• २२ पुस २०८१, सोमबार

मानसिक रोगीको निःशुल्क उपचार

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ ७ गते । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार गरिएको छ । ओखढुङ्गा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य परियोजनाको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा २७ जन पुरुष र २२ जना महिला गरि ४९ जनाले उपचार सेवा लिएका हुन् । 

खिजीफलाटे हेल्थपोष्टमा सञ्चालन भएको शिविरमा ४० जना नियमित औषधी सेवन गरिरहेका र नौ जना नयाँ बिरामीले उपचार तथा परामर्श सेवा लिएको समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सीबीआर)को खिजिदेम्बाका टिम लिडर प्रेम जीसीले बताउनुभयो । शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासीनता (डिप्रेसन), तनाव, इन्जाइटी तथा छारेरोग भएका गरि ४९ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएको जीसीले जानकारी दिनुभयो । 

शिविरमा मानसिक रोग विशेषज्ञ बिनासिंह गुरुङ र खिजीफलाटे आधारभूत अस्पतालका डा. चन्द्रकुमार राईले मानसिक बिरामीहरुको चेकजाँच र परामर्श प्रदान गर्दै औषधी वितरण गर्नुभएको थियो । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई गाउँगाउँमा उपचार सेवा तथा परामर्श दिने उद्देश्यले शिविर सञ्चालन गरिएको ओखलढुङ्गा सामुदायिक अस्पतालले जनाएको छ । 

खिजीदेम्बा गाउँपालिकाले पालिकामा रहेका मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई निःशुल्क औषधी वितरण गरिरहेको छ ।