• १६ भदौ २०८१, आइतबार

बागी उम्मेदवारको प्रभाव नगन्य छ

blog

भरतपुर महानगरपालिकाको प्रमुखको भूमिका निर्वाह गरिसक्नुभएकी रेनु दाहाल दोस्रो पटक पुनः सोही पालिका प्रमुखको उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई सत्ता गठबन्धनका पाँच दलकोे समर्थन छ । उहाँ आफू महानगरको प्रमुख पदमा पुनः निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग गोरखापत्रका समाचारदाता वसन्त पराजुलीले गर्नुभएको कुराकानी :

 

भरतपुर महानगरमा दोस्रो कार्यकालका लागि तपाईंको उम्मेदवारी किन ?

पाँच वर्षअघि म जुन प्रतिबद्धतासाथ मतदातासँग पुगेकी थिएँ त्यसकै आधारमा निर्वाचित पनि भएँ । यसबीचमा मैले सुन्दर र समृद्ध भरतपुर महानगर बनाउन थुप्रै काम गरेकी छु । देशकै हेर्न लायक सुन्दर सहर बनाउने मार्गचित्र तयार गरी काम अगाडि बढाएकी छु । धेरै काम सम्पन्न भएका छन् भने केही काम सुरु गरिएको छ । अरू थुप्रै कामअघि बढाउनु छ । आफूले सुरु गरेका काम आफ्नै नेतृत्वबाट मात्रै कुशल ढङ्गले सम्पन्न गर्न सकिन्छ भन्ने विश्वाससाथ मैले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएर निर्वाचनको मैदानमा उत्रिएकी छु ।


तपाईं अहिले घरदैलो कार्यक्रम गर्दै हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

मतदाताको घरदैलोमा पुग्दा अत्यन्तै ठूलो उत्साह, सद्भाव र हौसला प्राप्त गरेकी छु । यसबाट यो पाँच वर्षमा समग्र भरतपुरको बृहत्तर विकासमा मैले निर्वाह गरेको भूमिकालाई जनसमुदायले अनुमोदन गर्नुभएको अनुभूति भइरहेको छ । घरदैलोका क्रममा म जहाँजहाँ पुगेकी ती त्यहाँ सबै ठाउँमा विकासप्रेमी मेयर भनेर हौसला प्रदान गर्नुभएको छ । यसलाई साथ सहयोग गरी मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो सद्भावलाई मैले विगत पाँच वर्षमा प्रमुखको भूमिकामा रहेर जनचाहनाबमोजिम महानगरको समग्र विकासमा मैले निर्वाह गरेको भूमिकाको उपज हो भन्ने 

महसुस गरेकी छु । 


तपाईं यति धेरै उत्साहित हुनुहुन्छ तर काँग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्रमा उमेदवारीले तपाईंलाई असर गर्छ भन्छन् नि ? 

मलाई त्यस्तो लाग्दैन । उहाँलाई काँग्रेसले कारबाही पनि गरिसकेको बुझेकी छु । हामीले विगतका सबै निर्वाचनलाई हेर्दा बागी विद्रोही वा स्वतन्त्रले पार्ने प्रभाव नगन्य देखिन्छ । यो लोकतान्त्रिक गठबन्धन देशका लागि अहिलेको आवश्यकता हो । यस अर्थमा कुनै पनि काँग्रेसजनले पार्टीको निर्णयविपरीत गएर विद्रोही उम्मेदवारलाई भोट हाल्नुहोला भन्ने म कल्पना गर्न सक्दिन । 


हालै चुनावी सभामा तपाईंका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनामा पर्ने भनी दिनुभएको मन्तव्यलाई लिएर काँग्रेसजनले चित्त दुःखाएका छन् । यसलाई कसरी लिनुभएको छ ?

कुरो त्यस्तो हैन । उहाँले गठबन्धनको आवश्यकता विस्तृत शान्ति सम्झौतादेखि यहाँसम्म आइपुग्दा नेपाली काँग्रेससँग भएको सहमति र सहकार्यका आधारलाई व्याख्या गर्दै र विगतका निर्वाचनमा पनि एकले अर्कालाई मतदान गरिसकेको अभ्यासलाई काँग्रेसले कसरी भुल्न सक्छ ? भन्ने प्रसङ्गमा त्यसो भन्नुभएको हो । उहाँले हामी गठबन्धनले दायाँबायाँ ग¥यौँ भने व्यवस्था विरोधी, संविधान विरोधी, तानाशाही प्रवृत्तिले मलजल पाउँछ भन्नुभएको हो । त्यस्ता प्रवृत्तिलाई परास्त गर्न काँग्रेसले माओवादी केन्द्र र गठबन्धनका अन्य दललाई मतदान गर्ने तथा माओवादी केन्द्रले काँग्रेस र गठबन्धनका अन्य दलका उम्मेदवारलाई मतदान नगर्न कसरी सकिन्छ ? भन्ने प्रसङ्गमा उहाँको कुरा आएको हो । यसलाई केहीले विषय प्रसङ्ग तोडमोड गरी भ्रम सिर्जना गरेका मात्रै हुन् । यसलाई कसैले पनि अन्यथा लिनु जरुरी छैन । 


अघिल्लो पटक प्रमुखमा निर्वाचित हुँदै गर्दा तपाईंले महानगरको विकासका लागि धेरै प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कतिपय पूरा गरिएनन् भन्ने आरोप छ नि ?

यस्तो मैले त सुनेको छैन तर कसैले भन्छ भने त्यो पूर्वाग्रह हो । मैले विगतको निर्वाचनका क्रममा जेजति प्रतिबद्धता व्यक्त गरेकी थिएँ त्योभन्दा धेरै गुणा बढी विकास निर्माणको काम भएका छन् । अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणाधीन छ । पुलचोक गोन्द्राङ छ लेन सडक दु्रत गतिमा निर्माण भइरहेको छ । महानगरीय रिङरोड र लिङ्क रोडको डीपीआर तयार भई ४१ किलोमिटर निर्माण सम्पन्न भएको छ, अरू निर्माण हुँदैछ । आँपटारी केन्द्रीय बसपार्क बाइपास सडक चार लेनमा निर्माण अन्तिम चरणमा छ । हुलाकी सडक निर्माणाधीन छ । रामपुर मेघौली साहायक राजमार्ग बनिरहेको छ । ७८ किलोमिटर सडकमा उज्यालो भरतपुर कार्यक्रम स्मार्ट स्ट्रिट लाइट जडान भएका छन् । सहरका मुख्य सडकमा हाई माक्सलाइट जडान गरिएको छ । मुख्य राजमार्गहरूमा बिजुलीका तारहरूलाई भूमिगत बनाउने काम भइरहेको छ । यो बीचमा ६२२ किलोमिटर भित्री सडक कालोपत्रे भएको छ । नालाहरू बनेका छन् । 

जन सहभागितामा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले महानगरलाई बुझाएसँगै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समेट्ने गरी अगाडि बढेको छ र छिट्टै निर्माण सुरु हुनेछ । सार्वजनिक निजी साझेदारी मोडलमा दुई अर्ब रुपियाँभन्दा बढीको लगानीमा बहुतले व्यावसायिक भवन बन्दैछ । चार अर्ब रुपियाँभन्दा बढीका साना ठूला खानेपानी आयोजना निर्माणाधीन छन् । झन्डै पाँच अर्बको लगानीमा नारायणी नदीमा तटबन्धनको योजना बोलकबोल भई ठेकेदार छनोटको प्रक्रियामा छ । यसले नदी तटीय क्षेत्रका जनताको जिउधनको सुरक्षाको ग्यारेन्टी गरेको छ । यो आयोजना सकिँदै गर्दा भरतपुरले बहुआयामिक लाभ हासिल गर्नेछ । शिक्षा, पर्यटन, कृषि, सुशासन र सामाजिक सुरक्षाका क्षेत्रमा हामीले अत्यन्तै ठूलो काम गरेका छौँ । 


अहिले मतदातालाई भेट्दै गर्दा तपाईं आफू जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

सर्वप्रथम चितवन आफैँमा ७८औँ जिल्ला हो । यहाँको जनसमुदाय सचेत छ । मेरो उम्मेदवारीलले सुन्दर नगरी भरतपुरको विकास र समृद्धिमा केन्द्रीय स्रोतसाधनसँग जोडेर नमुना सहर बनाउने प्रण गरेकी छु । यो जनसमुदायले बुझेको छ । जनता नै निर्णायक शक्ति हो । मेरो जन्मभूमिमा दोस्रो पटक जनसेवा गर्ने अवसर दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । 


तपाईंले जित्नुभयो भने महानगरमा गर्ने विकास योजना के–के छन् त ? 

अघिल्लो कार्यकालमा सञ्चालनमा रहेका योजनालाई पूर्णता दिनु मेरो पहिलो कर्तव्य रहनेछ । महानगरमा इन्टरनेट सर्भिस प्रोभाइडर स्थापना गरी सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ जडान गरी हरेक विद्यार्थीलाई निःशुल्क इन्टरनेट वितरण गर्नेछु । महानगरभित्र विभिन्न रुटमा विद्युतीय बस सञ्चालन गर्ने जसमा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई निःशुल्क र विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । छोरी शैक्षिक बीमा कार्यक्रममार्फत हरेक छोरीलाई कक्षा १ मा भर्ना गर्दादेखि नै बीमा गरी २० वर्ष उमेरसम्म रकम बुझाइनेछ । किसान पेन्सन, घर–घरमा स्वास्थ्य, एक टोल एक उद्यम कार्यक्रम, टोल विकास संस्थाहरूको सशक्तीकरण, कृषि उपजको ब्रान्डिङ, कक्षा १२ सम्म निःशुल्क शिक्षा, नारायणी र राप्ती नदीको तटबन्धन गर्दै यहाँ उकास हुने दुई सय बिघा जग्गामा वृक्षरोपणसहित पर्यटन उद्योगको विकासमा लागिनेछ । रोजगार बैङ्कको स्थापना गरी बेरोजगारलाई रोजगारी दिइनेछ । भूमिहीनलाई पुर्जा, फोहोर व्यवस्थापनमा आधुनिक मोडलद्वारा व्यवस्थापन गर्ने, देशको खेलकुद केन्द्र चितवनलाई बनाउने, आधुनिक ढल निकास योजना अगाडि बढाइनेछ । नारायणी नदीमा सिबिज आयोजनालगायतका कार्यक्रम मेरो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।