रमेश विश्वकर्मा
गुल्मी, भदौ ४ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीले स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकललाई कडाइ गरेको छ । स्थानीयको जनगुनासो आएसँगै जिल्ला प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको विभिन्न स्थानबाट मोडिफाइड गरी चलाइएका १५२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो । गत असारदेखि प्रहरी निरीक्षक रामकुमार केसीको नेतृत्वमा विशेष अभियान नै सञ्चालन गरेर ठुलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीलाई नियन्त्रण गरिएको छ ।
स्वरूप परिवर्तन (मोडिफाइड) गरी होहल्ला मच्चाई ध्वनि प्रदूषण गर्ने, साईलेन्सर पाइपबाट आगो समेत निकाल्ने गरी स्वर बिगारेका, मापदण्ड विपरीत सानो अक्षरमा लेखिएको नम्बर प्लेट राखिएका, रङ्गीचङ्गी स्टिकर, ब्लुबुकमा उल्लेख गरेभन्दा फरक रङ्ग बनाई सवारी चलाउने, सिट हाइट बढाएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा ल्याइएका सबै मोटरसाइकललाई वास्तविक स्वरूपमा ल्याउन लगाइ सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ । सवारी नियम उल्लङ्घन गर्ने कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा चेकजाँचमा कडाइ गरिएको छ । सवारी चेकजाँचको क्रममा ब्लुबुक नवीकरणको म्याद नाघेका विभिन्न सवारी साधनहरूलाई नियन्त्रणमा लिई नवीकरणका लागि कानुनी दायरामा ल्याइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलले बताउनुभयो ।
त्यस्तै, ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रोत्साहित गर्न स्थानीय विद्यालयहरू, नेपाल स्काउटसँग समन्वय गरी सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतनामूलक कार्यक्रम गर्नुका साथै ट्राफिक प्रहरीसँगको संयुक्त सवारी चेकजाँच कार्यलाई तीव्रता दिएको प्रहरी केसीले बताउनुभयो । पछिल्लो समय स्वरूप परिवर्तन र तीव्र गतिमा चलाइने मोटरसाइकलको कडाइसँगै अन्य सवारी चेकजाँचलाई तीव्रता दिएको हुँदा मापसे गरी सवारीसाधन चलाउनेहरूमा कमी आएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।