• ७ मंसिर २०८१, शुक्रबार

अभिशाप बनेको आविष्कार

blog

याकोपो प्रिस्को

पत्रकारको बाक्लो उपस्थितिमाझ आविष्कारक थोमस मिजले जुनियरले सिसा (लिड) मिसाइएको वस्तु आफ्नो हत्केलामा हाले र करिब एक मिनेट जति त्यसबाट निस्केको धुवाँ सुँघे । निर्भीक थोमसले भने, “बिनाकुनै स्वास्थ्य समस्या म यस्तो हरेक दिन यसो गर्न सक्छु ।”

त्यसको केही समयमै थोमसलाई चिकित्सा उपचार आवश्यक पर्‍यो तर उनको कृत्यले स्वयम्को भलाई भन्दा पनि गम्भीर असर पर्ने भयो । सन् १९२४ मा जनरल मोटर्सका ‘केमिकल इन्जिनियर’ थोमसले आफ्नो हालसालैको आकर्षक खोज– सिसा मिश्रित यौगिक ‘टेट्राइथेल लिड’ प्रति सहयोग खोज्न यस्तो तमासा गरेका थिए । पेट्रोलमा यसलाई मिसाइँदा त्यतिबेला अटोमोबाइल उद्योगमा रहेको एक ठूलो समस्या हल भयो । परम्परागत पेट्रोल प्रयोग गरिँदा इन्जिन खरखराउने वा इन्धनको न्यून गुणस्तरका कारण कारको इन्जिनमा हल्का पड्केको जस्तो हुने भएर कारले ठूलो आवाज निकाल्ने र क्षतिको सम्भावना रहन्थ्यो । यसमा सिसाले सहयोग त मिल्यो तर ठूलो मूल्य चुकाएर किनभने यो तत्व मानिस, विशेषगरी बालबालिकालाई निकै विषालु हुन्छ । 

थोमसले इतिहासमा एक अर्को विनाशक आविष्कारको पाना पनि थपे, त्यसमा आफ्नो नाम लेखाए । त्यतिबेला यो पनि एक समस्याको हल भयो । ‘रेफ्रिजेरेसन’ र ‘एयर कन्डिस्निङ’ प्रणालीमा प्रयोगमा आइरहेका अत्यन्त हानिकारक र प्रज्वलनशील ग्यासको विकल्प खोजिनु आवश्यक थियो । थोमसले सिएफसी अर्थात् ‘क्लोरोफ्लोरोकार्बन’ ग्यास खोज गरे र यो ग्यास ‘रेफ्रिजेरेसन’ र ‘एयर कन्डिस्निङ’ प्रणालीमा मानव हितको दृष्टिबाट प्रयोगका लागि निकै सुरक्षित मानियो तर कालान्तरमा यो ग्यासले वायुमण्डलमा रहेका प्राणी जगत्को सुरक्षा कवच ‘ओजोन ग्यास’ नाश गर्ने पत्ता लाग्यो । सूर्यबाट आउने खतरनाक पराबैजनी विकिरणलाई रोकेर ओजोनले पृथ्वीमा प्राणी जगत्को रक्षा गर्दछ । पराबैजनी विकिरणको अवाञ्छित असरले छालाको क्यान्सरलगायतका स्वास्थ्य समस्या निम्तिने गर्छ ।   

सन् १९२४ मा सञ्चार माध्यमसामु तमासा गरेको सय वर्षपछि हाम्रो ग्रह पृथ्वी अझै पनि थोमसका दुवै आविष्कारको दुष्प्रभावबाट उम्कने प्रयासमै छ । माथिल्लो वायुमण्डलमा रहेको ओजोन तह पूर्णतया दुरुस्त हुन अझै चार दशक लाग्ने छ । तथ्याङ्कमा देखिए अनुसार सन् २०२१ सम्म विश्वका केही क्षेत्रमा सिसायुक्त पेट्रोल बिक्रीवितरण भइरहेकै थियो र यस कारणले कैयौँ देश अझै पनि सिसा विषक्तताको दीर्घकालीन असर बेहोरिरहेका छन् । 

आफ्नो आरम्भिक दिनका एक आविष्कारक    

अमेरिकामा पेन्सिलभेनिया राज्यको बिवर फल्समा सन १८८९ मा जन्मिएका थोमसमा सानैदेखि ज्ञात पदार्थको उपयोगी प्रयोग खोज्ने प्रवृत्ति थियो । हाइस्कुलमा छँदा उनले बेसबललाई अधिक वक्राकार पथ दिन चिप्लो एल्म रुखको बोक्रा प्रयोग गरे । पछि व्यावसायिक बेसबल खेलाडीले यसलाई अपनाएका थिए । 

आफूसँग सधैँ ‘पेरियोडिक टेबल’ को एकप्रति राख्ने व्यक्तिका रूपमा उनी परिचित थिए । जो उनको महत्वपूर्ण खोजको उपकरण बन्न गयो । सन् १९१६ मा जनरल मोटर्समा थोमस कार्यरत छँदा कारको इन्जिनबाट खरखर आवाज आउने समस्या समाधान गर्ने जिम्मेवारी उनको काँधमा आइपर्‍यो । 

न्युयोर्कको सिटी युनिभर्सिटीमा इतिहासका प्राध्यापक जेरल्ड मार्कोवेत्स भन्छन्, “अमेरिकामा अटोमोबाइल युगको त्यो बिहानी थियो तथा फोर्डले आफ्नो ‘मोडेल टी’ विकास गरेको थियो, जो धेरै शक्तिशाली थिएन । जनरल मोटर्सले अधिक शक्तिशाली इन्जिन बनाउन स्ट्यान्डर्ड आयल र डुपोन्टसँग साझेदारी गर्‍यो । जसका लागि उनीहरूले त्यतिबेला आफूहरूसँग रहेको इन्धनबाट इन्जिन खरखर गर्ने समस्या समाधान गर्नुपर्ने थियो ।”


अर्का प्रभावशाली अमेरिकी आविष्कारक तथा जनरल मोटर्स अनुसन्धान विभागका प्रमुख चाल्र्स केटरिङको निर्देशन मातहत थोमसले पेट्रोलमा मिसाइएपछि इन्जिनको खरखर गर्ने आवाज कम गर्ने पदार्थको खोजीमा आर्सेनिक, सल्फर र सिलिकनलगायतका हजारौँ पदार्थमा अनुसन्धान कार्य गरे । अन्ततः उनको खोजको निष्कर्ष भयो, ‘टेट्राइथेल लिड’ । यो सिसाको यस्तो यौगिक हो जसलाई मिसाएर पहिलो पटक सन् १९२३ मा ओहयोको डेटनमा ‘इथेल लिडेड ग्यासोलिन’ नामबाट पेट्रोल बिव्रmी गरिएको थियो । त्यसपछि व्रmमगत यसको प्रयोग विश्वव्यापी बन्न गयो । 

वास्तवमा लिड अर्थात् सिसा यस्तो विषालु तत्व हो जसको सानोभन्दा सानो मात्रा पनि शरीर नाशक हुन्छ । यसको प्रभाव परेमा बालबालिकाको विकास अवरुद्ध भएर उनीहरूको बौद्धिक क्षमता कमजोर बन्ने र व्यावहारिक विकृति आउने जानकारी युनिसेफले दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वर्षमा अझै पनि लगभग १० लाख मानिस सिसाको विषाक्तताले मर्ने गरेका छन् । 

थोमसले पेट्रोलमा सिसा मिसाउँदा नै विश्व त्यसको विषाक्त प्रभावका बारेमा अवगत थियो । यस्तो गुण थाहा हुँदाहुँदै पनि ‘टेट्राइथेल लिड’ व्यावसायिक रूपमा धेरै नै सफल हुन पुग्यो । 

मार्कोवेत्सले भनेका छन्, “यस बारेमा चिन्ता व्यक्त गरिएको थियो किनभने सिसालाई एक विषका बारेमा बुझिएको थियो तर उद्योगको दाबी के थियो भने कारको धुवाँ निस्कने पाइपबाट बाहिर आउने सिसाको अंशले मानिसलाई बिरामी पार्न सक्ने बारेमा कुनै प्रमाण छैन । यसरी नै प्रमाणको अभावले हुनु पर्छ सन् १९२५ मा आयोजित जनस्वास्थ्य सम्मेलनबाट कुनै कारबाही अगाडि बढाउन सकिएन ।” 

तर इथेल उत्पादनमा संलग्न कामदारमा दुष्प्रभाव देखिन धेरै समय लागेन । 

“वास्तवमा तथ्यगत रूपमा थाहा हुन आयो टेट्राइथेल लिड उत्पादन गर्ने प्रयोगशालामा काम गर्ने मानिस बिरामी पर्न थाले, यसले सङ्कट सिर्जना गर्‍यो । सिसाको असरले उनीहरू वस्तुतः विक्षिप्त नै हुन्थे ।” यस्तो भनाइ छ मार्कोवेत्सको ।

कतिसम्म भयो भने थोमस स्वयंसमेत यसलाई सुरक्षित मान्दथे । उनले ‘टेट्राइथेल लिड’ प्रतिको भय हटाउने ध्येयले सन् १९२४ मा पत्रकार सम्मेलन नै आयोजना गरी आफ्नो हत्केलामा ‘टेट्राइथेल लिड’ हालेर सुँघे तर यथार्थमा उनीमा पनि विषको असर परिरहेको थियो । 

भर्जिनियाको रेडफर्ड युनिभर्सिटीमा सञ्चारका प्राध्यापक बिल कोभारिकको भनाइ यस्तो छ, “सन् १९२३ जनवरीमा लेखेको एक पत्रमा निश्चित रूपमा उनले आफूलाई सिसाको विषाक्तताले छोएको र जीवन पर्यन्त यसको असर आफूमा रहेको कुरा उल्लेख गरेका थिए । जब तपाईंको शरीरमा धेरै मात्रामा सिसा जम्मा हुन्छ त्यो वास्तवमा हट्दैन । यो एक गम्भीर समस्या हो र दीर्घकालिक अपाङ्गता पनि ।”

इथेल आविष्कार गरेको केही वर्षमै थोमसले एक पटक फेरि केटरिङको प्रभावमा परेर अमोनिया जस्ता ‘रेफ्रिजेरेन्ट’ ग्यासको विकल्पमा गैरविषालु, गैरप्रज्वलनशील ग्यासको खोजमा लागे । त्यतिबेला घरायसी उपकरण र ‘एयर कन्डिसनर’ मा अमोनिया ग्यास प्रयोग हुने गरेको थियो । जसका कारण सन् १९२० को दशकमा कैयौँ घातक दुर्घटना भएका थिए ।   

खोजका क्रममा उनले फ्रिओन बनाए । यो मिथेनको व्युत्पत्ति हो तथा यो कार्बन, क्लोरिन र फ्लोरिनले बन्दछ । यो प्रथम ‘सिएफसी ग्यास’ थियो । सन् १९३० मा एक अर्को सार्वजनिक प्रदर्शनमा सहभागी हुँदै थोमसले यो ग्यास सुँघे र त्यसले बल्दै गरेको एउटा मोमबत्ती निभाए । यो सिएफसी ग्यास सुरक्षित रहेको देखाउन उनले यस्तो तमासा गरेका थिए ।

फ्रिओन र त्यसपछिका सिएफसी व्यावसायिक रूपमा धेरै सफल भए । यसैका कारणले अमेरिकामा ‘एयर कन्डिसनर’ अपनाउनेको सङ्ख्या धेरै नै बढ्यो । द्वितीय विश्वयुद्धपछि उत्पादनकर्ताले कीटनाशकदेखि ‘हेयर स्प्रे’ लगायत प्रायः सबै उत्पादनमा सिएफसीलाई ‘प्रोपेलन्ट्स’ का रूपमा प्रयोग गर्न थाले । 

थोमसको निधन भएको करिब ३० वर्षपछि सन् १९७० को दशकको मध्यतिर उनका दुई आविष्कारले पुर्‍याएको क्षति सार्वजनिक भयो । एन्टार्कटिकामाथि सिएफसीले सुरक्षा कवच ओजोनको तहमा ठूलो प्वाल पारिसकेको थियो । यदि त्यसलाई त्यत्तिकै छाडिदिने हो भने त्यो प्वाल पृथ्वीका सबै जीवजन्तुको विनाश हुने गरी विशाल हुन सक्थ्यो ।     

निरन्तर चर्को दबाब भए पनि सन् १९९६ पहिले अमेरिकाले पेट्रोलमा सिसा मिसाउन बन्द गरेन । त्यसपछि क्रमगत विश्वका अन्य मुलुकले समेत पेट्रोललाई सिसामुक्त गरे । पेट्रोलमा सिसा मिसाउन बन्द गर्ने अन्तिम मुलुक हो अल्जेरिया । उसले सन् २०२१ मा यो कदम चाल्यो तर हवाई क्षेत्रमा प्रयोग हुने इन्धनमा केही मात्रामा सिसा मिसाउन भने बन्द गरिएको छैन । सन् २०२२ मा सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा भनिएको छ, अमेरिकाको वर्तमान जनसङ्ख्याको आधा भाग आफ्नो बाल्यकालको आरम्भिक वर्षमा सिसाको खतरनाक मात्राबाट प्रभावित भएको थियो तर विश्व परिवेशमा सिसाले स्वास्थ्यमा पारेको असर बारेमा केलाउन गाह्रो छ । 

सन् १९८७ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर गरेर विश्वका नेताले सन् १९८९ देखि सुरु गरेर सन् २०१० सम्म सिएफसीको प्रयोग पूर्णतया बन्द गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि सिएफसीमा प्रतिबन्ध नै लगाइयो । हालसालैको अनुसन्धानबाट सिएफसी उत्सर्जन बढेको पाइएको छ । यसको अर्थ अवैध रूपमा सिएफसी उत्पादन र प्रयोग भइरहेको भन्न सकिन्छ । ओजोन तहमा परेको प्वाल भरिँदै गएको छ र आगामी ५० वर्षमा यो पूर्णतया पूर्ववत् हुन सक्छ । जुन दुर्लभ पर्यावरणीय जित हुने छ ।  

सिसाले मानिसको शरीरमा पर्ने असरका बारेमा कुरा गर्दै मार्कोवेत्सले भनेका छन्, “बडो दुःखसाथ भन्नु पर्छ दुष्प्रभावमा परेका बालबालिकाको यकिन सङ्ख्या हामीसँग छैन । बालबालिकाको शरीरमा सिसाको कुनै सुरक्षित स्तर निर्धारण छैन । हामी अर्धशतक वा त्यसभन्दा बढी समयदेखिका दशौँ लाख ती बालबालिकाका बारेमा कुरा गरिरहेका छौँ जसमा सिसाको दुष्प्रभाव पर्‍यो । बाटो, जमिनमा मिसिएको सिसाको धुलो सासले तानेर वा त्यसको ग्यास सुँघेर उनीहरूको जीवनको सम्भावना कम भएर गयो ।”

दुःखद मृत्यु

थोमसको जीवनको अन्त्य दुःखद परिस्थितिमा भयो । सन् १९४० मा पोलियो सङ्क्रमण भएपछि उनी नराम्रोसँग अपाङ्ग भए तर उनले यति हुँदा पनि एक अर्को आविष्कार गरे, ओछ्यानबाट मानिसलाई उठाएर ‘ह्विलचेयर’ मा राख्ने मेसिन । तार र ‘पुली’ जोडिएको सो मेसिनले उनलाई ओछ्यानबाट उचालेर कुर्सीमा राख्दथ्यो तर सन् १९४४ नोभेम्बरमा थोमस सो मेसिनमा अल्झिए र डोरी घाँटीमा बेरियो । उनी सास लिन नसकेर मरे ।    

लामो समयसम्म के मानियो भने यो सबैभन्दा ठूलो विडम्बना हो । एक आविष्कारक आफ्नो आविष्कारले मृत्युको मुखमा पुगे तर कोभारिकको भनाइमा वास्तविकता अझै भयावह हुन सक्छ । 

उनी भन्छन्, “आधिकारिक रूपमा मृत्युको कारण आत्महत्या थियो । उनी अपराध बोधको भावनाले घेरिएका थिए । उद्योग जगत्ले उनलाई निकै प्रतिभाशाली भन्यो तर उनले यस्तो कार्य गरेका थिए जुन उनलाई पछि धेरै नै गैरजिम्मेवार लाग्यो । सिसाको विषाक्त असरले उनी मानसिक रूपमा विक्षिप्त भएका थिए ।” 

आफ्नो जीवनको अन्त्यतिर थोमसले कैयौँ पुरस्कार र सम्मान पाए । सोसाइटी अफ केमिकल इन्डस्ट्रीले सन् १९३७ मा उनलाई ‘पर्किन मेडल’ प्रदान गर्‍यो भने सन् १९४१ मा अमेरिकन केमिकल सोसाइटीले ‘प्रिस्ले मेडल’ प्रदान गरेको थियो । अमेरिकन केमिकल सोसाइटीले त थोमसलाई उनको मृत्यु भएको वर्ष नै एक वर्षका लागि आफ्नो अध्यक्ष चयन गरेको थियो । 

इतिहासमा यस्ता कैयौँ आविष्कार छन् जो मानव जातिका लागि ज्यानमारा भएका छन् । जस्तै टिएनटी । टिएनटीलाई पहेँलो रङका रूपमा प्रयोग गर्नका लागि विकसित गरिएको थियो र दशकौँसम्म यसलाई विस्फोटक पदार्थका रूपमा प्रयोग गरिएन । 

थोमसका आविष्कार तात्कालीन आवश्यकताका उपज थिए र उनले एक कामदारका रूपमा ती वस्तु आविष्कार गरे । तिनबाट विश्वको पर्यावरणमा यति विघ्न असर पर्ला भनेर त्यति बेला कसैले पनि सोचेको थिएन । 

–उमेश ओझाद्वारा सिएनएनबाट अनुवादित तथा सम्पादित ।   

–युवामञ्च