• १२ असार २०८२, बिहिबार

सेवा विस्तार गर्दै प्रदेश अस्पताल दमौली

blog

प्रदेश अस्पताल दमौलीको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार १२ गते ।
तनहुँको सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया, हाँडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा विस्तार गरेको हो ।

शल्यक्रियामार्फत प्रसूति सेवा चार महिनापछि पुनः सञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालले जनाएको छ । अधिकांश छात्रवृत्तिका करार विशेषज्ञ चिकित्सको व्यवस्थापन गरी सेवा विस्तार गरिएको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो । सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०/८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको बरालको भनाइ छ ।

डा. बरालका अनुसार पेट, छाती तथा मुटुरोग विशेषज्ञ एक जना, हाँडजोर्नी तथा नसा रोग विशेषज्ञ दुई जना, स्त्री तथा प्रसुति रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ चार जना, रेडियो लोजिष्ट एक जनाले मङ्गलबार र बिहीबार गरी हप्ताको दुई दिन, एनेस्थेसिया हप्ताको एक दिन बिहीबार सुविधा दिने गरिएको छ । यसैगरी, फिजियो थेरापी, इन्डोसकोपी सेवा थप भएको हो ।  

शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमा हर्निया, हाइड्रोसिलको सर्जरी सेवा सञ्चालन गरिएको छ । त्यस्तै, अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिसकेको छ । अस्पतालका प्रसूति विशेषज्ञ डा. कुमार विष्टको समूहले एकजना महिलाको पाठेघर फाल्ने शल्यक्रिया सेवा सञ्चालन गरिसक्नुभएको छ । प्रदेश अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा यस आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।” पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५४ शय्याबाट सेवा दिइरहेको छ । हालै मात्रै गण्डकी प्रदेश सरकारले ५० शय्या बनाउने निर्णय काम अघि बढिरहेको छ । विसं २०३४ मा स्वास्थ्य चौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएका यो अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ ।

अस्पतालमा फोहोरपानी, फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधिकक्ष लगायत सेवा विस्तार भइसकेको छ । साथै दुईको शव राख्ने क्षमता भएकोमा तीन वटा थप भई पाँच वटा बनाईएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा प्रदान गर्दै आइरहेको छ ।