• ७ मंसिर २०८१, शुक्रबार

सामाजिक अपेक्षासँग जोडिएको भविष्य

blog

समाज र राजनीतिबीच गहिरो सम्बन्ध हुन्छ । त्यसैले सामाजिक अपेक्षा र राजनीतिक भविष्य एक–अर्काका परिपूरक हुन् । समाजमा कस्तो अपेक्षा जन्मिन्छन्, त्यसमा विद्यमान राजनीतिक अवस्थाको ठूलो प्रभाव रहन्छ । त्यसैगरी राजनीतिक भविष्यको सुनिश्चिततामा सामाजिक अपेक्षाको भूमिकालाई पनि कम आकलन गर्न सकिन्न । समाजमा कस्ता अपेक्षा जन्मिन दिने, कस्ता अपेक्षा समाजका लागि हितकारी छन् तथा कस्ता अपेक्षालाई निरुत्साहित गर्ने चेत राजनीतिमा हुन आवश्यक हुन्छ । अन्यथा दुवैमा अस्वस्थ प्रतिस्पर्धाको दौड यसरी बढ्न सक्छ, जहाँ दीर्घकालीन सामाजिक हितका लागि दूरगामी राजनीतिक रणनीति ओझेलमा पर्न सक्छन् । उदाहरणका लागि चुनावी खर्चका कारण कतिपय दूरगामी सोच बोकेका क्षमतावान् हुँदाहुँदै पनि उम्मेदवार बन्न नसक्ने अवस्थालाई लिन सकिन्छ ।

यही वैशाख ३० को ७५३ वटा स्थानीय तहमा वडा सदस्यदेखि मेयरसम्म गरी ३५ हजार २२१ सिटका लागि निर्वाचन हुँदै छ । जसका लागि समाजमा एक किसिमको चहलपहल बढेको छ । उम्मेदवारदेखि लिएर अन्य सरोकारवालासमेत आवश्यक तयारीमा जुटेका छन् । त्यसै क्रममा उम्मेदवारलाई सहभागी गराइँदै तिनका विविध पक्षलाई बढीभन्दा बढी बुझ्ने उद्देश्यले विभिन्न ठाउँमा बहस र छलफल आयोजना भइरहेको देखिन्छ । जसमा सहभागीले उम्मेदवारका भावी योजना, सामाजिक अपेक्षा र तार्किक क्षमता बुझ्न विभिन्न प्रश्न गर्दै आफ्ना जिज्ञासा मेट्ने प्रयास गरेका भेटिन्छन् ।

प्रश्नकर्ताको सङ्ख्या र प्रश्नका क्षेत्रगत विविधतामा फराकिलोपना रहेको अनुभूति त्यसमा सहभागी तथा आयोजकसमेतले महसुस गरेका छन् । त्यो भनेको एउटा राम्रो सङ्केत हो । समाजका लागि यसले एकातर्फ विषयप्रतिको चेतना र संवेदनशीलता बढेको देखाउँछ भने अर्कोतर्फ सम्बन्धित व्यक्ति र निकायलाई थप जिम्मेवार बनाउन प्रोत्साहित गर्छ । त्यसको साथसाथै यसले जवाफदेहिताको परिधिलाई पनि फराकिलो बनाउँछ । तथापि बिर्सन नहुने पक्ष भनेको प्रश्नमा विविधता र प्रश्नकर्ताको सङ्ख्या बढ्यो तर त्यसको जवाफ वैज्ञानिक र सन्तुलित हुन सकेन । अर्थात् कुनै पनि स्वरूपको दक्षताको कमी भइदियो भने यसले परिस्थितिलाई उल्टो बनाइदिन्छ । यो हरेक क्षेत्र र सन्दर्भसँग मेल खाने विषय हो, चाहे त्यो कुनै कक्षाकोठाभित्रको परिवेश होस् वा कुनै सार्वजनिक स्थल वा मञ्चमा गरिने सरोकारवालासँगको छलफल । चाहे कुनै विद्यार्थीले आफ्नो शिक्षकसँग विषयगत प्रश्न गरेका हुन् वा कुनै सार्वजनिक निकायका नेतृत्व तहसँग सोधिने प्रश्न हुन् सबैमा परिवेशको परिस्थिति र परिणाम लगभग उस्तैउस्तै अपेक्षा गरिएको हुन्छ ।

अहिलेको आसन्न स्थानीय निर्वाचनको परिवेश र यसका विभिन्न पाटोलाई नियाल्ने हो भने जसरी परीक्षा नजिकिँदै जाँदा विद्यार्थीका मनमा प्रश्नको सङ्ख्या ह्वात्तै बढ्छ र असल शिक्षकले त्यसलाई कुशलतापूर्वक समाधान गर्ने प्रयास गर्छन् त्यसैगरी विभिन्न राजनीतिक दलका वा स्वतन्त्र उम्मेदवारसमक्ष सर्वसाधारणबाट विभिन्न जिज्ञासा प्रश्नका रूपमा ल्याउनु स्वाभाविक हो । प्रश्न कस्तो हुन्छ र त्यसलाई कसरी जवाफ दिने भन्ने धेरै हदसम्म सम्बन्धित उम्मेदवारको राजनीतिक लक्ष्य, समाजप्रतिको बुझाइ र दृष्टिकोण, सामाजिक पुँजी अनि पाएको सामाजिकीकरणमा निर्भर हुने गर्छ । हाम्रो सन्दर्भमा हेर्ने हो भने प्रायः तिनका शब्द, शैली र प्रस्तुति अपेक्षाकृत रूपमा सन्तोषजनक भएको पाइँदैन । जसको श्रेय राजनीतिक र दलीय स्कुलिङलाई समेत जान्छ । 

अहिलेको चुनावमय सन्दर्भलाई आधार मानी हेर्ने हो भने प्रायःजसो लामो इतिहास बोकेका राजनीतिकर्मी र दलमा आबद्ध उम्मेदवारसँग गरिने प्रश्न समान प्रकृतिको देखिन्छ । जस्तो कि नातावादलाई किन प्रोत्साहन ? वर्षौं सङ्घर्ष गरेका कार्यकर्ता र समाजका सक्षम व्यक्तिलाई उपेक्षा किन ? एकै पुस्तामा यस्तो आलिसान जीवनशैलीको आधार के ? सरकार वा प्रतिपक्षमा रहँदा समाजका बहुसङ्ख्यक सर्वसाधारण भुइँमान्छेका दैनिकी सहज गर्न गरिएका नीतिनिर्माण र कार्य के–के रहे ? घोषणापत्रमा उल्लिखित कुन विषय वा बुँदा नयाँ हो ? अघिल्लो चुनावताका निर्मित घोषणापत्रमा उल्लिखित विषयवस्तुको अवस्था के रह्यो ? तिनका जवाफ हेर्दा शब्द चयन र प्रस्तुतिका शैलीमा प्रायः दम्भको गन्ध मिसिएको भेटिन्छ । 

समग्रमा दलका वैचारिक अवस्था, राजनीतिक धरातल र सकस एक–अर्कासँग मिल्दोजुल्दो छ । यसको अर्थ विद्यमान राजनीतिक प्रणालीबाट पूर्ण रूपमा निराश हुनुपर्ने अवस्था छ भनेर भन्न खोजिएको होइन । तिनका साझा समस्या भनेको सामाजिक परिवर्तन बुझ्न नचाहनु÷नसक्नु पक्कै हो । बदलिँदो सामाजिक परिवेश अनि त्यसमाथि निर्भर रहने सामाजिक सम्बन्धको संरचना र कार्यशैली अनि उब्जित अपेक्षा बुझ्न चुक्दै जानु नै मुख्य समस्याको जड हो । 

विगतका परिवेशमा आएका परिवर्तनले हरेक सामाजिक सम्बन्धलाई प्रभावित पारेको छ । जस्तो कि एउटा परिवारभित्रका परिवर्तित सम्बन्धका स्वरूप, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, नेता र कार्यकर्ताबीचको सम्बन्ध, उत्पादक र उपभोगकर्ताबीचको सम्बन्ध, परिवर्तित कार्यविभाजन, कार्यशैली मापन विधि, कर्तव्य र जिम्मेवारीको बदलिँदो परिभाषा अनि अपेक्षा । ती सबै जसरी तीव्र गतिमा परिवर्तित हुँदै छन् त्यसैगरी दलभित्रका दलीय संरचना र पदीय दायित्व अनि नेतृत्व तह र कार्यकर्तासँगको सम्बन्धका संरचना, संवाद शैली र अपेक्षा पनि फेरिएको स्पष्ट छ । परम्परागत सोच र कार्यशैलीमा समयानुकूल आवश्यक परिमार्जन गर्न नसक्दा प्रायःजसो दलभित्रको सम्बन्धको संरचना दिनानुदिन जीर्ण हुँदै गएको अनुभूति हुन्छ । बागी उम्मेदवारी दिनु, विभिन्न माध्यममार्फत अनेक स्वरूपले पार्टीगत निर्देशनप्रति असन्तुष्टि व्यक्त गर्नु, त्यसका केही उदाहरण हुन् । त्यसका साथै पार्टी कार्यकर्ता र नेतृत्व तहका समेतले अवसरका लागि पार्टी बदल्दै हिँड्नु भनेको दल र कार्यकर्ताबीचको बदलिँदो सम्बन्धको स्वरूप र त्यसले निर्माण गरेको बदलिँदो अपेक्षा होइन भन्न सकिन्न ।

दलसँगको आबद्धताको आडमा समाजप्रति झल्काउने कुनै पनि किसिमको असहिष्णुता र असंवेदनशीलता छोप्ने वा संरक्षण गर्ने प्रवृत्तिलाई सचेत समूहले रुचाउन छाडेको देखिन्छ । प्रायःजसो नेतृत्व तहका सोच, शैली र प्रस्तुतिमा खासै परिवर्तन आउन नसक्दा बुझाइको तहमा असमानता बढ्दो छ । शब्दले आश्वस्त पार्ने प्रवृत्तिको निरन्तरताले मात्रै अब उप्रान्त राजनीतिक भविष्य सुनिश्चित गर्न सक्दैन । समाजलाई प्रोत्साहित पार्दै सशक्तीकरण गर्ने किसिमका उदाहरण निर्माण गर्न नसक्ने प्रकृतिका कार्य र व्यवहारले तिनीहरूबीचको सम्बन्धलाई क्षयीकरणतर्फ लग्दै गरेको वर्तमान अवस्थामा धरातलीय आकाङ्क्षासँग जोडिनुको विकल्प कुनै दलसँग छैन । अहिलेको परिप्रेक्ष्यमा विद्यमान चुनावी तामझाम र सार्वजनिक हित बोकेको धरातलीय आकाङ्क्षाबीच कस्तो सम्बन्ध छ भन्ने विषय सहजै बुझ्न सकिन्छ ।

राजनीतिक दलहरूले केही पनि गरेनन् भन्नचाहिँ मिल्दैन । विगतका तिनका सङ्घर्ष र निष्ठाकै समष्टिगत रूप हो आजको राजनीतिक उपलब्धि । दुर्भाग्य लोभ, लाभ र विलापभन्दा माथि आफू र आफू आबद्ध दल उठाउन नसक्दा आर्थिक सम्पन्नता भयावह देखिए पनि सामाजिक सम्पन्नतालाई जोगाउन सकेनन् । सामाजिक न्याय, समानता, विधिको शासनको अनुभूति गर्न सकिने पर्याप्त उदाहरण समाजलाई दिन नसक्दा मुलुक अराजकताको सिकार बन्न विवश भयो । यसमा आस र त्रासले लतपतिएका नागरिक समाज, बुद्धिजीवी, मिडिया विज्ञलगायत ज्ञान उत्पादन क्षेत्रका पार्टी कार्यकर्तासमेतलाई दोषको भागीदार बनाउनैपर्छ किनकि मुलुकलाई प्रयोगशाला बनाइनुमा तिनको भूमिका पनि कम छैन ।

विकल्पमा भेटिने भरपर्दो उपाय भनेको समाजको धरातलीय आकाङ्क्षा समेट्दै समाजलाई सशक्तीकरण गर्दै वस्तुदेखि लिएर ज्ञानसम्मको उत्पादनमा आत्मनिर्भरतातर्फ डो¥याउने हो । त्यसको साथै साधारण जीवनशैलीले निर्मित ओजपूर्ण व्यक्तित्व निर्माण उत्तिकै महत्त्वपूर्ण हुन्छ, जसका लागि सफल नेतृत्व क्षमता अपरिहार्य छ ।



Author

वीणा झा