• २२ पुस २०८१, सोमबार

मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्दै

blog

अनिल पराजुली

हेटौँडा, भदौ ७ गते । मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन एकदेखि भदौ छ गतेसम्म जिल्लामा ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । 

महिला २८ र पुरुष २० जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । स्क्रब टाइफसको सङ्क्रमण महिलाहरूमा बढी देखिएको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा सेउला सोत्तर गर्ने हुँदा बढी जोखिममा रहेकाले सरसफाइमा विशेष ध्यान दिन सूचना अधिकारी घिमिरेले अनुरोध गर्नुभयो । गत वर्षहरूमा पनि स्क्रब टाइफस देखिएपनि तथ्याङ्क भने सार्वजनिक भएको थिएन ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

त्यस्तै चालु आवको भदौ छ गतेसम्म मकवानपुरमा डेङ्गुका बिरामी १३० जना पुगेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी दिनहुँ थपिदै गएको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पुरुष ६० र महिला ७० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । 

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ ४१ पुरुष र  ५३ महिलागरी ९४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । त्यस्तै मनहरी गाउँपालिकामा १५ जना, मकवानपुरगढी ७, बकैया गाउँपालिकामा ५, भीमफेदी गाउँपालिकामा ३ जनामा डेङ्गु पुष्टि भएको हो । बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक एक जनामा डेङ्गु पुष्टि भएको हो । 

अन्य जिल्लाका ३ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ ।  जिल्लाको इन्द्र सरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । गत आवमा जिल्लामा ८९१ जनामा डेङ्गु पुष्टि भएको थियो ।