• १६ भदौ २०८१, आइतबार

न्याय माग्दै धर्ना

blog

धर्ना बसेका पीडित ।

म्याग्दी समाचारदाता

म्याग्दी, भदौ ७ गते । म्याग्दीको बेनी नगरपालिका–९, गिठीनीस्थित ठुलोखोलाको जङ्गलमा गत साउन २७ गते सडेको अवस्थामा फेला परेको मानव शव मीना परियारको भएकाले उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडित पक्षले धर्ना दिएको छ । 

दलित एकता समाज म्याग्दी, परियार सेवा समाज म्याग्दी र मिजार सेवा समाज म्याग्दीले जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिनुका साथै दबाब ¥यालीसमेत आयोजना गरेका थिए । धर्नामा सहभागीहरूले मीना परियारको हत्यारा खोइ ? मीना परियारको हत्याको सत्यतथ्य छानबिन गर ! लगायतका नारा लेखिएको प्लेकार्ड समातेर प्रहरी कार्यालयअगाडि सडकमा भुइँमै बसेर विरोधका साथ दबाब दिएका थिए ।

२०८१ साउन २७ गते बेनी नगरपालिका–९ का स्थानीयले खोला किनारमा मानव टाउकाको खप्पर, कपालको रौँ तथा गलबन्दी जस्तो देखिने कालो रङको कपडासहित लिङ्ग पहिचान हुन नसक्ने सडेको शव फेला पारेका थिए । उक्त शव आठ महिनाअगाडि बेपत्ता हुनुभएकी बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मीना परियारको हुन सक्ने स्थानीयले अनुमान गरेका थिए । मीना बेपत्ता हुनु पहिला लगाएको सुनको सिक्री, चप्पल तथा अन्य कपडाका टुक्रा आफ्नै छोरीको भएको मीनाकी आमा फूलमाया दमाईंले पहिचान गर्नुभएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । 

साउन २७ गते शव भेटिएपछि पीडित पक्ष विरोधमा उत्रिएपछि शवलाई २०८१ साउन ३० गतेसम्म बेनी अस्पतालमै राखिएको थियो । त्यसपछि शवलाई पोखरास्थित गण्डकी अस्पतालमा पठाएर पोस्टमार्टम गरिएको दलित अभियन्ता मनबहादुर चर्मकारले बताउनुभयो । 

पोखरामा पोस्टमार्टम भएपछि ल्याएर बेनी अस्पतालमा शवलाई राखिएको पीडित पक्षको भनाइ छ । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र घटना निचोडतर्फ गएपछि मात्रै शव बुझेर लैजाने उहाँले बताउनुभयो । गण्डकी अस्पतालले भने शवलाई फूलमाया दमाईंलाई बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन रायमाझीले कङ्कालसहित भेटिएका अन्य प्रमाणलाई थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्म पनि पठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०८१ साउन २७ गते बेलुकातिर शव भेटिएको हो र पीडित पक्षले ३० गते चार जनाका विरुद्धमा किटानी जाहेरी दिनुभएपछि शवको पोस्टमार्टम साउन ३१ गते गण्डकी अस्पताल पोखरामा भएको थियो भने जाहेरी परेका तीन जनालाई गिरफ्तार गरिसकिएको छ ।” पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । घटना प्रक्रिया भने कानुनी दायरामा आइसकेको उहाँको भनाइ छ ।

बेनी नगरपालिका–९ की १९ वर्षीय मीना परियार गत २०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजतलासीका लागि आमा फूलमायाले निवेदन दिनुभएको थियो । स्थानीय २१ वर्षीय राम खत्रीविरुद्ध किटानीसहित व्यक्ति बेपत्ता गरेको भन्दै उजुरी परेपछि खत्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अदालतबाट पुर्जी जारी भएकै दिन खत्रीलाई गिरफ्तार गरी अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले २०८० फागुन १७ गते मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा २०६ बमोजिम व्यक्ति बेपत्ता पारेको अभियोगपत्र जिल्ला अदालत म्याग्दीमा दायर गरेको थियो । अदालतमा दायर भएको अभियोगपत्रबमोजिम खत्रीलाई जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मीनासँग शारीरिक सम्बन्ध भएको र गर्भसमेत रहेको भन्ने सन्देश सामाजिक सञ्जालबाट आदानप्रदान भएकाले बाहिर आफ्नो बेइज्जत हुन्छ भन्ने डरले मीनालाई बेपत्ता पारेको भन्ने उल्लेख छ । खत्रीले मीनालाई दुई जिउकी बनाएको समाजले थाहा पाएमा मान प्रतिष्ठामा आँच आउने डरले बेपत्ता पारेकाले मुलुकी अपराध संहिता–२०७४ को दफा २०६ को उपदफा (१) विपरीत सोही दफा २०६ को उपदफा (२) (ख) बमोजिम व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुर गरेको उल्लेख छ । साथै उक्त कसुर गरेकाले आरोपितलाई १५ वर्षसम्म कैद र पाँच लाख जरिबाना दाबी जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ ।