• १६ भदौ २०८१, आइतबार

पर्यटक लोभ्याउँदै ‘राम हेर्ने डाँडा’

blog

बुढीगङ्गा नगरपालिका–१० को ‘राम हेर्ने डाँडा’ मा रमाउँदै पर्यटक ।

शेरबहादुर सार्की

बाजुरा, भदौ ११ गते । बुढीगङ्गा नगरपालिका–१०, बदेडा र बाहुनगाउँको बिचमा पर्ने ‘राम हेर्ने डाँडा’ ले आन्तरिक पर्यटक लोभ्याउन थालेको छ । यो डाँडामा नेपालका ११ वटा झन्डा राखिएको छ । 

प्राकृतिक भूबनोटका कारण आफैँमा रमणीय राम हेर्ने डाँडामा लहरै नेपालको झन्डा राखिएका छन् । यतिबेला यहाँ घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बुढीगङ्गा–८ का समाजसेवी कृष्णबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाह्रबिसदेखि सोलाला र सोलालादेखि बाह्रबिस आउजाउ गर्नेहरू यो डाँडामा आराम गर्ने र रमाइलो गर्ने गर्थे । त्यसै ठाउँमा झन्डा राखेर हावामा फरफराउन थालेपछि घुम्न आउने बढेका छन् ।” डाँडामा भौतिक पूर्वाधार, खानेपानी, प्रतीक्षालय, शौचालय, वनभोज स्थल निर्माण गर्न सके थप आकर्षण बढ्ने र स्थानीयको आयआर्जनमा थप टेवा पुग्ने भनाइ समाजसेवी थापाको छ । 

सिगाडा गाउँको माथिल्लो भागमा रहेको राम हेर्ने डाँडाबाट बाजुराका साथै अछाम जिल्ला पूरै अवलोकन गर्न सकिन्छ । यहाँबाट अछामको बाब्ला साँफेबगर, कुस्कोट, ठाँटी, नन्देगडालगायतका विभिन्न गाउँबस्ती देख्न सकिन्छ । 

पहिलेका पुस्ताले यो डाँडामा श्रीकृष्ण जन्माष्टमी मनाउने, देउडा खेल्ने र रमाइलो गर्ने भएकाले यसको नाम राम हेर्ने डाँडा रहेको भनाइ ज्येष्ठ नागरिकको छ । कतिपयले यो डाँडालाई ‘टोप्रो उडाउने डाँडा’ पनि भन्ने गर्छन् । 

यो डाँडामा आएकाले टाउकोमा लगाएको टोपी तलतिर फाल्दा हावाले माथि उडाएर ल्याउने गरेकाले टोप्रो उडाउने डाँडा पनि भन्ने गरेको पाइन्छ । पर्यटकीय स्थलका रूपमा विकास गर्न सके बाहुनगाउँ, बदेडा, सिगाडा, सेलापाखा, तिमाडा, नुवाकोटलगायत गाउँका स्थानीयको आयआर्जनमा थप टेवा पुग्ने निकै सम्भावना छ । 

यो डाँडामा सान्नीकोटमाईको मन्दिरसमेत छ । यस मन्दिरमा पूजा गरे इच्छा आकाङ्क्षा पूरा हुने किंवदन्ती छ । अछामको मार्कुमा रहेको सान्नीकोट मन्दिरमा पूजाआजा गर्न आउनेलाई टाढा हुने भएकाले सोही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ । बुढीगङ्गा–१० की वडा सदस्य जगु सार्कीले आन्तरिक पर्यटन विकास गर्न गत वर्ष ११ वटा झन्डा राखिएको बताउनुभयो । पर्यटकले झन्डाअगाडि उभिएर भिडियो बनाउने र फोटो खिच्ने गरेका छन् ।