• १६ भदौ २०८१, आइतबार

पुल नहुँदा आवतजावतमा समस्या

blog

उग्रतारा–मेलौली सडकखण्डको बसानागाड क्षेत्र ।

अमरगढी समाचारदाता

डडेलधुरा, भदौ ११ गते । उग्रतारा–मेलौली सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माण नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । सडक कालोपत्रे भए पनि खोलामा पुल बन्न नसक्दा बर्खायाममा आवतजावतमा समस्या भएको हो । यस सडकखण्डको बसानागाडमा पुल नहुँदा मोटरसाइकलमा क्षति हुने गरेको स्थानीय राम खत्रीले बताउनुभयो । एक साताअघि खोला तर्दा मोटरसाइकल बग्नबाट जोगिएको र कागजपत्र भिजेको खत्रीले बताउनुभयो । 

डडेलधुराको उग्रतारा मन्दिरदेखि बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली भगवती मन्दिरसम्म जोड्ने उग्रतारा–मेलौली सडकखण्ड निर्माण सुरु भएको करिब चार दशक बितेको छ ।

अजयमेरु गाउँपालिकाका विभिन्न वडा जोड्दै तल्लो स्वराड पुग्ने सबैभन्दा छोटो दुरीको यो सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा २०४२ सालमा निर्माण सुरु भएको थियो । यतिका वर्ष बित्दा पनि जम्मा १८ किलोमिटर मात्रै कालोपत्रे भएको छ । खोलामा पुल नहुँदा निकै सास्ती हुने गरेको छ । अटोरिक्सा चलाउँदै आएका नवराज भट्टले गाडमा पुल नहुँदा निकै समस्या भएको बताउनुभयो । पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावलका अनुसार यस सडकलाई थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्कामा लैजाने योजना छ । उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयले स्रोतमा सहमति नदिएपछि पुल निर्माणको योजना अगाडि बढ्न नसकेको हो ।”

अजयमेरु–२ का अध्यक्ष शिवराज भट्टले चालु आवमा बसना गाडमा पुल निर्माणको योजना अगाडि बढ्ने दाबी गर्नुभयो । “गत वर्ष एक करोड बजेट भएकाले प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाउन दिएन,” उहाँले भन्नुभयो, “‘चालु आवको बजेटमा पुल निर्माणको योजना राख्न लगाएका छौँ ।”

यस सडकखण्ड अन्तर्गत नौलाकोट गाडमा भने पुल बनेको छ । सुर्नया नदी र अन्य गाडमा भने पुल बन्न सकेको छैन । रातागौनदेखि ९६ किलोमिटर लामो दुरीको सडक निर्माण गर्ने कार्य जारी छ । उग्रतारा मन्दिरदेखि चमडासम्म सडक कालोपत्रे भइसकेको छ भने बैतडी खण्डमा पनि मेलौलीदेखि सुर्नया नदीको माथिसम्म कालोपत्रे भएको छ ।