रमेश विश्वकर्मा
गुल्मी, भदौ ७ गते । नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।
स्वास्थ्य बिमा बोर्डबाट स्वीकृत प्राप्त गरेसँगै आँखा उपचार केन्द्रले साउन १२ गतेदेखि २० प्रतिशत सह–भुक्तानीमा स्वास्थ्य बिमा सेवा सुरु गरेको हो । स्वास्थ्य बिमा सेवाअन्तर्गत सेवाग्राहीले बीमा बोर्डको नियमअनुसार २० प्रतिशत सहभुक्तानी पनि गर्नुपर्ने तर लक्षित समूहलाई भने सह–भुक्तानी पनि नलाग्ने केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताउनुभयो ।
स्वास्थ्य बिमा सुरु भएसँगै उपचार सेवा लिनेको सङ्ख्या बढ्ने आँकलन गरिएको छ । हाल जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा बिन्दु मानेका नागरिकले रेफर बिना नै सेवा प्राप्त गर्न सक्ने केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले बताउनुभयो ।
निःशुल्क शल्यक्रियाका लागि यस अघि सम्झौता गरेका पालिकाहरुले सो सेवालाई निरन्तरता दिने र स्वास्थ्य बिमा गरेका नागरिकका लागि सह–भुक्तानीको २० प्रतिशत रकम पालिकाबाटै बेहोरिने भएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो । आँखा उपचार केन्द्रमा नाम दर्ता, ओपिडि सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिने नेपाल नेत्रज्योति सङ्घका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो ।