• ९ मंसिर २०८१, आइतबार

राडिज्यूलाको सिँचाइ नहर सञ्चालन

blog

मर्मतपछि सञ्चालनमा आएको नहरको मुहान । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ ५ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको केन्द्र राडिज्यूलामा अबरुद्ध रहेको घट्टाखेत राडिज्यूला सिँचाइ नहर सञ्चालनमा आएको छ । 

करिब डेढ महिनाअघि खोलामा आएको बाढी र पहिरोले नहरको मुहान बगाएपछि अवरुद्ध भएको नहर किसान आफैँले मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । स्थानीय युवा ललित चन्दका अनुसार बाढीले मुहानको भाग बगाएको थियो । पहिरोको कारण नहरको विभिन्न भागमा क्षति भएको थियो । 

नहर अवरुद्ध हुँदा वडा –९ को माथिल्लो राडि, तल्लो राडि र बगरका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको थिएन । नहर सञ्चालन नभएपछि दिनहुँ विभिन्न स्थानमा खस्ने पहिरोले नहर पुरिने जोखिम बढेको थियो । डेढ महिनासम्म पनि कहिँकतैबाट नहर मर्मत तथा सञ्चालनका लागि वास्ता नभएपछि किसानहरु आफैले नहर मर्मत गरेर सञ्चालनमा ल्याएको चन्दले जानकारी दिनुभयो ।

स्थानीय जानकीदेवी उपाध्यायको नेतृत्वमा ललित चन्द, कालीबहादुर खत्री, कपिल शर्मा, कर्णबहादुर केसी, हरि बटाला, दिपक खत्री, मुक्तिकुमार शाही, बिरेन्द्र बटाला लगायतले श्रमदन गरेर नहर मर्मत गर्नुभएको हो । 

आठबिसकोट नगरपालिका –९ का वडा सदस्य नवराज मल्लले सिँचाइ नहरको मुहानमा पानीको रोकथामका लागि स्थानीय ललित चन्द र दिपक खत्रीले तीन थान त्रिपाल उपलब्ध गराउनुभएको र आठबिसकोट नगरपालिकाले जेसिबी उपलब्ध गराएको बताउनुभयो । सिँचाइ नहर सञ्चालनका लागि किसानहरु आफै खटिएर उदाहरणीय काम गरेको मल्लको भनाइ छ ।