• ६ जेठ २०८१, आइतबार

मतदान कर्मचारीलाई अभिमुखीकरण

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २५ गते।
ताप्लेजुङमा निर्वाचन गराउन मतदान केन्द्रमा खट्ने कर्मचारीलाई दुई चरणमा अभिमुखीकरण गराइएको छ। जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गराएको हो। 

ताप्लेजुङमा स्थानीय तहको निर्वाचनका लागि ७३ मतदानस्थल र एकसय २२ वटा मतदान केन्द्र रहेका छन्। उक्त सङ्ख्यामा रहेका मतदान केन्द्रमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गराइएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाका अनुसार मतदान कर्मचारीलाई शुक्रबार पहिलो र आइतबार दोस्रो चरणमा अभिमुखीकरण गराइएको छ। पहिलो चरणमा फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरण गराएको बाँस्तोलाले जानकारी दिनुभयो। 

यस्तै सिरिजङ्घा गाउँपालिकाको वडा ३ सिकैँचा र पाथीभरा याङ्वरक गाउँपलिका वडा ६ थुम्बेदिनबाहेकका वडामा खट्ने निर्वाचन कर्मचारीलाई पहिलो चरणमै अभिमुखीकरण गराइएको थियो। दोस्रो चरणमा आइतबार भने फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरण गराइएको छ। 

पाथीभरा याङ्वरकको वडा ६ थुम्बेदिन र सिरिजङ्घाको वडा नम्बर ३ सिकैँचामा खटिने कर्मचारीलाई पनि आइतबार अभिमुखीकरण गराएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी विपीन दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरणसँगै नमुना मतदानको अभ्यास गराइएको छ। 

यता अभिमुखीकरण गराएपछि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहितका कर्मचारी शनिबारदेखि नै मतपेटिका लगायत निर्वाचन सामग्री बुझेर आफ्नो क्षेत्रतिर लाग्न थालेका छन्। सोमबारसम्ममा सबै क्षेत्रमा खटिने कर्मचारी निर्वाचन सामग्रीसहित आ-आफ्नो क्षेत्रमा लाग्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जानकारी दिएको छ।