सिराज खान
नेपालगन्ज, भदौ ५ गते। जाजरकोटको कुसे गाउँपालिका–७ धनराशि गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कविहीन हुनुभएको छ। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुनुहुन्छ।
उहाँ गत साउन १४ गते घरबाट नेपालगन्ज आउनु भएको थियो। साउन २५ गते नेपालगन्ज बसपार्क गेटनजिक रहेको मिना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगन्ज आउनुभएका शाहीका ज्वाइँ गोपी सिंहले जानकारी दिनुभयो।
सिंहले भन्नुभयो, ‘२५ गते दिनभर कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन।’
शाही नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि निवेदन दिएको जनाउँदै शाहीका पिता हंसबहादुर शाहीले नेपालगन्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको टेलिफोनमा बताउनुभयो।
उहाँले थप्नुभयो, ‘नेपालगन्ज पुगेर जताततै खोजियो तर, छोरालाई भेट्टाउन सकिएन। फोन पनि बन्द छ। खाना खाएको १६ हजार नौ सय रुपियाँ पुगेपछि पछि तिरौँला भनेर फर्कियौँ।’
शाही बसेको नेपालगन्ज बसपार्कस्थित होटल मिना दैलेखीका सञ्चालक मिना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताउनुभयो।
खोजीका लागि परेको निवेदन अनुसार खोज गरिए पनि शाहीको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।