• १२ पुस २०८१, शुक्रबार

सांसदविहीन क्षेत्र कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा

blog

टीकापुर, वैशाख २५ गते । सङ्घीय संसदविहीन कैलाली क्षेत्र नम्बर १ का पालिका निर्वाचन यसपाली कसले जित्ला भन्ने चासो बढेको छ । यस क्षेत्रबाट निर्वाचित सांसद रेशमलाल चौधरी जेलमा हुनुहुन्छ भने उहाँकी श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा खुलेको नागरिक उन्मुक्ति पार्टी रेशमको रिहाईका लागि मत माग्दै यस क्षेत्रका पालिका जित्ने सुरमा चुनावी मैदानमा छ । 

सङ्घीय निर्वाचन क्षेत्रमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाका ६ वडा र भजनी नगरपालिकाका २ गरेर २५ वडा पर्दछन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन फोरमले १०, काँग्रेस ७, माओवादी ५, एमाले ३ जितेको थियो । अहिले फोरम काँग्रेसमा मिसिएको छ ।  २०७४ मै भएको आम निर्वाचनमा सङ्घीयमा राजपाका रेशमलाल चौधरी, प्रदेश सभा 'क' क्षेत्रबाट राजपाकै कृष्णकुमार चौधरी र ख प्रदेशबाट नेपाली काँग्रेसका रणबहादुर रावल विजयी हुनुभएको थियो । 

टीकापुरमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ । २०७४ को निर्वाचनमा प्रमुखमा एमाले विजयी भएको थियो भने त्यसपछिको मत क्रमशः माओवादी, फोरम र काँग्ररसले पाएका थिए । दुई दल मिलेको र एमालेबाट समाजवादी छुट्टिएकाले गठबन्धन हावी हुने गठबन्धनकाका दलका उम्मेदवार नवराज रावलको  दावी छ  । समाजवादी फुटेर खासै फरक नपरेको माओवादीका मेयर पदका उम्मेदवार स्वतन्त्र, काFग्रेसका नेताहरु नेपाली काँग्रेस विपीमा लागेका र एमालेका जनलहरका कारण आफू जित्ने एमालेका उम्मेदवार श्याम खत्रीको भनाई छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु ४२ प्रतिशत थारु, १४ प्रतिशत दलित भएकाले दुईवटा समुदायको धेरैजसो भोट पाएर जित्ने दावी गर्नुहुन्छ । तर स्वतन्त्र उम्मेदवार ललित थापा भने आफू  जनयुद्ध लडेका, अघिल्लो चुनावमा प्रमुखमा दोस्रो भएको उम्मेदवार, कृषि र पशुपालनमा लागेकाले कृषक, नेपाली काँग्रेस बीपी र स्वतन्त्र नागरिकहरुले भोट पाएर आश्चर्यजनक नतिजा ल्याउने बताउनुहुन्छ । 

सङ्घीय सासद जितेको थारु आन्दोलनको पार्टी नागरिक उन्मुक्ति पार्टी, प्रदेश सभा सदस्य जितेको नेपाली काँग्रेस र नगर प्रमुख जितेको नेकपा एमालेलाई टीकापुरको चुनाव जित्नु प्रतिष्ठाको विषय बनेको छ । हरेक चुनावमा फरकफरक दललाई मत दिने टीकापुरका मतदाताले यसपटक कसलाई जिताउछन त्यसै भन्न सकिने स्थिति छैन ।

टीकापुरका ५२ हजार ८७२ मतदाता मध्ये वडा नम्बर १ मा मात्रै २१ हजार २६८ मतदाता छन् । सात वटा ठूलठूला शिविर र बजार क्षेत्र रहेको वडा नम्बर १ का मतदातालाई रिझाउन सबै दल लागेका छन् ।

जानकी गाउँपालिकामा २०७४ मा ४ वडा लोकतान्त्रिक फोरम, २ वडा एमाले, २ वडा माओवादी केन्द्र र १ वडा कांग्रेसले जितेको थियो । फोरम काँग्रेस एकीकरण भएपछि काँग्रेसका ५ वडा भएका थिए । काँग्रेसले पहिले जितेका ४ जनालाई यसपाली पनि दोहोर्याएको छ । 

एमाले र माओवादीका पनि पुरानै वडाध्यक्ष दोहोरिएका छन् । अधिकांश वडा थारु बहुल भएकाले त्यहाँबाट भोट पाइने आशामा नागरिक उन्मुक्ति पार्टीको छ । पहिले वडा जितेको हिसावले काँग्रेस त्यसपछि एमाले बढी देखिए पनि तत्कालLन फोरमका मतदाता अहिले नागरिक उन्मुक्तितिर आकर्षित भएकाले चुनावी नतिजा फरक आउने अनुमान छ । काँग्रेसका वडाध्यक्षहरुले दोहोर्याएर चुनाव जित्न सके गठबन्धनका अध्यक्ष उपाध्यक्ष विजयी हुनेछन् । काँग्रेसले जित्न नसके नागरिक उन्मुक्ति पार्टी, नेकपा एमालेसहितको त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । 

अर्को पालिका जोशीपुरमा २०७४ मा सात वटै वडा, अध्यक्ष र उपाध्यक्ष जितेको नेपाली काँग्रेसलाई बिरासत जोगाउनुपरेको छ । २०७४ को उपविजेता जनता समाजवादी पार्टीले पनि अवस्था सुधारेको स्थानीय बताउँछन् । थारु बहुल पालिका भएकाले नागरिक उन्मुक्ति पार्टीको सङ्गठन पनि बलियो उपस्थिति देखाउन थालेको छ । जोशीपुरमा अघिल्लो निर्वाचनमा काँग्रेस एक्लै विजयी भएको थियो यस पटक पूर्वमन्त्रीहरु रामजनम चौधरी र जनकराज चौधरीको शक्ति थपिँदा पनि काँग्रेसलाई विरासत जोगाउन ठुलै मेहनत गर्नुपर्ने स्थानीय केशरबहादुर थापा बताउनुहुन्छ ।

टीकापुर, जानकी र जोशीपुरमामा  गठबन्धन दलहरु प्रमुख र उपप्रमुख पदमा साझा र वडामा अलगअलग उम्मेदवारी दिएर मित्रवत् प्रतिस्पर्धामा छन् ।

Author

एकिन्द्र तिमिल्सेना