• १६ भदौ २०८१, आइतबार

खुल्यो नुइला नाका

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, भदौ ५ गते  । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारको नुइला नाका पाँच वर्षपछि खुला भएको छ । यो नाका उत्तरी गोरखाको मुख्य व्यापारिक स्थल हो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले चीनले एकतर्फी रूपमा एक महिनाका लागि मङ्गलबारबाट नाका खुला गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नाका खुलेपछि स्थानीयवासी खुसी भएका छन् । 

छेकाम्पारका स्थानीय दैनिक उपभोग्य सामान नजिकै रहेको तिब्बती नाका खुलेपछि वर्ष दिनलाई पुग्ने गरी व्यवस्थापन गर्ने तयारीमा लागेको अध्यक्ष लामाले बताउनुभयो । यस नाकाबाट उत्तरी गोरखाका बासिन्दाले आफूलाई चाहिने सरसामान ल्याउने गरेका थिए । नाका खुल्दा जनजीवन सहज हुने स्थानीय बताउँछन् । 

स्थानीयहरू सामान किन्न तिब्बती बजार जानका लागि नागरिकता र सीमा पार पास लिएर तिब्बती बजारको स्याकसम्म पुग्न सहज हुने भएपछि खुसी भएका हुन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार मान्छे र घोडाका लागि मात्र नाका खुला गरिएको छ । उहाँले भन्नुभयो, “छेकेम्पारका याक र चौँरीका लागि भने खुला नभएकाले केही समयपछि खुला गराउन पहल भइरहेको छ ।” उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारमा रहेको नुइला नाका नेपाल र चीनबिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले नाका खोल्न पटक पटक चीन सरकारसँग आग्रह गर्दै आएको थियो । 

गत महिनाको जेठ महिनामा छेकेम्पारका जनप्रतिनिधि र तिब्बती जनप्रतिनिधिबिच असार १५ गतेबाट नाका खुलाउने सहमति भए पनि प्राविधिक कारणले भदौ ४ बाट खुला भएको हो । कोभिड–१९ महामारी फैलिएपछि २०७६ पुस महिनाबाट चिनियाँ पक्षले चुमनुब्री गाउँपालिका –७, नुइला नाका, चुमनुब्री गाउँपालिका–१ को रुइला नाका बन्द गरेको थियो । नुइला नाका मङ्गलबार खुला भए पनि अर्को नाका चुमनुब्री गाउँपालिका–१ रुइला नाका भने बुधबार खुला गर्ने जानकारी आएको चुमनुब्री गाउँपालिकाले जनाएको छ ।