• ६ जेठ २०८१, आइतबार

मतदातालाई उत्साहित बनाउन सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं वैशाख २५ गते । निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले वैशाख ३० गतेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ सफल बनाउन सरकारी सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन गर्नुभएको छ । सरकारी सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरुसँग आइतबार आयोगमा छलफल गर्नुहुँदै उहाँले सो निर्देशन गर्नुभएको हो । 

मतदानको दिन आउन अव केही दिन मात्र बाँकी रहेका बेला मतदातामा सही तथा सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मतदातालाई उत्साहित गर्ने र मत बदर हुन नदिनेगरी सञ्चारमाध्यममा सूचना प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचनका विषयमा केही समस्या र परिमार्जन गर्नुपर्ने विषय भए आयोगलाई तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । 

त्यस्तै, आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनलाई सफल बनाउन सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुहुँदै बाँकी यस अवधिमा बढीभन्दा बढी निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । मतदाताका लागि सही र सत्यतथ्य समाचार प्रवाह भएमात्र मतदाताहरु लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो ।

छलफल कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापन मार्फत आचारसंहिता उल्लङ्घन भए नभएकोबारे बोर्डले अध्ययन गरिरहेको बताउनुभयो । निर्वाचन सफल बनाउन निजी मिडियाको पनि ठूलो भूमिका रहने हुनाले थोरै भएपनि विज्ञापन उपलब्ध गराउन सके निजी मिडियालाई पनि राहत हुने उहाँले सुझाव दिनुभयो ।

छलफल कार्यक्रममा नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) तथा निर्वाचन आयोगका प्रतिनिधिहरुको सहभागिता थियो ।