• ८ मंसिर २०८१, शनिबार

मनाइँदै गौरा, हराउँदै मौलिकता

blog

गोकर्ण दयाल 

बैतडी, भदौ ११ गते । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा धार्मिक पूजाआराधनाका साथै एकआपसमा सामाजिक सद्भाव साटासाट गरेर हर्षोल्लासका साथ मनाइएको छ । सुदूरपश्चिमका अतिरिक्त विभिन्न पेसा, व्यवसाय तथा रोजगारीको सिलसिलामा देशविदेशमा रहेका सुदूरपश्चिमेलीले गौरामाताको पूजाआजा तथा न्याउल्या र देउडा खेल खेलेर गौरा पर्व मनाएका छन् । 

पहाडी जिल्लाका गाउँबस्तीमा गौरा पर्वको चहलपहल सुरु भएसँगै यसको मौलिकता भने मासिँदै जान थालेको छ । पर्वहरूको दैलो उघार्ने चाडका रूपमा मनाइँदै आएको गौरा पर्वमा प्रसादका रूपमा ग्रहण गरिने बिरुडा (पञ्च अनाज) र दुब धागो भारतबाट आयात हुने गरेको छ । 

गौरामा लगाइने मौलिक पोसाक घाँगरो (गुन्यु), आङ्डो (चोली) को स्थान बनारसी सारीले ओगट्न थालेको छ । मौलिक गहना ठोका, पैँणा, बाला, कण्ठश्री, मुगाको माला, चवन्नी माला हराइसकेका छन् । त्यस्तै गौरा पर्वमा गाइने मागल, फाग र धमारी हराउन थालेका छन् ।  बिरुडाका लागि गाउँमै फलेको दलहन गँरुस, कलौँ ‘केराउ’ डालोमा सुरक्षित राख्ने गरिन्थ्यो । पछिल्लो समय मास, गहत, गुरुस, कलौँ (सानो केराउ) जस्ता दलहनका वस्तु उत्पादन घटेकाले बिरुडामा प्रयोग हुने वस्तु भारतबाट आयात हुने गरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो ।

पञ्चमीका दिन तामाको भाँडामा भिजाएको बिरुडा (मास, गहत, गुरुँस, केराउ, गहुँ) सप्तमीका दिन डालोमा राखेर गौरा पर्व आरम्भ हुने गर्छ । गौरा पर्वमा बिरुडाको डालोलाई पार्वतीको प्रतिमाका रूपमा व्रतालु महिलाले घाँटीमा दुबधागो लगाएर गौरा नचाउने चलन छ । आफ्नै मौलिक पर्व मनाउन पनि भारत र चीनमा निर्भर हुनुपर्ने अवस्था आउनु दुःखको कुरा भएको संस्कृतिविद् पण्डित ज्योतिष गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुडा भारतबाट आइरहेको छ । जनै र दुबधागो चीनबाट आयात भइरहेको छ ।”

जनैपूर्णिमाका दिन पुरुषले जनै फेरे जस्तै विवाहित महिलाले गौरा पर्वमा दुबधागो फेर्ने चलन छ । घाँटीमा लगाइने रातो, पहेँलो र सेतो रङको धागोलाई दुबधागो भन्ने गरिन्छ । 

यसरी मनाइन्छ गौरा

पञ्चमीका दिन व्रतालु महिलाले मौलिक कुवा र पँधेरामा स्नान गरी तामाको भाँडामा बिरुडा (क्वाटी जस्तै पञ्च अन्न) भिजाएर राख्ने गर्छन् । पञ्च अन्नको बिरुडामा कलौ, गुरुस, मास, गहत र गहुँ मिसाएर राख्ने चलन छ । बिरुडा राख्ने स्थानको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबोको टीका लगाइन्छ । पार्वतीले शिव जस्तै वर पाउन भक्ति आराधना गरेको किंवदन्ती अनुसार बिरुडा भिजाएर भगवान् शिवको आराधना गर्ने चलन छ । 

बिरुडा भिजाउने दिन माङ्गलिक गीत गाउँदै गाउँका पँधेरा÷नदीको मुहानमा बिरुडासँगै पञ्च वनस्पतिको गौरीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गरिन्छ । विवाहित महिलाले पति र सन्तानको चिरायुुका लागि गौरा पर्वमा व्रत बस्ने चलन छ । पञ्चमीका दिन बिरुडा भिजाएर षष्ठीको दिन पुनः धोइपखाली गरिन्छ । सप्तमीको दिन बजागाजा बजाएर गौराघर (मन्दिर) मा लगिन्छ भने बाँसको डालोमा टुसा पलाएको बिरुडा, सँगै तितेपाती, दुबो, धानको खेतमा पाइने स्थानीय ‘सौँ’ नामको घाँस, फलफूलमा सुन्तला, नरिवल र चुक राखेर गौरा सजाउने चलन छ । 

अठेवाली 

सप्तमीका दिन बिरुडासहित गौरालाई सजाइन्छ । महिलाले स्थानीय भाषामा गौराको माङ्गलिक गाथा गाउने गर्छन् ।

‘खेल खेल लोली गौरा देवी

धै तेरो खेल कसो छ ? 

नाच नाच गौरादेवी

धै तेरो नाच कसो छ ?’ 

उपवास बसेका महिलाले गौरादेवीको नाच सकेर सप्तमीको अपराह्न पञ्च अन्नको बिरुडाका दानाले श्रीमान्को पूजा गरेर क्रमशः घरपरिवारका सदस्यको शिर पुज्ने चलन छ । बिरुडाले पूजा गर्दा आशिष दिने चलन छ । आशिष दिँदा ‘हिमालयमा हिउँ छउन्जेलसम्म जिउनू’, ‘दुबो जस्तै फैलनू’, ‘सिलङ्गो फूल जस्तै मगमगाउनू’ जस्ता माङ्गलिक शब्द उच्चारण गर्दै आशिष दिने चलन रहेको संस्कृतिविद् चन्द्रमोहन तिवारीले बताउनुभयो । 

फल फट्काउने

महिलाले शिरमा राखेर गौरादेवी नचाइसकेपछि स्थानीय मन्दिरका पुजारी र धामीझाँक्री काम्ने गर्छन् । धामी कामेर वाणी/वचन दिँदा महिलाको भिड एकत्रित हुन्छ । धामीले बिरुडासँगै आकाशतिर फल फाल्ने गर्छन् । यसरी फल फाल्ने चलनलाई स्थानीय भाषामा ‘फल फट्काउने’ भनिन्छ । आकाशबाट खसेको फल महिलाले समात्ने गर्छन् । धामीले भिडमा फालेको फलका दाना फेला पार्ने महिलालाई पुत्रलाभ हुने जनविश्वास छ । आराधना र फल फट्काउने कार्य सकिएपछि महिला र पुरुषले देउडा खेल्ने चलन छ ।