• १६ भदौ २०८१, आइतबार

पुनर्स्थापनाको पर्खाइमा पहिरोपीडित

blog

कावासोती समाचारदाता 

कावासोती, भदौ ७ गते  । तीन वर्षअघि नवलपुरको हुप्सेकोट गाउँपालिका–५, वाकखोरमा पहिरोबाट विस्थापित भएपछि पालमा रातदिन बिताइरहेका पीडित परिवारलाई सरकारले अहिलेसम्म स्थायी बसोबासको व्यवस्था मिलाउन सकेको छैन । विसं २०७८ असार २३ गते गएको पहिरोमा परी १८ घरपरिवार विस्थापित भएका थिए । वाकखोरका पहिरो विस्थापित जुकेपानी–१, शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्दै आएका छन् ।

 १८ घरपरिवारका १२८ जना पहिरोबाट प्रभावित छन् । सबैको व्यथा एकैखालको छ । कोही पालमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । विस्थापित भएसँगै उनीहरूले खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गा जमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितमा खाद्यान्नको अभाव खड्किएको हो ।

अस्थायी टहरामा बस्दै आउनुभएका ७२ वर्षीय खेमबहादुर सोमैलाई वाकखोरमा जग्गा भए पनि पहिरोको डरले फेरि फर्कन मन छैन । “एकैदिन आएको पहिरोले उठिबास लगायो, पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छोडेर गाउँपालिकाले बनाइदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ,” खेमबहादुरले भन्नुभयो । ५६ वर्षका खगिसरा रानाको परिवार, पहिरोले विस्थापित भएर शिवालय सामुदायिक वननजिकैको अस्थायी टहरामा बस्न थालेको तीन वर्ष भयो ।” वर्षाको समय छ पछिल्ला केही दिनयता पानी परिरहेको छ । कतिखेर भेल आउने हो र यहीँबाट बगाउने हो थाहा छैन,” एकपछि अर्काे समस्या थपिँदै जान थालेको छ । बिहान बेलुकाको छाक टार्न मुस्किल भएको अहिलेको अवस्थामा वर्षाको समयमा त रातभर जाग्राम बस्न बाध्य छौँ । विस्थापित दिलमाया सुनार भन्नुहुन्छ, “धेरै पटक आश्वासन पाइयो तर पाल छोड्ने दिन कहिल्यै आएन ।” अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन ।