• ८ मंसिर २०८१, शनिबार

म्याग्दीका ३४ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचमा

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ ६ गते ।
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम हिमाली जिल्ला म्याग्दी २०७३ देखि लागू भएको थियो । उक्त कार्यक्रममा हालसम्म १३ हजार तीन सय ६२ परिवार आबद्ध भएका छन् ।

२०७८ को जनगणना अनुसार म्याग्दीमा २८ हजार आठ सय ३० परिवार रहेकोमा हालसम्म म्याग्दीमा करिब साढे १३ हजार परिवारमा मात्रै स्वास्थ्य बिमा पुग्न सकेको हो ।

म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको आठ वर्षको अवधिमा४६ प्रतिशत परिवारमा बिमा कार्यक्रम पुगेको स्वास्थ्य बिमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालले बताउनुभयो ।

म्याग्दीमा एक लाख सात हजार ३३ जनसङ्ख्या पछिल्लो जनगणना अनुसार देखिएको थियो । स्वास्थ्य बिमा कार्यक्रममा १३ हजार तीन सय ६२ परिवारका ३६ हजार छ सय १५ जनाले स्वास्थ्य बिमा कार्यक्रममार्फतको सेवा लिइरहेको उहाँको भनाइ छ । परिवार सङ्ख्याको हिसाबले४६ प्रतिशत देखिए पनि जनसङ्ख्याको हिसाबले हेर्दा भने ३४ प्रतिशतमा मात्रै स्वास्थ्य बिमा पुगेको देखिन्छ ।

संविधासभाबाट निर्माण भएर २०७२ मा जारी गरेको नेपालको संविधानको धारा ५१ (ज) (१५) मा राज्यका नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख गरेको छ । नागरिकको स्वास्थ्य बिमा सुनिश्चितता गर्ने भनेर संविधानमा उल्लेख गरीएको भए पनि म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम २०७३ पुस १३ गतेबाट लागू भएको थियो । कार्यक्रम लागू भएको आठ वर्ष बित्दैगर्दा पनि अझैसम्म पनि जिल्लाका ५० प्रतिशत नागरिकले त्यसको सुविधा लिन पाएको भने देखिँदैन ।

राज्यले स्वास्थ्य सेवा उपयोगको पहुँच विस्तार एवम् गुणस्तर अभिवृद्धि गर्ने, आर्थिक जोखिम न्यूनीकरण गर्न तथा पूर्व भुक्तानीको माध्यमबाट नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम २०७२ चत २५ गते कैलाली जिल्लाबाट औपचारिक रुपमा सुरु गरेको थियो । अहिले स्वास्थ्य बिमा कार्यक्रम नेपालमा ७७ जिल्लामा लागू भइसकेको छ ।

म्याग्दीका छ वटै स्थानीय तहका ४५ वटै वडामा बिमा कार्यक्रम लागू रहेको छ भने प्रथामिक अस्पताल दरवाङ र बेनी अस्पताल म्याग्दीका बिमितहरुको पहिलो सेवा लिने स्थान हो ।

स्वास्थ्य बिमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालका अनुसार बिमा नविकरण गर्ने दर राम्रो रहेको म्याग्दीमा हाल पाँच हजार नौ सय ६४ जना जेष्ठ नागरिकको पूर्ण छुटमा स्वास्थ्य बिमा भएको छ । जिल्ला भित्रका ४३ परिवार एचआइभी सङ्क्रमित, क्षयरोग सङ्क्रमित परिवार २ र ५० प्रतिशत छुटमा एक सय ८४ जना महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको बिमा भएको छ । त्यस्तै क बर्गको अपाङ्गता भएका १४९ परिवार, अति गरिब ११ परिवारको पूर्ण छुटमा बिमा भएको छ । त्यसैगरी कुष्ठरोगी एक जननाको परिवारको पनि पूर्ण छुटमा स्वास्थ्य बिमा भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका सबै क्षेत्रमा बिमा पुर्‍याउनका लागि प्रयास भइरहेको भए पनि सोचे अनुरुप सफलता हासिल हुन नसकेको प्रमुख बरालको उहाँको भनाइ छ ।

मिर्गौलाको डाइलाइसिस गर्ने बिरामीहरुको स्वास्थ्य बिमा तीनदेखि चार महिनामा सकिने भए पनि त्यसलाई पुनः नवीकरण गर्नका लागि तोकिएको समय एक वर्ष कुर्नैपर्ने हुँदा समस्या भएको पीडितको गुनासो छ । आमाको नियमित डाइलाइसिस गर्नपर्ने तर बिमाको पैसा चाँडै सकिन्छ नवीकरण गर्न वर्षा कुर्नुपर्ने हुँदा आर्थिक भार थपिएको दीपा बुढाथोकीको भनाइ छ ।

एक पटक बिमा गरेपछि नियमित डाइलाइसिस तथा अन्य चेकअप गर्दा तीनदेखि चार महिनामा बिमाको पैसा सकिने र बाँकी रहेको सात आठ महिनासम्म त्यसै कुर्नुपर्ने समस्या रहेको उहाँको भनाइ छ ।