• १६ भदौ २०८१, आइतबार

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला

blog

काठमाडौँ, भदौ १२ गते  । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ ।  

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । 

उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ । 

उपत्यकाबाहिरका उद्यमीलाई अनलाइनबाट आवेदन दिन सहज होस् भनेर अनलाइनमार्फत आवेदन दिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । गत वर्ष उद्यमीले भौतिक रूपमा उपस्थित भएर आवेदन दिने व्यवस्था गरिएको थियो ।  यस पटक भौतिक रूपमा उपस्थित भएर र अनलाइनबाट आवेदन दिन व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरिएको हो । 

स्टार्टअप उद्यम कर्जा लागि उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, प्राइभेट फर्म, साझेदारी फर्म कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा दर्ता भएको, वार्षिक आर्थिक कारोबार १५ करोड रुपियाँ ननाघेको, नवीन एवं सिर्जनशील सोचलाई उद्यम व्यवसायका रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको उद्यम हुनुपर्ने व्यवस्था छ । कार्यविधि अनुसार उद्यम तथा परियोजनालाई धितो मानेर तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन सकिने छ । कार्यविधिमा स्टार्टअप उद्यमका लागि निश्चित योग्यता तोकिएको छ । 

यस्तो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुने छ भने ढिलोमा कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्ने छ । स्टार्टअप उद्यम कर्जाको ब्याजदर वार्षिक तीन प्रतिशत हुने पनि कार्यविधिमा उल्लेख छ । कार्यविधिबमोजिम बैङ्कले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रूपमा राख्नुपर्ने छ । 

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ । सो अनुसार तोकिएको मापदण्ड पूरा गरेका सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने प्रतिष्ठानले जनाएको छ । गत आवमा १६५ उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए । गत आव स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो । 

स्टार्टअप उद्यमका क्षेत्रमा कृषि सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वनमा आधारित उद्यम,  पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम, मानव स्वास्थ्य सेवासँग सम्बधित उद्यम, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम, विद्युतीय सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित गरी १९ वटा क्षेत्र तोकिएका छन् ।