• १६ भदौ २०८१, आइतबार

अत्याधुनिक पेट्रोल पम्प बनाउँदै प्रहरी

blog

कावासोतीमा निर्माण हुन लागेको प्रहरी कल्याण कोष पेट्रोल पम्पको शिलन्यास गरिदै ।

मीना कंडेल

कावासोती, भदौ ७ गते । पूर्वी नवलपरासीको कावासोतीमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माणको काम सुरु भएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेशन, कफीसप रहने गरी प्रहरीले पम्प खोल्न लागेको हो । 

शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले कावासोतीमा निर्माण गर्न लागेको प्रहरी कल्याण कोष पेट्रोलपम्पको शिलान्यास गर्नुभएको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राले नवलपुर प्रहरी कार्यालय नजिक रहेको प्रहरीको जग्गामा खोल्न लागेको पेट्रोल पम्पले स्थानीयलाई सहज हुने बताउनुभयो । प्रहरी आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेला समेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताउनुभयो । 

इभी चार्जिङ स्टेशन नजिक नहुँदा चितवन पुग्नुपर्ने बाध्यता थियो । अब यो बाध्यता हट्ने हुँदा सवारी चालकलाई सहज हुनेछ । बगैँचा र पर्याप्त गाडी पार्किङ क्षमताको यो पम्प नेपालकै नमुना हुने प्रहरीको भनाइ छ । 

१० करोड ८० लाखको लागतमा प्रहरी कल्याण कोष पेट्रोल पम्पको निर्माण कार्य सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र फलफूल चोकनजिकमा खुल्ने पम्प निर्माणको काम आगामी १८ महिनामा सम्पन्न हुने बताइएको छ ।