि २०७० सम्ममा जम्मा भएको फोहोर कुहिएर मल बनेपछि त्यस स्थानलाई फूलबारीका रूपमा विकास गरिएको हो । यो ठाउँ धनकुटा घुम्न आउने र फोहोर व्यवस्थापनका क्षेत्रमा चाख राख्नेहरूको रोजाइमा पर्ने गरेको छ । यसै स्थानमा स्थानीय क्लब, समूह तथा कार्यालय प्रमुखहरूको बैठकसमेत सञ्चालन हुने गरेको यथार्थ अन्य स्थानीय तहले पनि मनन गर्नुपर्ने देखिन्छ ।
कुल ३० रोपनी क्षेत्रफलमा निर्माण गरिएको फोहोर व्यवस्थापन केन्द्रमा नगरपालिका क्षेत्रबाट सङ्कलन भएको फोहोरलाई ४५ वर्षसम्म सहजै धान्न सक्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाको भनाइ छ । नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने ग्यास उत्सर्जनरहित ल्यान्डफिलले स्वच्छ, सफा र हरित सहर निर्माणमा सहयोग पुगेको छ । बजारबाट करिब पाँच सय तथा गाउँकै छेउमा भएर पनि फोहोर व्यवस्थापन केन्द्रको विषयमा न विरोध नै भएको छ, न त अवरोध उत्पन्न गरिएको छ । कुहिने जति फोहोर घरमै व्यवस्थापन गर्ने र तत्काल नकुहिने फोहोर मात्रै सङ्कलन गर्ने गरिएको केन्द्रले जानकारी गराएको हो । ल्यान्डफिल साइट बन्नुअघि स्थानीयले घुमाउने चौतारा क्षेत्र र बजारकै गोकुन्डे खोलामा जथाभाबी थुपार्ने गरेको फोहोरले बजार क्षेत्र दुर्गन्धित भएपछि खोजिएको उपाय सफल भएर मुलुकमै नमुनायोग्य बन्दा स्थानीयले समेत गर्वबोध गरेको अनुभव हुन्छ । दैनिक १६ टन फोहोर सङ्कलन हुनेमा चार टन स्थानीयले नै सङ्कलन गरेर कम्पोस्ट मल बनाउने गरेका छन् भने १२ टन फोहोर मात्र केन्द्रमा व्यवस्थापन हुने गरेको छ । सङ्कलित फोहोरलाई नगरपालिकाले व्यापारीमार्फत छुट्याएर प्रतिकिलो तीन सयदेखि सात सय रुपियाँसम्ममा बिक्री गरेर आम्दानीसमेत गर्दै आएको छ । फोहोर व्यवस्थापनकै कारण धनकुटा नगरपालिका १० वर्षयता सफा नगरका रूपमा पुरस्कृत तथा सम्मानित हुँदै आउनुले अन्य स्थानीय तहले पनि यसलाई उदाहरणका रूपमा लिन आवश्यक देखिन्छ ।