• १६ भदौ २०८१, आइतबार

योजनामा लाखौँ खर्च बनेन विद्यालय भवन

blog

जीर्ण अवस्थामा रहेको निङ्लासैनी आधारभूत विद्यालय ।

गोकर्ण दयाल

बैतडी, भदौ १२ गते । डिलासैनी गाउँपालिका–६, नेगाउँमा रहेको एक विद्यालयको भवन निर्माणका लागि माग गरिएको रकम भवन नै नबनाई पाँच वर्षअघि नै खर्च भइसकेको पाइएको छ । निङ्लासैनी आधारभूत विद्यालयको चारकोठे भवन निर्माणका लागि आठ लाख ४८ हजार रुपियाँ खर्च भएको पाइएको छ । गाउँपालिकाले पाँच वर्षअघि नै ठेक्का सम्झौता गरी उक्त रकम खर्च भएको तथ्य बाहिर आएपछि अभिभावक चकित परेका छन् । 

निङ्लासैनी आधारभूत विद्यालयको भवन निर्माणका लागि गाउँपालिकाले सङ्घीय सरकारको अनुदानमा आर्थिक वर्ष २०७७/७८ मा ४१ लाख ८१ हजार ४७२ रुपियाँको ठेक्का सम्झौता गरेको थियो । भवन निर्माण सुरु गर्न पेस्कीबापत यतिको रकम दिएको खुलेको छ । 

विद्यालय भवन निर्माणका लागि भने निर्माण व्यवसायी अहिलेसम्म विद्यालयमा नआएको विद्यालयका प्रधानाध्यापक मोहनबहादुर बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवन निर्माणका विषयमा गाउँपालिकाले विद्यालय परिवारलाई कुनै जानकारी दिएको छैन ।’’

विसं २०४९ मा टिनको छाना राखेर श्रमदानबाट निर्माण भएको भवन जीर्ण बनेको छ । पानी परेका दिन कक्षाकोठा हिलाम्मे हुन्छन् र पठनपाठन बन्द हुने गरेको छ । छाना र भित्ताबाट पानी चुहिँदा शिक्षक र विद्यार्थीको ज्यान जोखिममा हुने गरेको छ ।   

साबिकको गोकुलेश्वर गाविस र स्थानीय अभिभावकको श्रमदानमा निर्माण भएको उक्त विद्यालय भवन अहिले पूर्ण रूपमा जीर्ण बनेको छ । गाउँपालिकासँग नयाँ भवन निर्माणको माग राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर मालले बताउनुभयो । उहाँले भन्नुभयो, “भवनका लागि गाउँपालिका धाउँदा कागजमा भवन बन्दै गरेको देखियो । निर्माणको काम सुरु गर्न गाउँपालिकाले पेस्की रकम पनि दिएको पायौँ । यथार्थमा विद्यालय भवन बनाउन कुन ठेकेदारलाई पेस्की दिएको हो भन्ने थाहा छैन ।” 

नेगाउँमा रहेको निङ्लासैनी आधारभूत विद्यालय एउटा मात्र हाइस्कुल हो । अन्यत्र गएर पठनपाठन गर्न बालबालिकालाई घण्टौँ हिँड्नुपर्ने हुन्छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर बोहराले अघिल्लो पटकका प्रशासकीय अधिकृतको पालामा भवन निर्माणको ठेक्का लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदार को हो भन्ने कुरा मलाई पनि थाहा छैन । अहिले गाउँपालिकाको लेखापरीक्षण चलिरहेको छ । यो काम सकिनेबित्तिकै ठेकेदारबाट पेस्की रकम असुल गर्न पहल गर्छौं ।”

विद्यालय भवन निर्माणका लागि आएको रकम वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिसँग समन्वय नै नगरी पाँच वर्षअघि नै पेस्कीस्वरूप खर्च भएको घटना लज्जास्पद भएको अभिभावक बताउँछन् । विद्यालयको भवन माग्न जाँदा वर्तमान प्रमुख प्रशासकीय अधिकृतले अघिल्लो सरकार र अघिल्ला हाकिमको दोष देखाउने गरेको अभिभावकले गुनासो गरेका छन् ।