• १३ साउन २०८१, आइतबार

पोखरामा चुनावी सभा

लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह

blog

तस्बिर: सन्तोष सुवेदी

रमेश पौडेल 
पोखरा, वैशाख  २५ गते  । पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् । उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन्, ‘‘देशमा विभिन्न परिवर्तन भए, ती सबै गठबन्धनकै एकतामा सफल भएको हुँदा अहिलेको चुनावमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनोस् ।’’ 

दुई पटकसम्म संसद विघटन गरेर संविधान र लोकतन्त्र मास्न खोजेका कारण नै अहिलेको गठबन्धन बनेको र तीन तहको चुनावसम्म यो एकता कायम राख्न आह्वानसमेत गरेका छन् । 

वैशाख ३० गते हुने स्थानीय तह चुनाव सन्दर्भमा पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आह्वान गर्नुभयो ।

केपी शर्मा ओलीको शासनका कारण यो गठबन्धन जन्मिएको भन्दै प्रधानमन्त्री देउवाले इमानदारितापूर्वक मतदान गर्नसमेत आग्रह गर्नुभएको छ । ‘‘प्रजातन्त्रको खिलाप र गणतन्त्रको विरोधमा लाग्नेविरुद्ध गठबन्धन आवश्यक छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो । 

 कार्यकर्तालाई सम्झाउँदै भन्नुभयो, ‘‘गठबन्धनलाई शंका उपशंका नगर्नोस्, यसअघि कांग्रेसकाे अवस्था के थियो ? देशको प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र मन्त्री बनेका छन् । यो सबै गठबन्धनकै कारण बनेका हुन् ।’’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसबाट देशलाई जोगाउन  गठबन्धन बनेको दाबी गर्नुभयो  । ‘‘स्थानीय तहको निर्वाचन मात्र होइन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन अघि बढ्छ । सबैलाई फाइदा हुने भएकोले दलबीच गठबन्धन बनेको हो’’,  प्रचण्डले भन्नुभयो । 

विगतमा कांग्रेस एक्लै चुनाव लड्दा काँग्रेसको अवस्था के भएको थियो, त्यो बुझ्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो  । प्रचण्डले थप्नुभयो, ‘‘नयाँ युगको सुरुआत पनि अहिलेको गठबन्धनबाटै गर्ने संकल्प लिएका छौं । सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो थिएन । तर, देशको आवश्यकता अनुरुप सफल भयाैँ।’’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि दलले दम्भ राखे केपी ओलीको हालत हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कहिलेकाही कांग्रेसमा दम्भ हुन्छ । दम्भ राम्रो होइन । त्यही दम्भले केपीको विनास गर्‍याे । सबैको शक्ति स्वीकार गर्नुपर्छ ।’’ 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन ओली प्रवृत्ति विरुद्धको गठबन्धन भएकाले देशैभर गठबन्धन पक्षमा माहोल आएको दाबी गर्नुभयो । 

सभामा बोल्नु हुँदै पोखराको मेयरका प्रत्यासी धनराज आचार्यले म नभै हामी भन्ने भावनाका साथ पोखराको समृद्धि र विकासको खाका प्रस्तुत गर्नुभयो । उपमेयर उम्मेदवार कोपिला रानाभाटले महानगरमा भएको भ्रष्टाचार न्युनीकरण गर्ने र आफूले कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।